PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

केपी ओलीसँग एकता गरेर के प्राप्त भयो? प्रचण्डको टिप्पणी : ठूलो ज्ञान प्राप्त गरेँ



पहिलोपोस्ट

केपी ओलीसँग एकता गरेर के प्राप्त भयो? प्रचण्डको टिप्पणी : ठूलो ज्ञान प्राप्त गरेँ

काठमाडौं : विश्व कम्युनिस्ट आन्दोलनमा विचार र राजनीतिक, नयाँ वैचारिक राजनीतिक शश्लेषणको समस्या रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्। उनले नेपालको कम्युनिस्ट आन्दोलनले अहिले यही समस्याको सामना गरिरहेको बताए। 

'मलाई सोधियो केपी ओलीसँग एकता गरेर के पाउनु भयो? मैले भने, केपी ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेर आएँ। यो ज्ञान प्राप्त गर्ने सजिलो थिएन,' नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भने, 'यो ज्ञानको प्रयोग गर्नुभयो भने गठबन्धन कायम रहन्छ। ओलीलाई हटाउन सकिन्छ।' 

उनले आन्दोलनको अन्तिमसम्म रहने मन नभएको बताए।

'तपाईँहरु युवा साथीहरु हुनुहुन्छ। हामीलाई लास्टसम्म नेतृत्वमा रहने रहर पनि छैन,' उनले अगाडि भने, 'तर, फेरि यो आन्दोलनलाई बिचमै छाडेर जाने मन पनि छैन। आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने कुरा सोच्नु कुर्सी छाड्न नचाहेको भन्ने त होइन नि?'

उनले आन्दोलनलाई अगाडि बढाउने क्रममा आफू एक्लो पो हुने हो कि भन्ने चिन्तासमेत रहेको बताए। 

विदेशीसँग लम्पसार पर्ने प्रवृत्ति हावी भयो : माधव नेपाल

नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। 

पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनमा देखा परेका विकृति र विसंगति चिर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने बताए। 

नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसारवाद, व्यक्तिवादमा फस्ने गरेको भन्दै उनले अगाडि भने, 'नेपालका कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्छ।’

कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताए। 

‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद नामक दस्तावेजलाई विकसित गरेर अघि बढ्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell