PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

य:सिंको क्षमा पूजा र गुरुजुको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

य:सिंको क्षमा पूजा र गुरुजुको पल्टनको सलामी : यस्तो देखियो इन्द्रजात्राका लागि वृक्षकर्तन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँया (इन्द्रजात्रा) मा य:सिं ठड्याउन भक्तपुरको नालामा रहेको यसिंगुँमा सल्लाको रुखमा काट्न सुरु भएको छ। आज साँझ ७ बजेर २७ मिनेटको शुभसाइतमा वृक्षकर्तन गरिएक हो। स्वस्ती पाठ गर्दै बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा बन्चरोले प्रहार गरी रुखमा चिह्न छाडिएको हो।

य:सिंका लागि छनौट गरिएको रुखमा हनुमानढोकामा कार्यरत सहायक पण्डितले क्षमा पूजा गरेका थिए। यस्तै, काठमाडौंबाट गएको गुरुजुको पल्टनले य:सिलाई सलामी अर्पण गरेको थियो।

य:सिं ल्याउन आज बिहान मानन्धर समुदाय वन यात्रामा निस्किएका थिए। बिहान हनुमानढोकामा पूजा गरी मानन्धर समुदायहरु गुरुजुको पल्टन सहित नाला पुगेका हुन्। त्यहाँ पुगेर समयबजी चढाएर य:सिंका लागि रुख काट्न सुरु भएको हो।  

य:सिंका लागि काठमा प्रहार गरेर काठमाडौंबाट भक्तपुर पुगेको टोली राति नै फर्किएको छ। आज बन्चरोले प्रहार गरिएको रुख भोलिबाट काट्न सुरु हुन्छ।

य:सिंलाई नालाबाट तानेर भदौ २९ गते नगर प्रवेश गराइनेछ। असोज २ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ।

पहिला बोकालाई अय्ला खुवाएर छोडेर जुन रुखमा छुन्थ्यो त्यही रुखलाई य:सिंका रुपमा काटेर ल्याउने गरेको कथन थियो। तर, अहिले भने त्यस्तो हुँदैन। अहिले भने मानन्धर समुदायबाट अगुवाहरु यसिंगुँ पुगेर पूजा गरेर वृक्षकर्तन गर्ने गर्छन्। अहिले इन्द्रजात्रा शुरु हुने दिन हनुमानढोकामा गाडिने य:सिंको लागि रुख छनौट गर्न केन्द्रीय मानन्धर संघका सदस्यहरु शिवरात्रीपछि नालास्थित यसिंगुँमा जाने गर्छन्। पहिला राजपुरोहितसँग गएर वनकालीको पूजापश्चात रुख छनौट गरिन्थ्यो। हाल भने गुरुजुको पल्टनका पुजारीसँग गई रुख छनौट गर्ने गरिन्छ। रुख छान्न जाने क्रममा होम गरी पूजा गर्न पहिला वर्ष ठड्याइएको य:सिंको काठ प्रयोग गरिन्छ।

यो वर्ष असोज ३ गते इन्द्रजात्रा परेको छ। सो दिन 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।

हनुमानढोकामा कसले सुरु गर्‍यो य:सिं ठड्याउन?

त्रिभुवन विश्वविद्यालयका इतिहासका पूर्वप्राध्यापक डा त्रिरत्न मानन्धरका अनुसार नेपालमण्डलमा मल्लकालदेखि नै य:सिं ठड्याउने परम्परा रहेको थियो। उनी विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामासमेत काठ ठड्याउने गरिएको बताउँछन्।

काठमाडौंमा यँया:मा पनि य:सिं ठड्याउन मल्लकालमा नै सुरु भएको थियो। तर, त्यससमय अहिलेको जसरी तामझाम गरेर य:सिं ठड्याउने नगरिएको उनले बताए।

'मल्लकालमा सामान्य रुपमा य:सिं ठड्याउने गरिन्थ्यो। अहिलेको जस्तो तामझाम हुँदैन थियो। पछि प्रताप सिंह शाहको समयमा भव्यताका साथ हनुमानढोकामा य:सिं ठड्याउन सुरु भएको हो' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell