काठमाडौं : मैतीदेवीको सेतोपुल नजिकै रहेको मात्रिका आइ सेन्टरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको खुलेको छ।
आज बिहान शंकास्पद बस्तु भेटिएको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। तर, घटनास्थलमा पुगेर हेर्दा सो बस्तु अत्याउनका लागि मात्र राखिएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।
'कुनै विस्फोटक पदार्थ होइन। नक्कली हुक्स जस्तो बस्तु रहेछ,' एसएसपी सिंहले भने।
सेतु पुलबाट करीब १ सय मिटर दुरीमा रहेको एक भवनमा संकास्पद वस्तु फेला परेको थियो। मात्रिका आइ सेन्टर रहेको भवनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको थियो। भवनमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले सो वस्तु राखेर निस्किएको देखिएको छ। प्रहरीले ती दुवैको मोबाइल नम्बर पत्ता लगाइसकेको छ। उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ। प्रहरी स्रोतका अनुसार उनीहरुले अस्पतालको संचालकलाई तर्साउन बम जस्तो बनाएर राखेको हुनसक्ने देखिएको छ।
अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)की उपाध्यक्ष फतिमा सुमर काठमाडौं आएकाले यहाँको सुरक्षा व्यवस्था बिहानै देखि कडा पारिएको छ। यस्तोमा प्रहरीले शतर्कता बढी नै अपनाइरहेको छ।
सुमारसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि काठमाडौं ओर्लिएका छन्। एमसीसी विरुद्ध केही दिनयता लगातार प्रदर्शन भइरहेको छ भने विभिन्न राजनीति दल र संगठन नै एमसीसीका प्रतिनिधिविरुद्ध कालो झन्डा देखाउने कार्यमा सक्रिय छन्। त्यसैले पनि राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको हो।
