PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमालेको अवरोधका बिच सभामुखले अघि बढाए संसद बैठक



पहिलोपोस्ट

एमालेको अवरोधका बिच सभामुखले अघि बढाए संसद बैठक

काठमाडौं : नेकपा (एमाले)को अवरोधका बावजुद  प्रतिनिधिसभाको शुक्रवारको दोस्रो बैठकलाई सभामुख अग्नि प्रसाद सापकोटाले अघि बढाएका छन्।

सांसद प्रेम सुवाललाई सभामुखले बोल्ने समय दिएसँगै संसदको कारवाही अघि बढेको हो। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठक सुरु भएको जानकारी दिनासाथ एमालेका सांसदहरुले रोष्ट्रम घेर्न अघि बढेका थिए। पहिलो बैठकमा पनि अवरोध गरेपछि १५ मिनेट स्थगित गरेर सभामुख अग्निप्रसाद सापोकटाले दोस्रो बैठक सुरु गरेका हुन्। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले लगातार प्रतिनिधिसभामा विरोध गरिरहेको छ।

गत बुधवार बसेको बैठकमा पनि यसैगरी नाराबाजी भएको थियो भने संसदमा घम्साघम्सीको दृश्य देखिएको थियो। त्यसपछि २५ गते अर्थात् आजका लागि बैठक डाकेर स्थगित भएको थियो।

बैठक चलिरहँदा आज पनि मर्यादा पालकहरुलाई एमाले सांसदहरुले ठेलमठेल गरिरहेका छन्। आज अग्रपङ्तिमा महेश बस्नेत, गोकुल बास्कोटा, प्रदीप ज्ञवाली, विशाल भट्टराई, निरु पाल, डिल्लीकुमारी महतो लगायतका सांसदहरु रहेका छन्। उनीहरुले मर्यादा पालकहरुलाई हम्मेहम्मे पारिरहेका छन्।

सभामुखले पटकपटक सांसदहरुलाई सहज स्थितिमा फर्किन अनुरोध गरे पनि सांसदहरुले लगातार अवरुद्ध गरिरहे। करिब १७ मिनेट अवरुद्ध जारी रहेपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि संसद स्थगित गरेका थिए। यसअघि बुधवार पनि अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश अघि बढाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell