काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेकले सदनका क्रियाकलापलाई प्रभावकारी बनाउने बारेमा छलफल गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।
यस्तै, गठबन्धनका नेताहरुले चाँडै मन्त्रिपरिषद बिस्तार गर्नेबारेमा सहमति गरे पनि कहिलेसम्म बिस्तार गर्ने भन्नेबारेमा भने छलफल टुंगोमा पुग्न सकेन।
'सामान्य छलफलभ भयो। तर यही भन्ने टुंगो लागेन,' गुरुङले भने।
प्रधानमन्त्री शेरबाहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीकाबारेमा पनि छलफल भएको थियो।
बैठकमा देउवा सहित गठबन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए।
बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका थिए। एमसीसी, मन्त्रिपरिषद बिस्तार लगायतमा विषयमा गठबन्धनमा खटपट भइरहेका बेला शीर्ष नेताहरुको संवादलाई महत्वका साथ हेरिएको छ।
गठबन्धन भित्रै एमसीसीका बारेमा बेग्ला-बेग्लै धारणा सार्वजनिक भइरहेको छ। नेपाली कांग्रेसले एमसीसीलाई अगाडी बढाउने अडान राखिरहेका बेला प्रचण्ड लगयताका नेताहरुले त्यसको विपक्षमा अडान लिएका छन्। यस्तै, भदौ २२ गते पछि सरकार बिस्तार हुने बताइएकोमा ढिलाइ भएपछि पनि गठबन्धनका नेताहरुबिच खटपट सुरु भएको थियो।
