PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

आर्सनलको जारी सिजन पहिलो जित, टोटेनहम क्रिस्टल प्यालेससँग पराजित



पहिलोपोस्ट

आर्सनलको जारी सिजन पहिलो जित, टोटेनहम क्रिस्टल प्यालेससँग पराजित
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा नर्विच सिटीमाथि १-० गोल अन्तरको जित निकालेको आर्सनलले जारी सिजनको चौथो खेलमा आइपुगेर अंक जोडेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन पियरे एम्रिक औबुमेयाङले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै आर्सनलको जितमा नायक बने। जारी सिजन ४ खेल खेलेको आर्सनलको यो पहिलो जित हो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर क्रिस्टल प्यालेससँग पराजित भएको छ। यसअघिका तीन खेलमा लगातार जित निकाल्दै सानदार सिजनको सुरुवात गरेको टोटेनहम क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा जाफेट ताङएङगा रेड कार्ड खाँदै बाहिरिए पछि टोटेनहम दवावमा आएको थियो। प्यालेसका लागि ७६ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै विलफ्राइड जाहाले गोल गरे भने ओडसोन्ने एडुवार्डले ८४ मिनेट र इन्ज्युरी समयमा गोल गरे।

टोटेनहमले ४ खेलबाट ९ अंक जोडेको छ भने क्रिस्टल प्यासलेसले समान खेलबाट ५ अंक जोडेको छ। त्यस्तै आर्सनलले ३ अंक जोड्दा नर्विच सिटी अंकविहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell