PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निर्धक्क लोकबहादुर : ६ जनाको हत्यापछि पनि गाउँमै थिए युट्युबरलाई दिँदै अन्तर्वार्ता



पहिलोपोस्ट

निर्धक्क लोकबहादुर : ६ जनाको हत्यापछि पनि गाउँमै थिए युट्युबरलाई दिँदै अन्तर्वार्ता

काठमाडौं : संखुवासभामा ६ जनाको विभत्स हत्या गरेको अभियोगमा प्रहरीले संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोलागाउँका लोकबहादुर कार्कीलाई समात्यो। घटना भएको पाँच दिनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले अभियुक्त दाबी गरेको लोकबहादुर हत्या भएका परिवारकै खलकका हुन्। उनीहरुको घर नजिकै छ। हत्या गरिएका ५२ वर्षीय छोरा तेजबहादुर कार्कीलाई उनले 'बढा बाउ' भनेर सम्बोधन गर्थे। त्यस्तै उनकी श्रीमती ५२ वर्षकै कमला कार्कीलाई बढी आमा भन्थे भने बाँकीलाई भाउजु र भाइ बहिनी।

बैदेशिक रोजगारीमा विभिन्न देश गएर फर्किएका उनी केही समयदेखि घरमा नै खेती किसानी गर्दै आएका थिए। उनको घरमा बाबु र भाइ सँगै छन्। उनकी आमाको भने केही समयअघि लडेर मृत्यु भएको थियो। सोमवार बिहान करिब साढे ५ बजेतिर लोकबहादुर घर तेजबहादुरको हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। लोकबहादुरका बाबु र भाइ घाँस काट्न निस्किएपछि उनले तेजबहादुर जाँदै गरेको देखेपछि टाउकामा हनेर हत्या गरेको प्रहरीले दावी गरेको छ। त्यसपछि घटना भएको देख्ने अन्य सदस्यहरुको हत्या गरेका थिए पालैपालो।

घटनापछि गाउँमा पुग्ने युट्युबरसँग कुराकानीमा उनले साढे ९ बजेतिर एक जना भाइले भनेपछि मात्रै आफूले लास देखेको बताएका छन्। उनले कुराकानीमा भनेका थिए, ' हामीले केही थाहा पाएनौं। बेलुका ७ बजे सुतेका थियौं। म बिहान सात वा साढे ७ बजे उठेर आगोसागो फुकेर खाना पकाएँ। ड्याडी र भाइ घाँस काट्न जानु'भो। ९ वा साढे ९ बजेतिरको कुरा हो, त्यो भाइले भनेर जाँदाखेरी मैले बढा बाउको लास देखेँ।'

उनले जुन ठाउँबाट लास देखेँ भनेर दाबी गरेका थिए त्यहाँबाट हेर्दा लास भने नदेखिने स्थान भएको थाहा पाएपछि प्रहरीले थप शंकामा उनीमाथि नै अनुसन्धान गरेको थियो।

६ जनाको नजिकैको खोला देखि घरभित्र ४ ठाउँमा शव फेला परेको थियो। सोमबार बिहान करिव १० बजेतिर प्रहरीले जानकारी पाएर घटनास्थल पुगेको थियो।

हत्या गरिसकेपछि पनि लोकबहादुर ढुक्क भएर नै गाउँमा नै बसेका थिए। त्यतिमात्र होइन घटनास्थल पुगेर अन्तर्वाता लिने युट्युवरसँग समेत उनले खुलेर कुराकानी गरेको पाइएको छ। उनले कुराकानीमा आफूलाई घटना आर्थिक पक्षका कारण भएको हुनसक्ने समेत जानकारी दिएको उल्लेख गरेका थिए। त्यति मात्र होइन घटना भएपछि त्रासले राम्रोसँग सुत्न नसकेको समेत बताएका थिए।

प्रहरीले उनीसँग गरेको कुराकानी र उनका अन्य गतिविधिमा पनि शंका लागेपछि सुरुदेखि नै निगरानीमा राखेको थियो। तर, थप सबुत प्रमाण जुट्न नसक्दा पक्राउ गर्न सकेको थिएन।

'ऊ गाउँमा नै थियो। तर हामीले उ कतै जान्छ कि भनेर सर्भिलेन्समा भने राखेका थियौं,' जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले भने।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको अनुसन्धान पछि २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ। प्रहरीको बयानमा उनले रिसिइबीको कारण हत्या गरेको बताएका छन्। आफूलाई तेजबहादुरल हेप्ने गरेकाले रिसले हत्या गरेको बताएका छन्। तर प्रहरीले भने अन्य विविध कारणको हत्या भएको हुनसक्ने भएकाले अझैं कारण खोजिरहेको छ।

लोकबहादुरले तेजबहादुरलाई भदौ १७ गते अन्तिम पटक आफ्नै घरमा आएको बेला देखेको बताएका थिए। प्रहरीको अनुसन्धानमा लोकबहादुरले तेजबहादुरकी बुहारीलाई रातिको समयमा फोन गर्ने गरेपछि तेजबहादुरले पछिल्लो समय हप्काएको समेत पनि खुलेको छ। त्यस्तै आफ्नो आमाको मृत्युमा पनि तेजबहादुरको परिवारलाई संकाको दृष्टिले हेर्ने गरेका थिए। तर, युट्युवरसँगको कुराकानीमा उनले तेजबहादुरलाई गाउँकै मिलनसार मानिस भएको पनि बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell