काठमाडौं : नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने बताए।
नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसारवाद, व्यक्तिवादमा फस्ने गरेको भन्दै उनले अगाडि भने, 'नेपालका कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्छ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताए।
‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद नामक दस्तावेजलाई विकसित गरेर अघि बढ्नुपर्छ।’