PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टेक्ने किस्सा : जुत्ता, याने 'मर्सिडिज बेन्ज', कहिले लगाउने त कहिले बिरुवा उमार्ने!



पहिलोपोस्ट

टेक्ने किस्सा : जुत्ता, याने 'मर्सिडिज बेन्ज', कहिले लगाउने त कहिले बिरुवा उमार्ने!

  • लिलाराज खतिवडा -

फरक देशका दुई जुत्ता व्यापारी संयोगले एकैदिन एउटा टापुमा पुगेछन्। उनीहरुको उद्देश्य आ-आफ्नो उत्पादनका जुत्ता बिक्री गर्ने थियो। जहाजबाट ओर्लिएर पहिलोले टापुमा चारैतिर नजर दौडायो। आदिवासीहरुले भरिएको टापुका प्रायः सबै महिला पुरुष खाली खुट्टामा थिए। उसले आफ्नो मुख्य कार्यालयमा एउटा टेलिग्राम पठायो।

टेलिग्राममा उसले जनायो- हाललाई अर्डर क्यान्सिल गर्नू। यहाँ हाम्रो प्रोडक्ट चल्ने संभावना देखिएन। मान्छेहरु खाली खुट्टे चेतनाबाट माथि उठ्न सकेका छैनन्। के खाएर लाउनु नि जुत्ता!

अनि ऊ अर्को जहाज चढेर जहाँबाट आएको, त्यहीँ फर्कियो।

+++

दोस्रो जुत्ता व्यापारीले पनि जहाजबाट ओर्लिएर टापुमा चारैतिर नजर दौडाएको थियो। बासिन्दाहरु खाली खुट्टा हिँडेको देखेर ऊ मुस्कुरायो। छेवैको स्टलमा एककप कफी खाएर उसले पनि आफ्नो मुख्य कार्यालयमा एउटा टेलिग्राम पठायो - हाललाई ‘माल’ निर्धारित भन्दा दोब्बर पठाउनू। मान्छेहरु यहाँ खाली खुट्टा हिँड्छन्। जुत्ता चल्ने यहाँ सम्भावना अत्यधिक छ।

एकरात होटलमा सुतेपछि अर्को दिन बिहान यो दोस्रो जुत्ता व्यापारी बजार निस्कियो। मान्छेहरु झुरुप्प भेला भएको स्थानमा पुगेर झोलाबाट केही नमूना जुत्ता निकाल्यो। अनि चिच्याउन थाल्यो-

‘दाजुभाइ तथा दिदी बहिनी, आउनुहोस् आउनुहोस्! आज म तपाईंहरुलाई आफ्ना खुट्टा कसरी सुरक्षित राख्ने भन्नेबारे केही बताउन गइरहेको छु। यसलाई जुत्ता भनिन्छ। यो खुट्टामा यसरी उनिन्छ। वा घुसाइन्छ। वा लगाइन्छ। तपाईं जसरी बुझ्नुहोस्!’

अनि उसले आफ्ना खुट्टामा जुत्ता लगायो र ठमठमी हिँड्न र नाच्न थाल्यो। मान्छेहरु झुरुप्प भेला भए। ऊ उत्साहित हुँदै गयो।

उसले अगाडि भन्यो, ‘आउनुहोस्, लगाएर हेर्नुहोस्! ट्राइ गरेको पैसा लाग्दैन। यो लगाएर हिँड्दा तपाईंका खुट्टालाई चोट पटक लाग्नबाट सहजै बचाउन सकिन्छ। आउनुहोस्... आउनुहोस्...!’

भेला भएका मान्छेहरु जुत्ता ट्राइ गर्न उत्सुक भए। कतिले शंका गरे, ‘हैट, यो जिनिश लगाएर हिँड्दा लडिन्छ होला!’

साँच्चै नै ती आदिवासीहरुले कहिल्यै जुत्ता लगाएका त के देखेका पनि थिएनन्। न कहिल्यै उनीहरुका पूर्खाहरुले यस्तो जिनिश प्रयोगमा ल्याएका थिए। उनीहरु त सदियौँ देखि खाली खुट्टा थिए।

दिमाखिलो जुत्ता व्यापारीले संभावित ग्राहकलाई बडा नम्र आवाजमा भन्यो, ‘होइन नि हजुर! किन लडिन्थ्यो र? लगाएर त हेर्नुहोस्!’

नभन्दै एक व्यक्तिले पटपटी फुटेका कुर्कुच्चा भित्र जुत्ता हुल्यो। व्यापारीले जुत्ताका तना बाँधिदियो। व्यक्तिले बिस्तारै पाइला चाल्यो। वरिपरि भेला भएकाहरु निकै उत्सुक भएर उसलाई हेरिरहेका थिए।

कोही उसलाई नै भन्दै थिए, ‘लडिएला है, होश गर!’

तर केही पाइला हिँड्दा पनि ऊ लडेन। ऊ फटाफट हिँड्यो। अनि उसको मुखमा एउटा मुस्कान नाच्न थाल्यो। अन्य व्यक्तिहरुले पनि जुत्ता लगाएपछि वरपर हिँडेर हेरे। उनीहरुलाई खुट्टा सुरक्षित राख्ने यो जिनिश मन पर्‍यो। आखिर जुत्ता ठीक भएपछि मान्छेले आफ्ना खुट्टा बिर्सिने नै भयो।

अर्को दिन योजना गरेभन्दा बढी जुत्ताको ‘कार्गो’ आइपुग्यो। उसका जुत्ता फटाफट बिके। अनि उसले त्यहाँ एउटा डिलरको व्यवस्था गर्यो। र खुशी हुँदै मुख्य कार्यालय फर्कियो। केही अवार्डले उसलाई त्यहाँ निश्चय नै पर्खिरहेका थिए। बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइलाई उछिन्दै यो दोस्रो व्यापारी मजाले बोल्यो। तथापि, बेच्नलाई ऊसँग त चामल नै थियो। कहिलेकाहिँ चामल पनि बोलेरै बेच्नु पर्ने हुन्छ। अनि कहिलेकाहिँ पिठो पनि नबोली बिक्छ।

के जिन्दगी यस्तै हो?

+++

आज म भन्छु, जिन्दगी केवल दुई किसिमको हुने गर्छ। एउटा, जुत्ता ठिक भए जस्तो। अर्को, जुत्ता ठिक नभए जस्तो। बात् खत्तम!

खुट्टाभन्दा एक आकार ठूलो जुत्ता परे जिन्दगी सहजै होला। तर, एक आकार स्यानो जुत्ता परे जिन्दगी कस्तो होला?निश्चय नै यो पछिल्लो खाले जीवनले सन्ताप बढाउँछ। वा बढाएको छ।

मैले आफ्नो यो लेखनी किन जुत्ताभित्र कोच्न चाहेँ भने, आज म यहाँ आफ्ना केही ‘जुत्ते किस्सा’ पस्किन गइरहेको छु। यसै पनि जुत्ते किस्सा भन्ने नयाँ शब्द खेल्न पनि पाइयो। त्यसो त यो मेरो एक जुत्ता महात्म्य पनि हो। जुत्ता – याने हमेशा मेरा लागि ‘मर्सिडिज बेन्ज’!

नेपाल देशमा एउटा लेखकको तनखा न्यून भए ता पनि म हमेशा जुत्ताको सौखिन रहेँ। आफ्नो खेतमा उत्पादित बासमती धान सस्तो दाममा बेचेर पनि मैले महँगा जुत्ता किनेको छु। लगाएका जुत्तालाई गमला बनाएर मैले फूल फुलाएको छु। अनि किन नकोचौँ जुत्तामा आफ्नो कथा?

+++

जुत्ता व्यापारीको माथिको पुरानो लोककथा भने निराशावाद भर्सेस आशावादको एउटा चाखलाग्दो दृष्टान्त हो। कसैले आधा खाली ग्लास भन्छन् भने कसैले आधा भरिएको ग्लास। बात हेर्ने दृष्टिकोणको हो। पहिलो जुत्ता व्यापारी निराशावादी हो भने दोस्रो आशावादी। यस कथाबाट धेरैले धेरै कुरा बुझ्न सक्छन्। यो आशावादले शानदार जित हासिल गरेको कथा हो। जुत्ता किन्दा अलिक भलाद्मी व्यापारी परेका बेला उनीहरुलाई मैले यदाकदा यो कथा सुनाएको छु।

+++

पत्रकारिता शुरु गर्दाको रौनक नितान्त भिन्नै थियो। त्यतिबेला रिपोर्टरले बोक्ने लामो उझिण्डो भएको एउटा काँधे ब्याग निकै प्रख्यात भएको थियो। प्राय सबैले यो बोक्थे।

तर, आज म जुत्ताको कुरा गर्दै छु। रिपोर्टरले जुत्ता अलिक मजबुत लगाउनु पर्छ भन्ने कुराले मलाई असर गरेको थियो। म २०५१ सालको कुरा गर्दै छु। रिपोर्टरहरुको रोजाइमा प्रायः एउटै जुत्ता थियो त्यतिबेला — ‘हाइटेक, मेड इन कम्बोडिया।’

त्यसो त भियतनाममा बनेका ‘ट्रेकिङ सु’ पनि त्यतिबेला लोकप्रिय थिए जुन न्युरोड, भोटाहिटी र ठमेलमा मात्रै पाइन्थ्यो। सबै जुत्ता पसलमा यो पाइन्थेन। साथीभाइको ‘रिकमेण्डेशन’मा नै प्रायःले यो जुत्ता किन्थे।

त्यतिबेला यो जुत्ताको दाम अठार सय पचास रुपियाँबाट शुरु हुन्थ्यो।

लोकपत्र दैनिकमा मेरो महिनावारी तलब थियो, तीन हजार। पहिलो महिनाको तलब थापेर बालाजुबाट म सिधै भोटाहिटी हान्निएँ र एक जोडी हाइटेक जुत्ता किने। जुत्ता लगाएपछि खोल्नै मन लागेन। अब मैले आफ्ना खुट्टा बिर्सिएको थिएँ। त्यस रात म हाइटेक जुत्ता लगाइ लगाइ सुतेको थिएँ। जुत्ता ठिक भए मान्छेले खुटटा बिर्सिन्छ भने जस्तै। तर, कथंकदाचित जुत्ता ठिक नभए वा असजिलो परे खुट्टाको पीडामात्रै याद आउनु स्वाभाविक।

तर, मेरा खुट्टामा जस्तै बलिया जुत्ता पनि धेरै समय टिक्न मान्दैनन्। पहिलो पटक कम्बोडियामा बनेको हाइटेक जुत्ता किनेको याद छ। तर, त्यो जुत्ता नासिएको हेक्का छैन।

त्यस पश्चात मैले अनेक पटक हाइटेक जुत्ता किनेको छु। कति हराए। कति छ महिनामै धूजा भए। कति साथीभाइले जबर्जस्ती उठाए।

२०५३ सालतिरको कुरा हो। अनामनगर बसिन्थ्यो। चाइनिज इँटाको गुरुङ बाको घरमा छिमेकी थिए, अन्याय चलचित्रका नायक विश्व बस्नेत र पत्रकार तथा निर्देशक नविन सुब्बा।

मेरा एक जोडी ‘डार्क ग्रीन कलर’का हाइटेक जुत्ता हराउने दिन विश्व बस्नेत दाजुको डेरा सर्ने दिन थियो। सामान ओसारपसार गर्ने केही मजदूर त्यहाँ आवतजावत गरिरहेका थिए। मेरा जुत्ता ढोका छेउमा पार्क गरिएका थिए। हेर्दाहेर्दै गायव भए।यी जुत्ता मैले त्यस्तै चार पाँच महिना लगाएँ हुँला।

यसपछि २०६१ सालतिर किनेको भोलिपल्टै कोटेश्वरस्थित दिदीका डेरामा मेरा एकजोडी हाइटेक जुत्ता हराए। दिदीका डेरामा बुबा आउनु भएको थियो। भेट्न गएँ। प्यासेजमा जुत्ता पार्क गर्नै पर्‍यो।।

नयाँ जुत्ता देखेर बुबाले सोध्नु भयो, ‘बडा गज्जब जुत्ता रहेछन्। कति हालिस् ?’

मैले भनेँ, ‘दुई हजार!’

बुबाले रमाइलो गर्दै भन्नुभयो, ‘मलाई पनि किन्दे न एक जोडी!’

तर, मैले बुबालाई हाइटेक जुत्ता किन्न नभ्याउँदै बुबाले शरीर छाड्नुभयो।

उता एक घण्टा जस्तो बुबा र दिदीसँग बात मारेर बाहिर आउँदा जुत्ता गायव। सारा खोजियो। तर, फेला परेन। यसरी मेरा कैयौँ जोडी जुत्ता हराएका छन्। मुश्किलले जुत्ता किन्यो, अनि हरायो। यो मलाई चित्त बुझिरहेको थिएन। अनि म जुत्ता लगाइ लगाइ सुत्न थालेँ। एक पटक त सोमरस अलिक बढी नै खाएर सुतेका बेलामा लगाएर सुतेका जुत्ता पनि गायब! संघर्षमा आफूले किन्न भ्याएका हाइटेक जुत्ता जोगाउन मलाई कम गाह्रो हुन्थेन, गाँठे!

अघिल्लो दिन किनेका जुत्ता हराएकोमा मैले भन्दा बढी बुबाले थकथक गर्नु'भो। पछि अनुसन्धान गर्दा दिदीको घरभेटीको छोरो लागू औषध दुर्व्यसनी भएको र जुत्ता उसैले उडाएको लगभग निश्चय भयो। उसलाई केरकार गर्न गइएन। किनभने, त्यतिबेला ढोकामा सीसीटीभी क्यामरा थिएन। कन्ना पछाडिको चोर...!

+++

हाइटेकका अलावा अन्य जुत्ता पनि लगाइयो। तर, ती सब उल्लेख गर्न लायक थिएनन्। तर, मेरा खुट्टामा चानचुने जुत्ता आँटदैनन् र आँटिहाले टिक्दैनन् पनि। म ‘रफ’ हिँड्छु र अत्यधिक पैदल यात्रा गर्छु। अलिक स्याना वा टाइट जुत्ता लगाउन पनि कैयौँ पटक म बाध्य भएको छु। जसले उठाएका फोकाहरुको पीडा अहिले यहाँ वर्णन गरेर साध्य छैन। तिनै फोका संक्रमण भएर दुवै पाइतालामा आधा दर्जन खिल निको हुनै मान्दैनन्। मेरा खुट्टाका खिलको कथा लमो र बेग्लै छ। कुनै दिन लेखुँला। यसै पनि यता आफ्नो भन्दा अरुकै कथा पस्किन बढी मजा लिइन्छ।

मेरा लागि मुश्किलले फेला पर्ने आफ्ना खुट्टा भन्दा एक आकार ठूला जुत्ता जहिल्यै महत्वपूर्ण हुने गर्दथे। तर, धेरैवटा जुत्ता पसलबाट अझै पनि म रित्तो हात नै फर्किन बाध्य किन हुन्छु भने त्यहाँ मलाई ठिक हुने जुत्ता हुँदैनन्।

अनि म साहुजीलाई भन्छु, ‘तपाईंको एरियामा छ फिट अग्ला मान्छे खास्सै छैनन् जस्तो छ। हो, साहुजी?’

कति साहुजीले मेरो कुरा बुझ्छन्। कतिले बुझ्दैनन्। अघि बढ्नुको बिकल्प हुँदैन।

पछिपछि चीनबाट हाइटेक मोडलका अनेक जुत्ता आए। सर्वसुलभ पनि हुँदै गए। अहिले त गोल्डस्टार कम्पनीले पनि गज्जब गज्जब जुत्ताहरु बनाएर बेचिरहेको छ।

जवानीमा आफूलाई मिल्ने डिंगो जुत्ता बजारमा नपाएपछि मोचीलाई अर्डर दिएर भए पनि लगाइयो। छालाको जुत्ता मलाई त्यति आरामदायक लाग्थेन। मैले बढी ‘ट्रेकिङ सु’ नै लगाएँ।

लगाइरहेका आरामदायक ‘स्केचर’ जुत्ता धुजा भएपछि ६ महिनाअघि जुत्ता आवश्यक परेर म चाबहिल स्तूप छेऊको गोल्डस्टार सोरुममा पुगेँ।

घड्याप्पै नजर परे, एक जोडि ‘हाइटेक मोडल’का ‘ट्रेकिङ सु’मा।

मैले ध्यानपूर्वक जुत्ता हेरेँ। जुत्ता मलाई जचिँरहेको थियो। लगाएर हेरेँ। यसले मलाई हाइटेक बिर्साइरहेको थियो। खुशी लाग्यो। किनभने आफ्नै देशमा यस्ता जुत्ता उत्पादन हुनु निश्चय नै गौरवको कुरा थियो।

दाम सोधेँ।

‘दुई हजार!’

सत्ताइस वर्ष अगाडि यस्तै जुत्ता यस्तै दाममा किनेको र यस्ता कैयौँ जुत्ता फटाइसकेको वा हराइसकेको मान्छेलाई अहिले यो जुत्ता निकै सस्तो लागिरहेको थियो।

दायाँबाँया नहेरी मैले जुत्ता किनेँ। जुत्ता निकै ‘कम्फर्टेबल’ लाग्यो। आफ्नै देशको उत्पादन गोल्डस्टारले हाइटेक जुत्ताको मेरो ‘ह्याङ’ उतारिरहेको थियो। तर, ६ महिना नपुग्दै देब्रे जुत्ताको सोल प्वाक्कै उक्कियो। अहिलेसम्म कतै कम्प्लेन गरेको छुइँन। बिचमा किनेका अर्का गोल्डस्टारले काम चलाइरहेको छु। अब छिट्टै फेरि एकजोडी उपयुक्त गोल्डस्टार जुत्ता किन्ने मुडमा छु।

पहिले पहिले हाइटेक जस्तै गोल्डस्टारका जुत्ताहरु पनि मैले निकै फटाएको थिएँ। तर, हाइटेक जुत्ता लगाउँदा महसुस हुने आफ्नो लामो कद गोल्डस्टार लगाउँदा भने केही घटे झैँ पनि हुन्थ्यो। हाइटेक लगाएर लामालामा पाइला चाल्दा आफूमा कुनै जवान चितुवा हाबी भए झैँ हुने। यो जुत्ता लगाएर उकालो हिँड्न निकै मजा। ओह्रालोमा पनि यसले निकै ‘ग्रिप’ दिने। अनि हिँड्दै गर्दा अचानक कुदूँकुदूँ पनि लाग्ने। हाइटेक जुत्ता लगाएर हिँड्दा हलिउडको मेट्रिक्स फिल्मको लाम्पाइले ‘डिसेन्ट वाक’ वा बलिउडका जोन अब्राहिम हिँडेजस्तो ‘फिल’ आफूमा हुनु स्वाभाविक!

तर, सारा कुरा बजेटले तय गर्ने हुँदा पुरानो र नयाँ हाइटेक जुत्ता बिचको अन्तराललाई म गोल्डस्टार वा सो सरहका अन्य जुत्ताहरुले पनि पुर्ने गर्दथेँ। माओवादी द्वन्द्वकालमा गोल्डस्टारको एउटा सस्तो ब्राण्ड निकै प्रख्यात भएको थियो। माओवादीहरुले अत्यधिक प्रयोजनमा ल्याएर हो वा अन्यथा, त्यतिबेला गोल्डस्टार जुत्ता लगाएर बाहिरफेर हिँड्दा ‘समात्छ’ भन्थे। तर, मलाई गोल्डस्टारका जुत्ता लगाएकै आरोपमा कसैले पनि समातेनन्।

गोल्डस्टारको त्यो पुरानो एकमात्रै ब्राण्डको सबैभन्दा ठूलो साइजको जुत्ता मलाई अलिक ‘टाइट’ नै हुन्थ्यो। तर, पनि म जसोतसो ‘म्यानेज’ गर्थेँ। यी जुत्ता मैले कैयौँ जोडी फटाएँ वा हराएँ। पछि गोल्डस्टारले एकएक गर्दै मलाई ठीक हुने अन्य जुत्ता उत्पादन गर्न थाल्यो र उसका नयाँ ‘प्रोडक्ट’ पनि मैले ‘ट्राइ’ गरेँ। तर, ती सब मलाई अलिक ‘टाइट’ नै हुन्थे।

त्यसैले जुत्ता किन्दा मेरो ध्याउन्न हमेशा हाइटेक तिरै बढी हुन्थ्यो।

एकपटक बजेट अलिक कम भएपछि म ‘सेकेण्ड ह्याण्ड ट्रेकिङ सु’ किन्न ठमेल हान्निएँ। केही पसल चहारेपछि यस्तो लाग्यो, त्यतै कतै एक जोडी ‘सेकेण्ड ह्याण्ड सु’ले मलाई बडो बेचैन भएर पर्खिरहेको छ। साहुजी पनि बडा फरासिला निस्किए र एक जोडि‘सेडार’ जुत्ताको धूलो टक्टक्याउँदै भने, ‘ओल्ड इज गोल्ड!’

एकै नजरमा जुत्ता मलाई जँचे। लगाएर हेर्दा उचित थिए। यी जुत्ता मैले कैयौँ वर्ष लगाएँ। नयाँले भन्दा यी पुराना जुत्ताले मलाई राम्रो ‘माइलेज’ दिएका थिए।

+++

अनेक कथा लेख्न महिनौं कुना पस्नुपर्दा मैले यी जुत्तामा मलिलो माटो कोचेर फूल पनि रोपेँ। जुत्तामा फूल फुलेपछि फोटो खिचेर फेसबुकमा राख्दै म क्याप्सन लेख्थेँ, जुत्ताहरु नै मेरो मर्सिडिज बेन्ज हुन्!

म हरेक दिन बिहान लगातार जुत्तामा हुर्किँदै गरेका बिरुवा हेरेर बस्थेँ। अझै बस्छु। मलाई बिरुवा उम्रिनु प्रकृतिको तर्फबाट प्राप्त एक विराट चमत्कार झैँ लाग्छ।

फोटोसोटो खिचेपछि जुत्तामा रमाइरहेको फूललाई अन्तै सारेर जुत्ता धुन्थेँ। अनि तिनै जुत्ता फेरि लगाएर नयाँ यात्रामा तल्लिन हुन्थेँ, म। यस्तो मैले कैयौँ पटक गरेँ। मैले नयाँ जुत्तामा पनि बिरुवा उमारेँ। फूल फुलाएँ। अनि धोएर फेरि लगाएँ।

अझै पनि जुत्ता पुराना भए म तिनमा बिरुवा उमार्न मन पराउँछु र कथा लेख्दा टेबुलमा राख्छु। अनि म आफूलाई त्यस बिरुवासँग वा त्यस बिरुवालाई आफूसँग ‘मेटाफोर’ गर्छु। त्यसपछि ठोकिन्छ किबोर्ड आफसेआफ!

दुई वर्ष अगाडि मलाई हङकङबाट एक जोडी ‘स्केचर’ जुत्ता उपहारमा आए। एक जना फ्यान दिदीले तेस्रो व्यक्तिमार्फत् आधा दर्जन‘स्केचर मोजा’सहित जुत्ता पठाइदिएकी थिइन्। जुत्ता पठाउनु अघि मलाई केही कुरा सोधिएको पनि थियो – के उपहार आदि पठाइयो भने तपाईं स्वीकार गर्नुहुन्छ? हुन्छ भने, आकार, प्रकार र रंग कस्तो?

मैले खबर पठाएँ, प्रेमपूर्वक पठाए म मृत्यु पनि स्वीकार्छु!

थप जवाफ लेखेँ, आकार – अमेरिकी १२। प्रकार – ट्रेकिङ वा स्पोर्ट्स। रंग – भरिसक्य कालो।

नभन्दै अर्कोहप्ता मैले भनेजस्तै जुत्ता र मोजा आइपुग्यो। लगाएर हेरेँ। निश्चय नै मैले खुट्टाहरुलाई बिर्सिएको थिएँ। मतलव, जुत्ता निकै ‘कम्फर्टेबल’थिए!

एक वर्ष मैले लगातार यी जुत्ता घिसेँ। अनि बिरुवा रोपेँ, गाँजा। लकडाउन शुरु भएको थियो। कतै जानु थिएन। जुत्ताको के काम? पछि लकडाउन खुलेपछि बिरुवा अन्तै सारेर जुत्तालाई पुनः प्रयोगमा ल्याइयो। केही महिनाअघि गोल्डस्टारको ‘ट्रेकिङ सु’ किनेपछि हङकङबाट अज्ञात फ्यानले पठाइदिएका ‘स्केचर’जुत्ताहरुले आराम पाए। लगभग धूजा हुन्जेल मैले तिनलाई घिसेको थिएँ। जुत्ता धुजा भए पनि मोजा भने जस्ताको तस्तै। यति बलिया मोजा मैले पहिलो पटक लगाएको थिएँ। अहिले ‘स्केचर’मा बिरुवा रमाउँछन्। त्यहाँ लाग्छ, बिरुवाको रुपमा म नै जुत्ताभित्र ध्यान गरिरहेको छु। र, कुनै नयाँ यात्राको स्वैरकल्पना कथिरहेको छु।

+++

जे होस्, आफूलाई ठिक हुने माटो सुहाउँदो जुत्ता नेपालमै उत्पादन हुँदा र सुलभ मूल्यमा प्राप्त हुँदा हर्ष नै लाग्दोरहेछ। गोल्डस्टारको ‘ट्रेकिङ सु’ लगाएर डाँडाकाँडा गर्दा अहिले मलाई त्यो अनुभव प्राप्त भएको छ। कसैसँग जुत्ताको प्रसंग चलेका बेला नेपालकै आरामदायक जुत्ता लगाएको छु भन्दा मजै आउँछ। तर ६ महिना पनि पुग्दा नपुग्दै सोल उक्किनुले गोल्डस्टारको साखमा प्रश्न चिह्न पनि उब्जिन्छ। गोल्डस्टार कम्पनीले प्रचारप्रसारका अलावा उच्च प्रविधि र गुणस्तरमा ध्यान दिनु अनिवार्य छ।

हालसालै एउटा पुरानो साथीले मेरा जुत्तामा नियाल्दै अलिक कटाक्ष भावमा सोध्यो, ‘हाइटेक छाडेर गोल्डस्टार नै किन नि? म त शुरुमा हाइटेक नै होला भन्दै थिएँ। कस्तो झुक्यायो!’

‘उस्त नै छ!’ मैले उसको कमजोर कटाक्षलाई उपेक्षा गर्दै उत्साहित मुद्रामा भनेँ, ‘ठेट् भन्नुपर्दा त हाइटेक बिर्साउने खालको छ। र, दाम पनि उस्तै। याने सत्ताइस वर्षअघिकै दाम! तर नामचाहिँ अलिक भएन। नेपालको जुत्ताको नाम गोल्डस्टार राखेको अलिक सुहाएन।’

‘किन नि?’पुरानो साथीले चासो देखायो।

मैले अगाडि भनेँ, ‘बरु हाइटेक शब्दमा नेपालीपन छ। हाइ भनेको उच्च भइहाल्यो। टेक भनेको नेपालीमा टेक्नु वा पाइला हाल्नु भन्ने बुझिन्छ। यस अर्थमा हाइटेकको नेपाली अर्थ ‘उच्च पाइला टेक्नु’ हुन आउँछ। जो शब्दावली उचाइ र खूद् जुत्तासँग सम्बन्धित हुन गएकाले हाइटेक जुत्ता लगाउनुको शान अरु बढेको महसुस पनि भयो। तर, जुत्ता आकर्षक र ‘कम्फर्टेबल’ भएता पनि गोल्डस्टार भन्ने नाममा चाहिँ दम छैन। बरु ‘हिमटेक’ नाम राखेर अलिक बलियो जुत्ता उत्पादन गरे गोल्डस्टार कम्पनी विदेशमा पनि लोकप्रिय हुन सक्छ। वातावरण सहज हुँदा पर्वतारोहणका लागि वर्षेनि हजारौँ पर्यटक नेपाल भित्रिन्छन्। उता नेपाल हिमालयको देश भनेर विश्वमा चिनिएकाले यहाँ ‘ट्रेकिङ सु’ उत्पादन गर्दा निकै फलिफाप हुने देखिन्छ। तर यहाँ उत्पादित जुत्ता बलियो, हल्का र ‘हिँउप्रुफ’हुनुपर्छ। अनि उसले बलिया मोजा पनि उत्पादन गर्नुपर्छ। साथै जुत्ताको नाम पनि हिउँसँग सम्बन्धित हुनु नितान्त जरुरी छ। तसर्थ गोल्ड स्टारले आफ्ना ‘ट्रेकिङ सु’को ‘ब्राण्ड नेम’ राख्नुपर्छ —हिमटेक!’

मैले अलिक लामै संवाद बोलिदिएँ। साथीले झिँझो मानेन।

पुरानो साथी थियो।पुरानो वाइन र पुरानो साथी उस्तै हुन् भन्ने भनाइ पनि त्यहाँ स्मरण भइरहेको थियो।

आखिर ‘टेक्ने’ किस्सा पनि मजेदार नै थियो।

थिएन त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell