PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गोन्जालोको जेलभित्रै निधनपछिका दृश्य : कतै शोक त कतै खुशीयाली! नेपालमा जारी थियो रिहाईको माग



विधुर ढकाल

गोन्जालोको जेलभित्रै निधनपछिका दृश्य : कतै शोक त कतै खुशीयाली! नेपालमा जारी थियो रिहाईको माग
सन् २०१७ मा गोन्जालो। Photo: Mariana Bazo/Reuters

काठमाडौं : शनिवार काठमाडौंमा एउटा कार्यक्रम भयो- १७ हजार किलोमिटर पर पेरुको लिमामा जेल जीवन बिताइरहेका कम्युनिस्ट नेता अभिमल गुजमनको रिहाइको माग गर्दै। पेरुको क्रान्तिकारी पार्टी साइनिङ पाथका नेता गुजमन ‘गोन्जालो’को रिहाइको मागमा काठमाडौंमा कार्यक्रम आयोजना भएकै दिन उनको निधन पेरुको जेलमा ८६ वर्षको उमेरमा भयो। १९९२ देखि जेल जीवन विताइरहेका उनलाई आजिवन कारावासको सजाय सुनाइएको थियो।

पछिल्लो समय नेपालमा उनको रिहाइका लागि दिनहुँजसो कार्यक्रम भइरहेको थियो जसमा उनको रिहाईको मुद्दा सबैभन्दा चर्को रुपमा उठ्दै आएको थियो। साइनिङ पाथका अध्यक्ष गोन्जालो सहितका नेताहरुलाई रिहाइ गर्न माग गर्दै शनिवार पनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले कार्यक्रम आयोजना गरेको थियो।

नेपालका कम्युनिस्ट पार्टीहरूले गोन्जालोलाई नेपालको कम्युनिस्ट आन्दोलनको प्रेरणा मान्ने गर्छन्। अझ माओवादी पृष्ठभूमिमा रहेका कम्युनिस्ट पार्टीले आदर्श नै मान्छन्।

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले गोल्जाले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएको भन्दै गोन्जालको रिहाइको माग गरेका थिए शनिवार।

‘उहाँ गिरफ्तार हुनु भनेको पेरुको क्रान्तिको लागि मात्रै नभइ विश्वको कम्युष्टि आन्दोलनको लागि अपूरणीय क्षति हो। उहाँको गिरफ्तारपछि विश्व कम्युनिष्ट आन्दोलनको धक्का खाएको अनुभव गरेको छु। उहाँको तत्काल रिहाइ हुनुपर्छ,' उनले भनेका थिए, ' उहाँलाई अमानवीय व्यवहार भइरहेको छ। यसमा सारा विश्वले विरोध गरिरहेको छ। हामीले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु गर्दा धेरै पेरुको कम्युनिष्ट पार्टीको डकुमेण्ट ल्याएर अध्ययन गरेका थियौँ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोन्जालोले करिब ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राखेका थिए कार्यक्रममा।

‘विश्वका मानव जातिको मुक्तिका लागि, क्रान्तिका लागि उहाँ पेरुको जेलमा हुनुहुन्छ। पेरुले तुरुन्त मानवीयताका आधारमा गुन्जलोलाई तुरुन्त रिहा गरोस्, हामी माग गर्दछौँ,’ उनले भनेका थिए। उनको रिहाइको लागि विप्‍लव नेतृत्वको नेकपाले आज आइतवार काठमाडौंमा प्रदर्शन गर्ने तयारीसमेत गरेको थियो।

गोन्जालोलाई संसारभरका क्रान्तिकारी नेताहरुको, सर्वाहार क्रान्तिको हिरोको रुपमा जनवादी गायक जीवन शर्माले सम्झिएका थिए शनिवार।

‘उहाँ अहिले प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि झुक्दै नझुक्ने शिर बोकेर बस्नुभएको छ, बाँचिरहनुभएको छ। कष्टकर जिन्दगी बिताइरहनुभएको छ। उहाँ हामी सबैको प्रेरणाको स्रोत हो। उहाँलाई तत्काल रिहा गरिनुपर्छ,’ शर्माले भनेका थिए। शर्मा क्रान्तिकारी गीत गाउने प्रेरणा गोन्जालोबाटै पाएको बताउँदै आएका छन्।

नेपाली कम्युनिस्ट आन्दोलनका प्रेरकसमेत रहेका गोन्जालोको मृत्यु जेलमै भयो। गत जुलाईमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अगस्टमा पुन जेल सारिएको थियो।

पछिल्लो समय उनको रिहाइका लागि संसारभरका माओवादी संगठनहरुले अभियान चलाएका थिए। ‘डीफेन्ड दी लाइफ अफ चेयरमेन गोन्जालो’ अभियान संसारभर माओवादी संगठनहरुले चलाउँदै आएका हुन्।

सन् १९९२ मा माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन ‘रिम’ले गोन्जालोको जीवनरक्षाका लागि ‘मभु हेभन एण्ड अर्थ टु डिफेन्ड द लाइफ अफ चियमेन गोन्जालो’ अभियान चलाएको थियो।

सोही अभियानलाई पछिल्लो समय पेरुदेखि ब्राजिल हुँदै संसारभरका माओवादी संगठनहरुले चलाएका थिए। भाकपा (माओवादी), नेपालका कम्युनिस्ट घटकहरुले पनि कार्यक्रमको आयोजना गर्दै आएका थिए।

को हुन् गोन्जालो?

अभिमल गुजमान ‘गोन्जालो’ १९३४ सालमा पेरुको दक्षिण तटीय किनारमा रहेको शहर मोलेन्डोमा सम्पन्न परिवारमा जन्मिएका थिए। विश्वविद्यालयमा समेत प्रध्यापन गरेका गुजमानले जर्मन फिलोसोफर इमानुयल कान्टको बारेमा थेसिस गरेका थिए। उनी विश्वविद्यालयमा अध्ययनकै क्रममा मार्क्सवादी चिन्तनबाट प्रेरित भए। सन् १९६२ मा उनले सान क्रस्टोबाल अफ हुवामांगा नेशनल युनिभर्सिटीमा प्राध्यापकको उपाधि पाएका थिए।

सन् १९६५ मा उनी चीनको भ्रमणमा निस्किए। त्यतिबेला उनी कम्युनिस्ट नेता माओ जेदोङबाट प्रभावित भए। चीन भ्रमणबाट फर्किएपछि उनले पेरुमा आफूसँग विचार मिल्ने वौद्धिक जमातहरूसँग कम्युनिस्ट आन्दोलनको विषयमा छलफल गरे।

सन् १९६९ मा गोन्जालो र अन्य ११ जना मिलेर ‘साइनिङ पाथ’को स्थापना गरे। यो नाम पेरुका कम्युनिस्ट नेता जोसे कार्लोस मारियाटेग्युको विचारबाट लिइएको थियो। उनले भनेका थिए - मार्क्सवाद र लेनिनवाद भविषयको उज्यालो बाटो हो।

पूर्व विश्वविद्यालयका प्राध्यापक गुजमानले चिनिया क्रान्ति र माओवादबाट प्रभावित भइ स्थापना गरेको साइनिङ पाथले पेरुमा जनयुद्धको घोषणा गर्दै त्यहाँको ‘बुर्जुवा प्रजातन्त्र’लाई ढालेर कम्युनिस्ट सत्ता स्थापनाको दिशामा अगाडि बढ्यो। यो समूह सुरुवातमा सैन्य संघर्षमा थिएन।

१९८० मा पेरुको सत्ता चलाइरहेको त्यहाँको सैन्य शासकले प्रजातान्त्रिक निर्वाचन घोषणा गर्‍यो। साइनिङ पाथले निर्वाचनको बहिस्कारमात्र गरेन निर्वाचनलाई पूर्ण रुपमा असफल बनाउन मतपेटिका जलाउनेसम्मको काम गर्‍यो।

उसले ग्रामिण इलाकाहरु नियन्त्रणमा लिँदै जनसत्ता स्थापना गर्दै अगाडि बढ्यो। सन् १९८३ मा साइनिङ पाथका नेताको हत्या भएपछि सान्टियागो डे लुसानामार्सामा ६९ स्थानीयलाई साइनिङपाथका कार्यकर्ताहरुले हत्या गरे। अर्को ठूलो आक्रमण १९९२ मा राजधानी लिमामा ट्रक बम विष्फोट हुँदा भयो। त्यहाँ २५ जना मारिएका थिए।

साइनिङ पाथले निर्वाचन बिथोलेपछि पेरुको सैन्य शासकहले संकटकाल लगायो। यो संकटकाल सन् १९९२ मा गोन्जाललाई पक्राउ गर्दासम्म रह्यो।

गोन्जालो राजधानी लिमाको एक अपार्टमेन्टमा लुकेर बस्दै आएका थिए। मार्टिजा गार्रिडो लेकाको अपार्टमेन्टमा लुकिरहेका उनलाई गुप्तचरहरुले पक्राउ गरेका थिए। त्यतिबेला उनी त्यहाँ उपचार गराइरहेका थिए। गोन्जालोलाई उनकी दोस्री पत्नी एलिना अन्य नेताहरुसहित पक्राउ गरिएको थियो। उनी त्यतिबेला टेलिभिजनमा बक्सिङ हेरिरहेका थिए।

अपार्टमेन्टको तल्लो तलामा नृत्य स्टुडियो थियो। माथिल्लो तलमा गोन्जालोसहितका साइनिङ पाथका नेताहरु लुकेका थिए। उनलाई लुकाएको आरोपमा पेरुकी व्यालेट डान्सर मार्टिजा पनि पक्राउ परेकी थिइन्। २५ वर्ष जेल जीवन बिताएर उनी २०१७ मा रिहा भइन्।

१९९२ मा उनको अपार्टमेन्ट साइनिङ पाथको हेडक्वाटर थियो। यस अपार्टमेनटलाई मार्टिजाका प्रेमीले भाडामा लिएका थिए। अपार्मेन्टको तल्लो तल्लालाई उनले डान्स स्कुलमा परिणत गरिन्। दोस्रो तल्लामा गोन्जालोसहितका नेताहरुको हेडक्वाटर थियो।

मार्टिजा र उनका प्रेमीलाई पनि आतंकवादीको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको थियो।

नकाबधारी न्यायाधीशहरुको फैसला

उनलाई पक्राउ पछि अदालतमा उपस्थित गराइयो। तीन दिनको सुनुवाइ पछि नकावधारी न्यायाधीशहरुले उनलाई आजीवन कारवासको सजाय सुनाए। न्यायाधीशहरुले आफ्नो पहिचान छुपाउनका लागि हुडस् लगाएका थिए। उनी पक्राउ पर्नुभन्दा महिना दिन अगाडि मात्र त्यतिबेलाका राष्ट्रपति अल्वेर्टो फुजीमोरीले लागू गरेको नयाँ कानुन अनुसार सजाय सुनाइएको थियो।

त्यतिबेला उनलाई सान लोरेन्जो टापुमा रहेको नेभल बेसमा थुनामा पठाइएको थियो। सन् १९९३ को अक्टोबरमा उनले टेलिभिजन सम्बोधन मार्फत् शान्तिका लागि लड्न कार्यकर्ताहरुलाई आह्वान गरेका थिए। उनको सम्बोधनसँगै ६ हजार साइनिङ पाथका कार्यकर्ताले सरकारी आममाफी कार्यक्रम मार्फत् आत्मसमर्पण गरेका थिए।

उनी पक्राउ परेसँगै साइनिङ पाथका नेताहरु एकपछि अर्को गर्दै पक्राउ परे। सन् २००४ मा गोन्जालोलाई पुन: लामो कानुनी परीक्षणमा पठाइयो। २००६ को अक्टोवरमा पुन: उनीमाथि आतंकवाद र हत्याको अभियोगमा आजीवन कारवासको सजाय सुनाइयो। त्यसयता उनलाई राजधानी लिमाको पूर्वमा रहेको एक नेवल जेलमा एकल कारावासमा राखिएको थियो।

सन २०१८ मा उनलाई लिमा नजिकै भएको कार बम विष्फोटमा दोषी ठहर गर्दै पुन: आजीवन कारवासको सजाय सुनाइयो।

उनले सो बम आक्रमणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएका थिए। सन् १९९२ को पहिलो सात महिनामा लिमामा ३७ वटा कार बम विष्फोट भएका थिए। त्यतिबेला ती विष्फोट तत्कालीन सैन्य शासक फुजिमोरीको पक्षमा समर्थन जुटाउनका लागि गरिएको थियो। ती विष्फोट र नरसंहारका लागि फुजिमिरोलाई २५ वर्षे जेल सजाए सुनाइएको छ।

कुनै समय साइनिङ पाथको आन्दोलन दबाउनका लागि महत्त्वपूर्ण भूमिका रहेका फुजिमिरोलाई राष्ट्रिय हिरोको रुपमा गुणगान गाइन्थ्यो। तर, सन् १९९०-२००० सम्मको शासनकालमा भएको नरसंहारमा दोषी ठहर गर्दै उनलाई कैद सजाय सुनाइएको हो।

केही समय आफ्ना बुवाको जन्म देश जापानमा निर्वासित भएका फुजिमिरो पछि चिलीबाट पक्राउ परेका थिए। त्यहाँबाट उनलाई पेरु सुपुर्दकी गरिएको थियो।

२००९ उनलाई आजीवन कारवास सुनाउँदा फुजिमिरो ७० वर्षका थिए।

जेलभित्र विवाह

गोन्जालोले सन् २०१० मा साइनिङ पाथकी नेतृ एलेनासँग जेलमै दोस्रो विवाह गरेका थिए। उनीहरुले विवाहका लागि जेलमै संघर्ष गरेका थिए। त्यतिबेला उनीहरु जेलमै अनशनसमेत बसे। २०१० मा ७५ वर्षका गुजमान र ६५ वर्षका एलेनाले विवाह गरेका थिए। उनीहरुले २००७ मै विवाहको सोच राखेका थिए। तर, अनुमति दिइएको थिएन। २०१० मा उनीहरुले भोक हड्ताल गरे। राष्ट्रपति एलन ग्रासियाले उनीहरुलाई विवाहको अनुमिति दिँदै विवाहको अधिकारबाट वञ्चित नगराउने भनेका थिए।

मृत्यु पछिको प्रतिक्रिया : क्रान्तिकारीका लागि क्षति, पश्चिमा चाहिँ खुशी

उनको मृत्युलाई लिएर पश्चिमा मिडियाहरुले पेरुका ‘आतंककारी’ तथा ‘नरसंहार’कारी नेताको मृत्युको रुपमा समाचार तथा टिप्पणी सार्वजनिक गरेका छन्। त्यहीँ संसारभरका क्रान्तिकारी पार्टीहरुले उनको मृत्युलाई कम्युनिस्ट आन्दोलको क्षतिका रुपमा व्याख्या गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको टिप्पणी गरेका छन्। ‘वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतीक बनेका कमरेड गोन्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell