काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चाडै टुङ्ग्याउने निर्णय गरेको छ। गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले सरकारमा सहभागी हुने नेताको नाम चाडो टुङ्गो लगाउने सहमति गरेको हो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्रीको नाम चाँडो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए। बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी थिए।
'मन्त्रिपरिषद छिटो बिस्तार गर्नुपर्यो भन्ने कुरा भयो। आ-आफ्नो पार्टीबाट छिटो नाम दिनुस् भन्नुभयो प्रधानमन्त्रीले,' बैठकमा सहभागी एक नेताले भने।
अरु नेताहरुले मन्त्रीहरुको नाम चाँडै टुङ्ग्याउने बचन प्रधानमन्त्री देउवालाई दिएका छन्। 'चाँडै नाम दिनपर्छ भन्ने कुरा ठिकै छ भन्नुभयो अरु नेताहरुले। धेरै छलफल गर्ने समय भएन,' उनले भने।
प्रतिनिधिसभाको बैठकमा विभिन्न अध्यादेशहरुलाई टेबुल गर्दै जाने विषयमा पनि सहमति भएको गठबन्धनका नेताहरुले बताएका छन्। गठबन्धनलाई फुटाउन षड्यन्त्र भएको भन्दै नेताहरुले अझ मजबुत हुनुपर्ने बैठकमा धारणा राखेका थिए।
'अध्यादेशहरु टेबुल गर्दै जानुपर्छ भन्ने बारेमा छलफल भयो। गठबन्धन मजबुत बनाउनुपर्छ भन्ने कुरा भयो। अहिलेको आवश्यकता गठबन्धन हो भन्ने सहमति छ,' बैठकमा सहभागी नेताले भने।
साँझ ६ बजे बस्नेगरी बैठक सकिएको छ। मन्त्रीहरुको अन्तिम नाम साँझसम्म टुङ्ग्याउने र एक दुई दिनमै मन्त्रिपरिषद बिस्तार गर्नेबारेमा पनि बैठकमा सहति भएको छ। अहिले देउवा नेतृत्वको सरकार ६ सदस्यीय छ। माओवादीबाट २ र कांग्रेसबाट ३ जना गरी ५ जना मन्त्री मात्रै सरकारमा सहभागी छन्। गठबन्धनमा आवद्ध अरु दलहरुले सरकरमा सहभागी जनाउने भए पनि राष्ट्रिय जनमोर्चाले भने आफ्नो पार्टी सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ।
