PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

दीर्घ रोगीलाई देउवा सरकारको उपहार : पाँच हजार भत्ता



पहिलोपोस्ट

दीर्घ रोगीलाई देउवा सरकारको उपहार : पाँच हजार भत्ता

काठमाडौं : सरकारले बजेटको प्रतिस्थापन विधेयकमार्फत् दीर्घ रोगीका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता प्रदान गर्ने तयारी गरेको छ। शुक्रबार संसदमा पेस हुन लागेको विधेयकमा दीर्घ रोगीलाई जीवन निर्वाह भत्ता मासिक पाँच हजार रुपैयाँ दिने कार्यक्रम राखिएको स्रोतले बतायो।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्पाइनल इन्जुरी भएर पक्षघात भएका, मृगौला फेल भएर डायलाइसिस गरिरहेका, ओपन हार्ट सर्जरी गरेका, पार्किन्सन र अल्जाइमर्सका रोगीले यो भत्ता पाउनेछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई यसका लागि निर्देशन दिएका थिए।

देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदा दीर्घ रोगीलाई पाँच हजार जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्बाट निर्णय गरेका थिए। तर, संघीय निर्वाचनपछि आएको केपी शर्मा ओलीको सरकारले देउवालाई ल्याएको यो कार्यक्रममा कैची लगाएको थियो। यसबाहेक देउवाले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६५ वर्षमा झारेका थिए। तर, उनै ओलीले चुनावलाई लक्षित गरेर वृद्धभत्ता बढाएका थिए।

देउवा सरकारले पनि लोकप्रिय बन्नका लागि सामाजिक सुरक्षा अन्तर्गत भत्ता दिने निर्णय गरेको हो। २०५१ सालको मनमोहन अधिकारी सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता दिने प्रणाली सुरु गरेपछि ठूलो राजनीतिक लाभका लागि रकम बढाउन प्रतिस्पर्धा चलिरहेको छ। 

एकातिर वितरणमुखि रणनीति सबैले अगाडि बढाएका छन् तर सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन रकम दुरुपयोग पनि भइरहेको छ। राष्ट्रिय परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्तामा बाँड्नेमा पनि कुनै दललाई चासो छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell