PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'न्यकू बाजा र गुंला' किताब विमोचन, 'बाखं न्यने वा' को कथा सुनाउने प्रयास



पहिलोपोस्ट

'न्यकू बाजा र गुंला' किताब विमोचन, 'बाखं न्यने वा' को कथा सुनाउने प्रयास
तस्विर : बाखं न्यने वा

काठमाडौं : नेवार समुदायले गुंला पर्वमा बजाउने न्यकू बाजा सम्बन्धी पुस्तक विमोचन गरिएको छ। मरुस्थित पिंगननिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक विमोचन गरेका हुन्।

लोकसमाजमा चलिआएको कथा वाचनको परम्परालाई निरन्तरता दिँदै ती कथाहरुको संकलन गर्ने उद्देश्यले स्थापना भएको बाखं न्यने वाले ‘न्यकू बाजा र गुंला’ किताब प्रकाशन गरेको हो।  

करिब ३ वर्षअघि पिंगननिबाटै ताम्राकार गुंला बाजं खल:का गुरु स्वतन्त्र बहादुर ताम्राकारबाट गुंला पर्वको कथा सुनेर बाखं न्यने वा सुरु भएको थियो। आजसम्म यस संस्थाले काठमाडौं उपत्यका भित्र रहेका कयौं मूर्त अमूर्त सम्पदाका बारेमा कथा सुनाउने काम गरिसकेको छ। साथै कथाको ‘डकुमेन्टेसन’ पनि गरिरहेको छ। त्यसैक्रममा गुंला पर्व र न्यकू बाजासँग सम्बन्धित किताब प्रकाशन गरिएको हो।

न्यकू बाजाको लोक कथा पिंगननिबाटै सकंलन गरिएको हो। स्वतन्त्र ताम्राकारले वाचन गरेको कथालाई बालबालिकाले पढ्न र बुझ्न सहज हुने किसिमले किताबमा प्रस्तुत गरिएको छ। नेपालभाषा र नेपालीमा लेखिएको किताबको शब्द रोनिका श्रेष्ठले लेखेकी हुन्। किताबमा प्रयोग भएका चित्रहरु कृषा ताम्राकारले बनाएकी हुन्।

किताबमा न्यकू बाजाको कथाका साथै गुंला पर्व र गुंला पर्वमा बजाइने अन्य बाजाहरुको परिचय समेटिएको छ। 

पुस्तक विमोचन गर्दै महानगर प्रमुख शाक्यले युवा पुस्ताले लोककथा सुनाउन र बुझाउन चासो देखाएकोमा खुशी व्यक्त गर्दै त्यसमा महानगरको साथ रहने बताए। उनले समाजमा लुकेर रहेका लोककथाहरुलाई बाहिर ल्याउनुपर्ने बेला भइसकेको समेत बताए।आफ्नै संस्कृतिबारे 'रिफ्रेन्स' लिन विदेशी लेखकको किताब पढ्नुपर्ने बाध्यता रहेको भन्दै उनले मूर्त अमूर्त सम्पदाहरुको बारेमा लेख्ने काम सुरु हुनुपर्नेमा उनले जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell