काठमाडौं : यँया: (इन्द्रजात्रा) मा हनुमानढोकामा ठड्याउन यस वर्ष छानिएको य:सिंलाई काठमाडौं ल्याइएको छ। भक्तपुरको चित्तपोल (यसिंगुँ) बाट मानिसले डोरीको सहायताले तानेर य:सिंलाई काठमाडौं ल्याउनुपर्नेमा यो वर्ष डोजरले तानेर भोटाहिटी पुर्याइएको हो।
बुधवार मानन्धर समुदायसँगै गर्जुको पल्टन गएर शुभसाइतमा वृक्षकर्तन गरिएको थियो।
यता, यसपटक कोरोना संक्रमणलाई मध्यनजर गर्दै य:सिंलाई मानिसहरुले तानेर नभइ डोजरले तानेर ल्याइएको बताइएको छ।
हुनत यसअघि पनि य:सिंलाई तानेर ल्याउन अहिले गाह्रो भएको भन्दै वैकल्पिक उपायको खोजि भइरहेको थियो। य:सिं तानेर ल्याउन मानिस नपुगेको र तानेर ल्याउन सडकमा सकस भएको भन्दै विकल्पबारे चर्चा भएको थियो। यसपटक भने कोरोना संक्रमणलाई देखाएर य:सिंलाई डोजरले तानेर ल्याइएको हो।
गत वर्ष कोरोना संक्रमणका कारण इन्द्रजात्रा नमनाइएकोले य:सिं ल्याइएको थिएन। कोरोनाकाल भन्दा अघि य:सिं मानिसहरुले तानेरै ल्याएका थिए। य:सिं भोटाहिटी पुर्याइएपछि पूजा गरेर समयबजी खाने प्रचलन छ। बिहीबार राति य:सिंलाई भोटाहिटी पुर्याइएसँगै गर्जुको पल्टनले सलामी दिएको थियो।
.jpg)
यो वर्ष भक्तपुरको बिस्का: जात्राका लागि पनि य:सिं डोजरले नै तानेर ल्याइएको थियो।
य:सिंलाई भदौ २९ गते नगर प्रवेश गराइने साइत जुरेको छ। यस्तै, असोज २ गते हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ।
यो वर्ष असोज ३ गते इन्द्रजात्रा परेको छ। सो दिन 'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।
गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।
