काठमाडौं : सत्तारुढ पाँच दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा बैठक बस्दै छ। आज बिहान ९ बजेका लागि गठबन्धनको बैठक बोलाइएको हो। बैठकमा मुख्यत: मन्त्रिपरिषद् विस्तारको विषयलाई प्रमुख एजेन्डा बनाएको बताइएको छ।
बिहीवार पनि प्रधानमन्त्री शेरबहादुर देउवाले यसबारे छलफल गरेका थिए। बालुवाटारमा बसेको बैठकले चाँडै मन्त्रिपरिषद विस्तार गर्नेबारेमा सहमति गरे पनि कहिलेसम्म विस्तार गर्ने भन्नेबारेमा भने छलफल टुंगोमा पुग्न नसकेको माओवादी नेता देव गुरुङले जनाएका थिए।
'सामान्य छलफल भयो। तर यही भन्ने टुंगो लागेन,' बैठकपछि गुरुङले भनेका थिए।
बैठकमा देउवासहित गठबन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए।
उपेन्द्र यादव पक्षसँग कुरा नमिलेकोले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइएको छ। आजको बैठकमा सोही विषयमा सहमति गराउने र मन्त्रिपरिषद्को विस्तार हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ।
यता नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले आजको बैठकले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने जनाए। 'अहिले ९ बजे गठबन्धनको ५ दलको बैठक बस्दैछ। हिजोको बैठकमा उपेन्द्र यादव प्राविधिक कारणले उपस्थित हुन नसकेपछि गठबन्धनले मन्त्रिपरिषद् बिस्तार गर्न सकेन। आजको बैठकले टुंगो लगाउला,' नेता तुलाधारले भने।
