PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाल भर्सेस बंगलादेश : ‘टर्फ’मा अभ्यास गरेर ‘ग्रास’मा खेल्न कठिनाइ?



पहिलोपोस्ट

नेपाल भर्सेस बंगलादेश : ‘टर्फ’मा अभ्यास गरेर ‘ग्रास’मा खेल्न कठिनाइ?

काठमाडौं : नेपाली महिला फुटबल टोलीले आज दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि जित निकाल्यो। दशरथ रंगशालामा पहिलो पटक खेलेको नेपाली टोलीले बंगलादेशमाथि जित निकाल्दा पहिलो हाफमा नेपाल हावी भएको थियो भने दोस्रो हाफमा बंगलादेश हावी भएको थियो।

खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले प्रतिस्पर्धात्मक खेल भएको र आफू खेलबाट सन्तुष्ट भएको बताए। उनले आर्टिफिसियल टर्फको मैदानमा खेलेर घाँसको मैदानमा खेल्न कठिनाइ भएको पटक-पटक पटक दोहोर्‍याए।

‘खेल 'टफ' थियो। हामीले धेरै संघर्ष पनि गर्‍यौं। मैदान 'हेब्बी' थियो,’ प्रशिक्षक फिलिप्सले भने।

त्यस्तै, आजको खेलमा डेब्यू गरेकी प्रीति राईले आजको खेल राम्रै भएको भन्दै ‘ब्युल्ड अप’ र कम्बिनेसनमा केही समस्या देखिएकाले त्यसलाई सुधार गर्ने बताइन्।

डेब्यू खेलमै गोल गरेकी राईले राष्ट्रिय टिममा खेल्न पाउँदा खुशी भएको बताइन्। ‘म अझ बेटर हुने प्रयास गरिरहेको छ,’ उनले भनिन्।

त्यस्तै, मैदान साँच्चै ‘हेब्बी’ महसुस भएको हो त भन्ने प्रश्नमा एडजस्ट गर्न कठिनाइ भएको संकेत गर्दै राईले भनिन्: टर्फमा अभ्यास गरेका थियौँ। ग्रासमा दुई दिन आर्मीको मैदानमा अभ्यास गरेका थियौँ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको थियो।

सुरुवातमा बंगलादेश आक्रमक देखिएको थियो। यद्दपि, खेलको १४ औँ मिनेटमा सबिता राना मगरले अग्रता दिलाएसँगै नेपालले लय समात्यो।

२२ औँ मिनेटमा सरू लिम्बुको पासमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको २८ औँ र ३६ औँ मिनेटमा पनि प्रीतिले राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकिन्।

३० औँ मिनेटमा बिमला चौधरीले राम्रो अवसर बनाएकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी मोसामत अलि खातुनले राम्रो क्रस गर्दै अवसर बनाए पनि नेपाली डिफेन्डरले क्लियर गरिदिएका थिए। पहिलो हाफमा नेपालले २ गोलले अग्रता लिएको थियो।

दोस्रो हाफमा शुरुबाटै बंगलादेशले गोल फर्काउने प्रयास गरेको थियो। ५१ औँ मिनेटमा सरु लिम्बुको पासमा प्रीती राइले गोल पोस्टमा राम्रो प्रहार गरेपनि बंगलादेशी गोलकिपर रुपना चकमाले उत्कृष्ट बचाउ गरेकी थिइन्।

७९ औँ मिनेटमा बंगलादेशकी श्रिमोटी सरकारले गरेको प्रहार गोलकिपर एन्जेला तोमबाफोले बचाए पनि ८३ औँ मिनेटमा टोहुरा खातुनले गोल फर्काइन्। खेलको अन्तिम समयमा बंगलादेशले खेलमा दबाब बनाएको थियो। अतिरिक्त समयमा पनि बंगलादेशले राम्रा अवसरहरू बनाएको थियो।

नेपाल र बंगलादेशबीचको दोस्रो खेल भदौ २७ गते हुनेछ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो।

दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell