काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएका छन्। उनले बजेटको आकार घटाए पनि आर्थिक वृद्धि लक्ष्य भने बढाएका छन्।
एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै शर्माले संसदमा विधेयक पेश गरेका हुन्।
पौडेलले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएका थिए। शर्माले त्यसको आधार १६ खर्ब ३२ अर्ब रुपैयाँमा झारेका हुन्।
उनले आर्थिक वृद्धि लक्ष्य भने ७ प्रतिशत पुर्याएका छन्। पौडेलले लक्ष्य साढे ६ प्रतिशत राखेका थिए। उनले मूल्य वृद्धि प्रक्षेपण साढे ६ प्रतिशत गरेका छन्।
कोभिड १९ खोप लगाउने जनसंख्या बढेको र यससँगै आर्थिक क्रियाकलापमा सुधार आएको भन्दै मन्त्री शर्माले लक्ष्य बढाएका हुन्।
गत आर्थिक वर्ष वृद्धि दर ४.०१ प्रतिशत हुने अनुमान थियो। तर त्यसबेला निषेधाज्ञा गरिएको थिएन। निषेधाज्ञापछि वृद्धि दर एक प्रतिशत हाराहारीमा हुने अनुमान छ। त्यसअघिको बर्ष आर्थिक वृद्धि दर ऋणात्मक थियो।
लगातार दुई वर्षदेखिको आधार कमजोर भएकाले यसपाली वृद्धि दर सात प्रतिशत राखेको देखिन्छ।
