PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

डडेल्धुरामा कांग्रेसको विवाद थप पेचिलो बन्दै : पेलेरै वडा अधिवेशन गर्ने देउवा पक्षको तयारी, उनी इतर पक्ष बिथोल्ने होडमा



एम बम

डडेल्धुरामा कांग्रेसको विवाद थप पेचिलो बन्दै : पेलेरै वडा अधिवेशन गर्ने देउवा पक्षको तयारी, उनी इतर पक्ष बिथोल्ने होडमा

कैलाली : क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ-आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।

जिल्ला सभापति कर्ण मल्ल देउवाका अघि विगत दुई कार्यकालदेखि जिल्लामा चुनौतीका रूपमा उभिएका छन्। उनी देउवाले इच्छाएका पात्र नभए पनि जिल्ला सभापतिमा २ कार्यकाल हाबी बनेका थिए।

त्यसैलाई शिथिल बनाउने उद्देश्यले देउवा पक्षले क्रियाशील सदस्यतामा आफू अनुकूलका पात्रलाई अघि बढाएर अन्यलाई हटाउन खोज्दा विवाद शुरु भएको हो।

जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले जिल्ला सभापति कर्ण मल्लकी आमासमेत गरी ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति कर्ण मल्लले बताएका छन्।

यसै किचलोलाई लिएर डडेल्धुरामा जिल्ला सभापति मल्ल पक्षीय कार्यकर्ताहरू आक्रोशित भएका छन्। मंगलवार पार्टी कार्यालयमा झडप समेत भएको थियो। जिल्लामा वडा अधिवेशनका लागि देउवा पक्षले बल प्रयोग गर्न थालेपछि स्थिति थप पेचिलो बन्ने देखिएको छ।

‘वडादेखि जिल्ला नेतृत्वसम्म कब्जा गर्ने मनोवृत्तिबाट क्रियाशील सदस्यताका विषयमा केन्द्रले काम अघि बढाएको छ’, सभापति मल्लले भने, ‘झन्डै ५ सय तहगत रूपमा निर्णय भएर गएका क्रियाशील सदस्यहरू काटिएका र ३ सय थपिएका छन्। होटेलमा बसेर अज्ञात स्थलबाट निर्वाचनको मिति तोक्ने कार्य भएको छ। यो अनधिकृत कामलाई जिल्ला कमिटीले स्वीकार्ने अवस्था छैन। सदस्यताको विवाद टुङ्गोमा नपुगेसम्म हामी यो निर्वाचनमा सहभागी हुने अवस्था छैन।’

उनले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटर प्याड र आधिकारी छाप समेत दुरुपयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। २२ गते केन्द्रबाट खटिआएको निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार वडा अधिवेशन नहुने समेत उनले यस अघि नै विज्ञप्ति निकालेर स्थगित गरिएको दाबी गरेका थिए।

तर, अर्को पक्षले २५ गते वडा अधिवेशन सम्पन्न गर्ने भनेर कार्यतालिका प्रकाशन गरी काम गरिरहेको छ। सभापति मल्ललाई अधिवेशन रोक्ने अधिकार नभएको निर्वाचन समितिले जनाएको छ। देउवा पक्षका जिल्ला सभापतिका उम्मेद्वार भीमबहादुर साउदले समेत तोकिएकै मितिमा अधिवेशन हुने बताएका छन्।

‘अधिवेशन गराउने निर्वाचन समितिको अधिकार हो। त्यसैले समितिले जे निर्णय गरेको छ सोही अनुसार हामी अघि बढेका छौँ,’ उनले भने।

यसरी दुवै पक्षले आ-आफ्नै अडान राख्न थालेपछि डडेल्धुरामा कांग्रेसको वडा अधिवेशन २५ गते नै सम्पन्न हुने अवस्था कमजोर बन्दै गएको छ। जिल्ला सभापति मल्लले आज सदस्यताको विवाद निरूपण तथा पुनरावलोकनका विषयमा पार्टी सभापति देउवालाई पत्र पठाइएको समेत बताएका छन्।

कैलाली र बाजुरामा पनि विवाद

सुदूरपश्चिमका अन्य दुई जिल्ला कैलाली र बाजुरामा पनि क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित छ। कैलाली र बाजुरामा नामावली नै प्रकाशन गरिएको छैन। कैलालीका तीन वटा निर्वाचन क्षेत्र १, २ र ४ मा क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनेको छ।

तहगत रूपमा वडा, गाउँ तथा नगर हुँदै क्षेत्रीय समिति र जिल्ला कार्यसमितिले सिफारिस गरेका नामावलीमा समेत विवाद रहेका कारण नामावली प्रकाशन हुन नसकेको नेपाली कांग्रेस कैलालीका उप-सभापति प्रकाश बमले बताए। उता बाजुरामा पनि साढे ४ सय सदस्यताको विवाद रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell