PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता भएसँगै राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावेदारी



निशा गुरुङ

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता भएसँगै राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावेदारी

हेटौंडा : नेकपा एकीकृत समाजवादीले पार्टीको औपचारिकता पाएपछि आज बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको छ।

प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आज बसेको बैठकले धादिङ जिल्ला प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ बाट प्रतिधित्व गर्ने पाण्डेलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो।

संसदीय दलको पहिलो बैठकमा एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदको उपस्थिति थियो। 

आज बसेको बैठकले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पार्टीको समर्थन नभएको निर्णय पनि गरेको नेकपा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेले जानकारी दिए। 

दलका नेता पाण्डेले वाग्मती प्रदेश सरकारको नेतृत्व आफुले नै गर्ने दाबी समेत गरेका छन्। उनले ७ वटा प्रदेशमध्ये जनता समाजवादी दलको एक मुख्यमन्त्री भएको र ६ वटा प्रदेशमा ३ वटा पार्टीले दुई/दुई वटा भाग लगाएको स्थितिमा वाग्मतीमा आफ्नो दावेदारी पेश गरे। 

गण्डकीमा कांग्रेस र कर्णाली प्रदेशमा पनि माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय भएको हुँदा वाग्मती प्रदेश र १ नम्बर प्रदेशमा नेकपा (एस) लाई दिने केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुको समझदारी भएको पाण्डेले बताए। 

पाण्डेले वाग्मती प्रदेशमा नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँको दाबी रहे पनि आफू नै मुख्यमन्त्री हुने बताए। 

‘उहाँले चाहना गर्नुभएको हुनसक्छ । तर, पार्टीको निर्णय अनुसार अगाडि बढ्ने कुरा भएको हुँदा वाग्मती प्रदेश सरकारको नेतृत्व पनि पार्टीले नै निर्णय गर्नेछ,’ उनले भने । 

आज निर्वाचन आयोगबाट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावलीसहितको पत्र वाग्मती प्रदेशसभा सचिवालयमा प्राप्त भई दर्ता भएपछि उक्त बैठक बसेको हो।

वाग्मती प्रदेशसभामा निर्वाचन आयोगले समाजवादीलाई आधिकारिता दिएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या पनि ८ पुगेको हो।

वाग्मती प्रदेशसभामा एमाले ४३ सांसद्का साथ पहिलो, २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसद्का साथ नेपाली कांग्रेस तेस्रो, १३ सांसद् सहितको नेकपा एकीकृत समाजवादी चौथो, ३ सांसद् भएको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद् रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौं र सातौं स्थानमा छन्। प्रदेशसभामा एक जना सांसद स्वतन्त्र हैसियतमा छन्।

प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १३ जना सांसदले पनि आधिकारिकता पाएका छन्।

एमाले परित्याग गरी एकीकृत समाजवादीमा सनाखत गरेका राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रमा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell