काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी परियोजना मिलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी)का प्रतिनिधिको भेटवार्ता भएको छ।
परियोजनाका बारेमा ओली र एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतसँग संवाद भएको ओलीको सचिवालयले जनाएको छ। बिहीवार नेपाल आएको एमसीसीको टोलीले सबैभन्दा पहिला एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको हो।
आफ्नो नेतृत्वको सरकारले परियोजना अघि बढाउन गरेको प्रयासबारे एमसीसीका प्रतिनिधिलाई ओलीले जानकारी गराएको एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए। सरकारमा हुँदा आफूले एमसीसी अघि बढाउन प्रयास गरेको भए पनि विभिन्न शक्ति केन्द्रहरुले अघि बढाउन नदिएको ओलीलाई उद्धृत गर्दै भट्टराईले बताए। एमसीसीका प्रतिनिधिहरुले अमेरिकाले तत्काल परियोजनालाई अघि बढाउनुपर्ने इच्छा देखाएको भेटमा बताएका थिए।
'एमसीसी अगाडि बढाउनुपर्यो भनेर अमेरिकाको इच्छा छ भनेर उहाँहरुले भन्नुभयो। हामी सरकारमा हुँदा अगाडि बढाउन अनेक प्रयास गरेका हौँं तर निश्चित शक्तिहरुले अगाडि बढाउन चाहेनन्,' भट्टराईले ओलीलाई उद्धृत गर्दै भने।
एमसीसी प्रतिनिधिलाई ओलीले आफू प्रमुख प्रतिपक्षी दल भए पनि सरकारले उक्त परियोजनलाई अघि बढाउनेबारे कुनै छलफल नगरेको बताएका थिए। सरकारले संसदमा प्रतिपक्षको आवश्यकता महसुस नभएकाले आफूहरुसँग छलफल नगरेको भेटमा बताइएको भट्टराईले जानकारी दिए। उनले भने, 'अब अहिले हामी अपोजिसनमा छौँ। सरकारले हामीसँग कुराकानी पनि गरेको छैन।'
एमसीसी परियोजनाबारे एमालेको धारण अहिले नै सार्वजनिक गर्नु हतारो हुने ओलीले बताएका थिए। उनले सरकारले संसदमा ल्याएपछि आफ्नो धारणा सार्वजनिक गर्ने एमसीसीका प्रतिनिधिलाई बताए।
'सरकारले नल्याइकन हाम्रो पोजिशन के हो भन्न कहाँ मिल्यो। भन्न पनि हतारो हुन्छ। सायद सरकारलाई अपोजिसन किन चाहियो भनेर होला हामीसँग कन्सल्ट पनि गरेको छैन। उसले हामीलाई आवश्यक पनि ठानेको छैन। त्यसैले हामीले पोजिशन बनाएको छैन् भनेर भन्यौँ,' उनले भने।
एमाले नेताहरुका अनुसार एमसीसी टोलीले एमालेको धारणा अध्यक्ष ओलीलाई भेटेर बुझ्न खोजेको थियो। एमालेले पछिल्लो दिनमा एमसीसीको विरोध गरेकाले सबैभन्दा पहिलो भेट एमसीसीको टोलीले ओलीलाई नै गरेको थियो। एमालेको बुधवारको संसदीय दलको बैठकले एमसीसी राष्ट्र हितमा नभएको निचोड निकालेको भए पनि अहिल्यै धारणा सार्वजनिक नगर्ने निर्णय गरेको गरेको थियो।
सरकारमा हुँदा एमालेका केही नेताहरुले एमसीसी जस्ताको तस्तै अघि बढाउन नहुने धारणा राखेको भए पनि ओलीले संसदमा अघि बढाउन चाहेको थिए। हाल सत्ता गठबन्धनमा पनि एमसीसीबारे एक मत छैन् भने एमाले भित्रकै केही नेताले एमसीसीको समर्थन गरेका छन् भने केहीले विरोध गरिरहेका छन्।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले एमसीसीबारे सुझाव दिन कार्यदल गठन गरेको थियो। वरिष्ठ नेता झलनाथ खनालको संयोजनमा गठन भएको कार्यदलले संशोधन गरेर मात्रै एमसीसी अघि बढाउन सुझाव दिएको थियो। तत्कालीन नेकपामा ओलीले त्यसबेला उक्त सुझावलाई कार्यान्वयन गरेनन् भने एमसीसी अघि बढाउनुपर्ने पक्षको नेतृत्व गरेका थिए। नेकपा विभाजितको अवस्थामा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले परियोजना अघि बढाउन नसकिने धारणलाई अघि सारेको थियो। हाल पनि नेकपा माओवादी केन्द्रले संशोधनबिना एमसीसी अघि बढाउन नसकिने बताएको छ।
