काठमाडौं : नेकपा एमालेले आज पनि लगातार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभामुखलाई 'संसदीय मर्यादा' कायम गर्न भन्दै एमाले सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका हुन्।
सभाभुख अग्निप्रसाद सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका १४ जना सांसदलाई गरेको कारवाही कार्यान्वयन नगराएको भन्दै बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आफ्नो माग पूरा गराउन एमालेले दबाब दिँदै आएको छ।
एमालेको अवरोधका आज बसेको पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। दोस्रो बैठकमा पनि अवरोध जारी रहेपछि भदौ २९ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।
यसअघिका दुई बैठक पनि एमाले सांसदहरुले अवरुद्ध गरेका थिए। यद्यपि, सभामुख सापकोटाले अवरोधकै बिच बैठक संचालन गरेका थिए। त्यसैले एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै सभामुखलाई 'संसदीय मर्यादा' कायम गर्न माग गरेका हुन्।
एमाले सांसदहरुले सभामुखलाई लक्षित गर्दै नाराबाजी गरेपछि सापकोटाले पनि संसदीय मर्यादा कायम राख्न नै बैठक संचालनका लागि वातावरण बनाउन आह्वान गरेको बताए।
रोष्टम घेराउ गरिरहेका एमाले सांसदहरुलाई सभामुखले भने, 'मैले संसदीय मर्यादा कायम राख्न तपाईंहरुलाई आग्रह गरिरहेको छु। मैले गरेको आग्रह संसदीय मर्यादा कायम गर्न नै हो। अर्को मेरो कुनै उद्देश्य छैन। सबै मिलेर संसदीय मर्यादा कायम राखौं।'
सभामुख सापकोटाले संवादमा आउन समेत एमालेलाई आग्रह गरेका थिए।
'हामीले धेरै वादविवाद गर्यौं। अब संवाद् गरौं,' सापकोटाले भने।
आजको बैठकमा केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै पेश गरिएको विधेयकबारे छलफल हुनसक्ने बताइएको छ।
