PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपको सानदार बलिङ



पहिलोपोस्ट

पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपको सानदार बलिङ
Photo: NSJF

काठमाडौं: एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि  १५१ रनको सानदार जित निकालेको छ। ओमनको अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी १९.१ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। यो सँगै पिएनजीसँगको सिरिज नेपालले २-० ले जितेको छ।

नेपालको जितमा रोहितकुमार पौडेल र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे।

फितलो सुरुवात गरेको नेपालको लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रन बनाएर आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले पारी सम्हालेका थिए। कप्तान मल्ल ४५ रनमा आउट हुँदा सम्हालिएर ब्याटिङ गरेका रोहितले ८६ रन बनाए। अघिल्लो खेलमा पनि फितलो सुरुवात गरेको नेपालका लागि पौडेलले ४१ रन बनाउँदै जितको नायक बनेका थिए।

करण केसीले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ४२ रन बनाए।

पिएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा कबुआ मोएरा र नोर्मन भनुआले समान २/२ विकेट लिए। त्यस्तै चार्स अमिनीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पिएनजीका ब्याट्सम्यान नेपाली बलरसामु निरीह सावित भए। नेपालका लागि सन्दीप लामिछाने एक्लैले ६ विकेट लिँदा सोमपाल कामी, विक्रम सोब र शुसन भारीले समान १/१ विकेट लिए। लामिछानेले यसअघि पिएनजीसँगको खेलमा पनि ४ विकेट लिएका थिए। 

पिएनजीका लेगा सिएकाले सर्वाधिक १९ रन बनाउँदा चाल्स अमिनीले १६, नोर्मन वनुवाले १२ रन बनाए। त्यस्तै सेसे बउले ११ रन बनाउँदा गउडी टोकाले १० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन्।

सन् २०१८ मा ओडीआई मान्यता पाएको नेपालले पहिलो पटक डे-नाइट खेल खेलेको हो।

क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो।

विश्वकप लिग टू अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमन र अमेरिकासँग खेलेको थियो। जसमा नेपालले अमेरिकालाई दुबै खेलमा हराएको थियो भने ओमनसँग दुबै खेलमा पराजित भएको थियो।

नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको अमेरिकाले पनि पपुवा न्युगिनीसँग दुईवटा अभ्यास खेल खेलेको छ। त्यस्तै आयोजक ओमनले मुम्बइको टिमसँग सिरिज खेलेको थियो।

लिग २ मा ७ वटा देशले प्रतिस्पर्धामा छन्। जसमा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमन, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।

लिग 'टू' मा १० खेल खेलेको ओमन १६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। त्यस्तै ८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड, ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ७ खेलबाट ७ नै अंक जोडेको नामिबिया क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा छन्। नेपाल भने ४ खेल खेलेर ४ अंक जोड्दा पपुवा न्युगिनी ८ खेल खेलेर अंकविहीन रहँदै तालिकाको पुछारमा छ।

२१ वटा त्रिकोणात्मक सिरिज सम्पन्न भएपछि शीर्ष तीन टिमले आईसीसी पुरुष विश्वकप क्वालिफायर्समा स्थान बनाउने छन्। त्यस्तै पछाडिका चारवटा टिमले क्रिकेट विश्वकप क्वालिफायर प्लेअपमा स्थान बनाउने छन्।

लिग २ अन्तर्गत नेपालको खेल

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १३)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १४)

नेपाल भर्सेस अमेरिका (सेप्टेम्बर १७)

नेपाल भर्सेस ओमन (सेप्टेम्बर १९)

नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आशिफ शेख, गुलसन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर, विक्रम सोब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell