PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुटवल र सैनामैनामा शून्य फोहोर अवधारणा : जैविक मल र बायो-ग्यासको प्रशोधन केन्द्र बनाउने तयारी



पूजा पन्थी

बुटवल र सैनामैनामा शून्य फोहोर अवधारणा : जैविक मल र बायो-ग्यासको प्रशोधन केन्द्र बनाउने तयारी

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले यस क्षेत्रमा उत्सर्जन हुने फोहोरलाई नयाँ ढंगमा बदल्ने तयारी गरेका छन्। खासगरी बुटवल-सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो नमुना कामको थालनी भएको छ। अबको केही महिनामै यो काम शुरु हुने तयारी छ।

यी दुई नगरको तयारी छिमेकका अरु पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ। केन्द्रमा फोहोरको प्रकृत्ति अलग-अलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायो-ग्यास निकाल्नेलगायतका प्लान्ट जडान गरिनेछन्। यस्का लागि जग्गाको व्यवस्था भइसकेको छ।

उक्त जग्गामा प्राविधिकहरु, वातावरणविद्हरु लगेर अध्ययन गराउनेदेखि वैकल्पिक उर्जा र जैविक मलका जानकारहरुसँग कैयौँ पटक विषय केन्द्रित छलफल भएका छन्। वातावरणीय प्रभाव मूल्यांकन समेत गराएर थप प्राविधिक अध्ययनपछि प्लान्ट निर्माण गर्ने तयारी छ।

काम शुरु नहुँदै विरोध हुने र कुरै नबुझी विरोधका लागि विरोध गर्ने, भड्काउने प्रवृत्ति छ। यसले तयारी भइरहेका कैयन योजनामा अवरोध सिर्जना हुने गरेका छन्।

अहिलेको यो योजना बस्तीभन्दा टाढा र उपयुक्त स्थानमा रहेको बताइएको छ। झण्डै १६ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना शुरु भएपनि विरोध मात्रै गरिरहने प्रवृत्तिका कारणले पूरा हुन नसकिरहेका बेलामा यी नगरले यसपटक भने प्रभावकारी र योजनाबद्ध कामको थालनी गरेका छन्। अहिले जनप्रतिनिधि निर्वाचित भएपछि आवधिक र दीर्घकालीन महत्वका योजना बनाएपछि फोहोर व्यवस्थापनको काम प्राथमिकतामा परेको हो।

बुटवलसहित अरु छिमेकका पालिकामा उत्पादन हुने सड्ने र नसड्ने फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि प्रभावकारी पहल जरुरी रहेकाले विज्ञहरुसहित अध्ययन गरिरहेको बुटवलका नगरप्रमुख शिवराज सुवेदीले बताए। उनले लगानीका लागि सार्वजनिक, निजी र सहकारीको माध्यम अपनाउन सकिने गरी छलफल जारी रहेको पनि उल्लेख गरे।

प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदाता सहितको विशेष टोलीले विस्तृत अध्ययन गरेको थियो। विज्ञहरुसहित पालिकाबीचमा पनि छलफल चलिरहेको र तयारी अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।

अब घरबाटै फोहोरलाई वर्गीकरण गराइने र त्यसका लागि समुदायस्तरमा सचेतनाका समेत कार्यक्रम गरिने छ। केन्द्रमा जैविक फोहोरबाट जैविक मल देखि बायो-ग्यास निकाल्नेसम्मको प्रविधि जडान गर्नेबारेमा अध्ययन भइरहेको सैनामैना नगरपालिकाका प्रमुख कार्कीको भनाइ छ।

यसका बारेमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा विभिन्न चरणका छलफलहरु भएका छन्। त्यस्ता छलफलमा वैकल्पिक उर्जाका जानकार, विषयविज्ञहरु र अन्य क्षेत्रका विज्ञहरुसमेत दुवै पालिकाका जनप्रतिनिधि र अधिकारी सहभागी हुँदै आएका छन्।

प्रशोधन केन्द्र सञ्चालनमा आएका अरु क्षेत्रको अवस्था र यहाँको सम्भावनालाई समेत तुलना गरेर छलफल तथा अध्ययन गरी काम अगाडि बढाइएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए। कुहिने तथा नकुहिने फोहर छुट्याउने, सुरक्षित ढुवानी गर्ने र त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्राङ्गारिक मल बनाउने बारेमा समुदायस्तरमा पनि सचेतनाका कार्यक्रम गरिने प्रवक्ता रेग्मीको भनाइ छ।

वातावरण तथा पर्यावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका वातावरण विज्ञ चक्रपाणी शर्माले अब फोहोरको प्रकृत्ति छुट्टाएर जैविक मल उत्पादन गर्ने तथा बायो-ग्यास निकाल्ने कामको विकल्प नरहेको बताउछन्।

प्राङ्गारिक मलसमेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले स्वस्थ र अर्गानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए। तराईका सहरमा जनघनत्वसँगै बढेको फोहोर व्यवस्थापनको पेचिलो विषय समाधान नहुँदा अनेकौँ समस्या उत्पन्न भएको उल्लेख गर्दै पन्थीले फोहोरको दीर्घकालीन व्यवस्थापनमा पालिकाहरुको सहकार्यलाई प्रभावकारी बनाइने बताए।

बुटवल उपमहानगरका १९ वटै वडाहरुलाई समेट्ने गरी प्रभावकारी व्यवस्थापनको खाँचो छ। यसअघि कैयौँ वर्षदेखि कुरा भएपनि सार्थकता पाउन सकिरहेको छैन। एसीयाली विकास बैंक (एडीबी) को सहयोगमा व्यवस्थापनको पहल भयो तर अगाडि बढ्न सकेन।

यहाँ दैनिक ५३ टन फोहर संकलन हुने गरेको छ। यो बढ्दो क्रममा छ। यसरी संकलन हुने फोहर एडीबीको सहयोगमा दैनिक ८३ टन फोहर प्रशोधन गर्ने योजना थियो। त्यसका लागि बुटवल ७ मा रहेको शिवनगर सामुदायिक बनको करिब ५ हेक्टर जमिन छनोट गरिएको थियो।

३७ करोड रुपैयाँ लगानी हुने प्रशोधन केन्द्रको निर्माण सन् २०१० मा शुरु भएर सन् २०१५ को डिसेम्बरमा सकिनुपर्ने सम्झौता थियो। शुरुमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पारित नहुँदा लम्बिएको थियो।

ईआईए अनुसार उपमहानगरपालिकाले वनको सट्टा पाल्पाको साबिक तेल्घा गाविसमा ९५ रोपनी किनेर संरक्षण गरी वृक्षरोपण गरेको छ। त्यहाँ अहिले हरियो जंगल बनिसकेको छ।

त्यसपछि सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी-पप्पु जेभीसँग २८ करोड ९५ लाख ६६ हजार रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो। फिल्ड स्तरको काम शुरु गर्न लाग्दा आफ्नो नजिकमा प्रशोधन केन्द्र राख्न नदिने भन्दै छिमेकी देवदह नगरपालिकाको चरंगेका स्थानीय बासिन्दा विरोधमा उत्रिए।

दुवै स्थानीय तह बसेर सम्झाउँदा पनि स्थानीयका नाममा विरोध भइरह्यो। आयोजना अगाडि बढेन। अहिले जनप्रतिनिधि चुनिएपछि अब वैकल्पिक क्षेत्रको खोजी गर्दै दीर्घकालीन व्यवस्थापनको काम शुरु भएको छ।

कति संकलन हुन्छ फोहोर?

बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रुपमा संकलन हुँदै आएको छ। जुन फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको फोहोरको व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका बुटवलका उद्यमी तथा लामो समयदेखि फोहोर व्यवस्थापनमा खटिदै आएका बलभद्र पुरीको भनाइ छ।

३० प्रतिशत नकुहिने तथा पुनः प्रशोधन गर्न मिल्ने खालको फोहोरलाई पनि घरैदेखि प्रकृत्ति छुट्टाउन सकियो भने पुन: प्रयोग गर्न सकिने पुरी बताउछन्। प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाहरुले सबै फोहर एकै ठाउँमा फाल्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell