PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नेपालसँगको सिरिजपछि बंगलादेशी प्रशिक्षकको प्रतिकृया : मेरा खेलाडी शक्तिशाली टिमसँग डटेर खेले



पहिलोपोस्ट

नेपालसँगको सिरिजपछि बंगलादेशी प्रशिक्षकको प्रतिकृया : मेरा खेलाडी शक्तिशाली टिमसँग डटेर खेले

काठमाडौं : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सिरिज आज सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो खेल गोलरहित बराबरीमा रोकिएसँगै दुई खेलको मैत्रीपूर्ण सिरिज सकिएको हो। सिरिजको पहिलो खेल नेपालले २-१ गोलअन्तरले आफ्नो पक्षमा पारेको थियो।

आज नेपालसँगको दोस्रो खेल बराबरीमा रोकिएपछि बंगलादेशी खेलाडीहरु मैदान सेलिब्रेसनको मुडमा देखिन्थे भने प्रशिक्षक गोलम रोब्बानी छोटोन पनि खुशी देखिन्थे।

‘मेरा खेलाडीलाई धन्यवाद दिन चाहन्छु, उनीहरु नेपाल जस्तो दक्षिण एसियाको शक्तिशाली टिमसँग ९० मिनेटसम्म हाइ इन्टेन्सिटीमा खेल्न सके’, खेलपछि बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘एन्फालाई यो अवसरका लागि धन्यवाद। यो सिरिजले एएफसी क्वालिफायर्सका लागि आत्मविश्वास बढाएको छ।’

उनले अगाडि भने : मैले सिरिज अघि नै भनेको थिएँ नेपालसँगको खेल टफ हुनेछ। धेरै समयपछि खेलेर पनि हाम्रा खेलाडीले राम्रो खेले।

त्यस्तै, नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी क्वालिफायर्सका लागि राम्रो तयारी भएको बताए।

‘आज राम्रो हुन सकेन। यसमा मेरो सायद गल्ती छ। मैले फर्म्याट फेरेको थिएँ। हामी खेललाई आफ्नो नियन्त्रणमा राख्न सक्षम भएनौं’, दोस्रो खेलपछि फिलिप्सले भने, ‘पहिलो खेलमा हामीले मौकाहरु बनाएका थियौँ तर त्यसलाई सदुपयोग गर्न सकेनौं। दोस्रो खेलमा हामीले मौका बनाउन सकेनौँ तर डिफेन्स र बल कन्ट्रोल राम्रो गर्‍यौं।’

त्यस्तै, नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले खेल ठीकै भए पनि टीममा नयाँ कम्बिनेसन भएकाले उत्कृष्ट प्रदर्शन गर्न नसकेको प्रतिकृया दिइन्।

‘आजको खेल ठीकै भयो। सोचेजस्तो भएन। अस्ति जस्तो कमी कमजोरीहरु त भएनन् तर स्कोरिङमा चुक्यौं। यो म्याचबाट धेरै कुरा सिक्ने अवसर पायौं’, कप्तान नगरकोटीले भनिन्, ‘कोच नयाँ हुनुहुन्छ। हामीलाई टिप्न पनि समय लागिरहेको छ। एएफसी क्वालिफायर्ससम्ममा सायद हामी टिप्न सक्छौं होला। एक्कासी धेरै नयाँ खेलाडी सहितको टिम बन्दा कम्बिनेसन मिल्न कठिन भएको छ।’

खेलमा नेपाली खेलाडीको फिटनेस बिग्रिएको जस्तो देखिएको थियो नि भन्ने प्रश्नमा प्रशिक्षक फिलिप्सले लामो समय महिलाको लिग नभएकाले यस्तो देखिएको प्रतिकृया दिए।

उनले अगाडि भने : फिटनेस दिन प्रतिदिन सुधार भइरहेको छ।

के भएको थियो आजको खेलमा?

आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।

खेलको शुरुमा बंगलादेशले दबाब बनाएको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडीले मौकाको सदुपयोग गर्न सकेनन्।

१९ औँ मिनेटमा अमृता जैसीले उत्कृष्ट प्रहार गरे पनि बंगलादेशी गोलकिपर रुपना चक्माले उत्कृष्ट बचाउ गरिन्। २० औँ मिनेटमा सरु लिम्बुले पोस्ट नजिकैबाट गरेको प्रहार बाहिरिएको थियो। त्यस्तै, श्रीमोती सरकारले ३१ औँ मिनेटमा गरेको कडा प्रहार पोस्टमा ठोकिएर बाहिरिएको थियो।

दोस्रो हाफको शुरुबाटै आक्रमण बढाउन खोजे पनि फिनिसिङमा दुवै पक्ष कमजोर देखिए। ८१ औँ मिनेटमा प्रीति राइले गरेको प्रहार आकाशिएको थियो।

९१ औँ मिनेटमा मोस्साम्मत अखि खातुनले काउन्टरमा राम्रो अवसर बनाएको भए पनि नेपालकी कप्तान रेनुका उपरकोटीले उनलाई सफल हुन दिइनन्। ९४ औँ मिनेटमा सरु लिम्बुको प्रहार सिधै गोलकिपरको हातमा पुगेको थियो।

के भएको थियो पहिलो खेलमा?

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले हराएको हो।

सुरुवातमा बंगलादेश आक्रमक देखिएको थियो। यद्यपि, खेलको १४ औँ मिनेटमा सविता राना मगरले अग्रता दिलाएसँगै नेपालले लय समात्यो।

२२ औँ मिनेटमा सरू लिम्बुको पासमा प्रीति राईले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको २८ औँ र ३६ औँ मिनेटमा पनि प्रीतिले राम्रो अवसर बनाए पनि फिनिसिङमा चुकिन्।

३० औँ मिनेटमा बिमला चौधरीले राम्रो अवसर बनाएकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी मोसामत अलि खातुनले राम्रो क्रस गर्दै अवसर बनाए पनि नेपाली डिफेन्डरले क्लियर गरिदिएका थिए। पहिलो हाफमा नेपालले २ गोलले अग्रता लिएको थियो।

दोस्रो हाफमा शुरुबाटै बंगलादेशले गोल फर्काउने प्रयास गरेको थियो। ५१ औँ मिनेटमा सरु लिम्बुको पासमा प्रीती राइले गोल पोस्टमा राम्रो प्रहार गरेपनि बंगलादेशी गोलकिपर रुपना चकमाले उत्कृष्ट बचाउ गरेकी थिइन्।

७९ औँ मिनेटमा बंगलादेशकी श्रिमोटी सरकारले गरेको प्रहार गोलकिपर एन्जेला तोम्बाफोले बचाए पनि ८३ औँ मिनेटमा टोहुरा खातुनले गोल फर्काइन्। खेलको अन्तिम समयमा बंगलादेशले खेलमा दबाब बनाएको थियो। अतिरिक्त समयमा पनि बंगलादेशले राम्रा अवसरहरू बनाएको थियो।

दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell