PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ : सांसद रेखाकुमारी झा



प्रकाश भण्डारी

केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ : सांसद रेखाकुमारी झा

काठमाडौं : नेकपा एमालेकी सांसद रेखा कुमारी झाले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि आक्रमण गर्ने प्रयास असफल भएको छ। 

एमालेको विरोधका बिच सभामुख सापकोटाले संसद बैठक चलाएको भन्दै आक्रोशित बनेकी सांसद झाले सभामुखलाई आक्रमण गर्ने योजना रहेको सुनाइन्। रौतहटबाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधिसभाको सदस्य रहेकी झाले सापकोटाप्रति आक्रोशित भएकाले आक्रमणको प्रयास गरेको बताइन्।

शिक्षा तथा स्वास्थ समितिककी सदस्य समेत रहेकी झा एमालेको विद्यार्थी संगठन अनेरास्वबीयूबाट राजनीतिमा लागेकी हुन्। अनेरास्वबीयूमा केन्द्रीय सचिवसम्मको जिम्मेवारी सम्हालेकी झासँग उनको असफल आक्रमणबारे पहिलोपोस्टले गरेको संक्षिप्त कुराकानी:

तपाईँलाई आजको बैठकमा अलि बढि नै रिस उठेजस्तो देखियो नि?

हो। हर्नुस् देशमा नियम छ, कानुन छ। संसदको एउटा नियमावली छ। संसदीय नियमावलीमा के व्यवस्था छ भने एक जना सांसदले विरोध गरे पनि त्यसलाई विरोध मान्ने।

तर, तपाईँले त आक्रमण गर्ने नै प्रयास गर्नुभयो त?

हेर्नुस् हाम्रो विरोध नसुनेपछि मलाई रिस उठेको हो। कसैले पनि विरोध गर्छ भने त्यतिबेला सभामुखले सोच्नुपर्छ। एक पटक होइन पटक-पटक सोच्नुपर्छ। त्यतिमात्रै होइन, विरोध भनेको त विरोध नै हो।

हिंसात्मक गतिविधि गर्नु फेरि संसदको नियमावली विपरीत होला नि त?

हेर्नुस् मैले ठेलमठेलमा माइक तानेको हो। त्यहाँ हामीलाई पनि मर्यादापालकले ठेलेका छन्। हानेकै चाहिँ होइन। अनुशासन त मान्छु नि। अध्यक्ष केपी शर्मा ओलीले रोक्नुस् भन्नुभयो।  

नरोकेको भए के गर्नु हुन्थ्यो?

उहाँले नरोक्नु भएको भए म सभामुखको टाउकोमै हान्थेँ। प्रतिपक्षले विरोध गरिरहेको छ सभामुखले बैठक अघि बढाउने हो? तपाईँ अनि मलाई रिस उठ्यो भनेर सोध्नु हुन्छ?

ओलीले के भन्नु'भो त तपाइलाई?

अहिले छोडदिनुस् पछि कुरा गरौला भन्नुभयो। उहाँले नाइ भनेपछि त मैले मानेँ नि। अनुशासन त म पनि मान्छु।

तपाईँको नजिकै हुनुहुन्थ्यो ओली?

उहाँ म नजिकै हुनुहुन्थ्यो। पार्टी अध्यक्षले नै भनिसकेपछि मैले नमान्ने कुरा भएन। यो रिसको कुरा होइन। सभामुख कस्तो हो? प्रतिपक्षले विरोध गरिरहेको छ बैठकलाई अघि बढाउँछ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell