PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रतिनिधिसभाको आजको बैठकका दृश्यहरु : एमालेको नाराबाजी, आक्रोशित सभामुख र सांसद-मर्यादापालकबीच घम्साघम्सी

प्रतिनिधिसभाको आजको बैठकका दृश्यहरु : एमालेको नाराबाजी, आक्रोशित सभामुख र सांसद-मर्यादापालकबीच घम्साघम्सी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बुधवार संघीय संसद्को दुवै सभाको बैठक बस्यो। राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि डाकिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको बैठक आह्वान गरेकी थिइन्।

नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक पटक-पटक अवरुद्ध गर्‍यो। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुलाई कारबाही गरेको विषयमा सभामुख अग्नि सापकोटाले सूचना जारी नगरेको भन्दै बैठक अवरोध गरेको हो।

सभामुख सापकोटाले भने कानुनी प्रावधान अनुसार नै निर्णय गरेको जवाफ दिए। उनले हाल यो विषय अदालतमा विचाराधिन रहेको भन्दै सदनमा बहस हुन नसक्ने रुलिङ गरे। सभामुखको उत्तरसँगै एमाले सांसदहरुले रोस्टम घेराउ गरेर बैठक अवरुद्ध गरे।

एमाले सांसदहरुले रोस्टम घेराउ गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने आफ्नो स्थानमै बसिरहेको देखिएका थिए। उनी प्रधानमन्त्री शेरबहादुर देउवा नजिकै बसेका थिए। सांसद्मा नाराबाजी चलिरहँदा ओली र देउवाबीच केही संवाद भएको पनि देखिएको थियो।

एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसद्मा संयमित भएर प्रस्तुत हुन आग्रह गरे। सापकोटाको आग्रह नमानेर एमालेले विरोध जारी राखेपछि सभामुख आक्रोशित बने। सभामुखले आक्रोशित हुँदै एमाले सांसदहरुलाई नियम र मर्यादा पालना गर्न चेतावनी दिएका थिए।

एमालेले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर उनी नेकपा माओवादी केन्द्रको कार्यकर्ता मात्रै भएको आरोप लगायो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई संसद् चलाउनै मन नभएको भन्दै उनले सभामुख प्रचण्डको कार्यकर्ता भएको आरोप लगाए।

बैठकमा नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटलाई बैठक स्थगित गरेका थिए।

त्यसपछि बसेको दोस्रो बैठकमा पनि एमाले सांसदले नाराबाजी गरे। नाराबाजीबीच सभामुखले एमालेको माग संसद्मा दर्ज भइरहेको भन्दै बैठक सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

पहिलो बैठकमा जंगिएका सभामुख दोस्रो बैठकमा नम्र रुपमा प्रस्तुत भए। उनले पटकपटक एमाले सांसदलाई बैठक सञ्चालन गर्न दिन अनुरोध गरे।

‘मैले संविधान नियम कानुन बर्खिलाप केही गरेको छैन। कानुन बमोजिम गरेको हो। तपाईहरुका माग ध्यानाकर्षण भयो। सदन सञ्चालन गर्न सहयोग गर्नुहोला,’ सभामुखले भने।

यद्यपि, एमालेले बैठक अवरुद्ध गरिरहेपछि सभामुखले फेरि १५ मिनेटका लागि भन्दै संसद बैठक स्थगित गरे।

तेस्रो बैठकमा भने एमालेका सांसदहरुको अवरोधबीच राजनीतिक दल सम्बन्धी ‘दोस्रो संशोधन’ अध्यादेश गृहमन्त्री बालकृष्ण खाणले पेश गरे।

तेस्रो बैठकमा खाणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबीच घम्साघम्सी भएको थियो। खाणले अध्यादेश पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए।

अध्यादेश पेश भएपछि सभामुख सापकोटाले भदौ २५ गतेसम्म बैठक स्थगित गरिएको रुलिङ गरे।

सरकारले यसअघि साउन ३२ गते दुवै सदनको बैठकको अन्त्य गरेको थियो। यो बीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell