PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा गोलविहीन बन्न पुगे।

खेलको शुरुमा बंगलादेशले दबाब बनाउँदै राम्रो खल प्रस्तुत गरेको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडी गोल गर्नबाट चुके।

१९ औँ मिनेटमा अमृता जैसीले उत्कृष्ट प्रहार गरे पनि बंगलादेशी गोलकिपर रुपना चक्माको उत्कृष्ट बचाउले गोलमा परिणत भएन। २० औँ मिनेटमा सरु लिम्बुले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरियो। यता, बंगलादेशकी श्रीमोती सरकारले ३१ औँ मिनेटमा गरेको कडा प्रहार पोस्टमा ठोकिएर बाहिरियो।

दोस्रो हाफको शुरुबाटै आक्रमण बढाउन खोजे पनि फिनिसिङमा दुवै पक्ष कमजोर देखिए। ८१ औँ मिनेटमा प्रीति राइले गरेको प्रहार आकाशियो।

९१ औँ मिनेटमा मोस्साम्मत अखि खातुनले काउन्टरमा राम्रो अवसर बनाएको भए पनि नेपालकी कप्तान रेनुका उपरकोटीले उनलाई सफल हुन दिइनन्। ९४ औँ मिनेटमा सरु लिम्बुको प्रहार सिधै गोलकिपरको हातमा पुगेको थियो।

यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई नेपालले २-१ गोलअन्तरले हराएको थियो। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुवै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell