PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

जो सबैभन्दा नजिक, उसैबाट ज्यानमा जोखिम : बढ्दो हत्या श्रृङ्खलामा परिवारकै संलग्नता



सविन ढकाल

जो सबैभन्दा नजिक, उसैबाट ज्यानमा जोखिम : बढ्दो हत्या श्रृङ्खलामा परिवारकै संलग्नता

काठमाडौं : 'यिनीहरुको परिवार कमजोर छ रेखदेख गर्नु है,' मर्ने बेलामा लोकबहादुरका हजुरबाले तेजबहादुरलाई भनेका थिए। त्यसैले, लोकबहादुर र उनको परिवारलाई सरसल्लाहदेखि काम बिगार्दासम्म हेप्कीदप्की समेत गर्थे तेजबहादुर। जे चलिरहेको थियो, सामान्य नै लाग्थ्यो सबैलाई।

जब संखुवासभा मादी नगरपालिकामा बस्दै आएका तेजबहादुरका परिवारको ६ जनाको हत्या भयो त्यसपछि यस्ता कुराहरु बाहिर आउन थाले। शुक्रवार प्रहरीले लोकबहादुरलाई नातामा काका पर्नेको परिवारका ६ जनाको हत्या अभियोगमा प्रहरीले पक्राउ गर्‍यो।

आइतवार प्रहरीले पत्रकार सम्मेलन गरेर अभियुक्तका रुपमा लोकबहादुरलाई सार्वजनिक गर्‍यो। आखिर नरसंहार अरु कसैबाट भएको थिएन, नजिककैबाट भएको तथ्य प्रहरीले अगाडि सार्‍यो। बारम्बार आफूलाई हेप्ने गरेको र त्यसकै आवेगमा सबैको हत्या गरेको लोकबहादुरले बयान दिएको प्रहरीको दाबी छ।

प्रहरीले उदृत गरेको उनको बयानले परिवार र आफन्तबाट सबैभन्दा धेरै सुरक्षित महशुस गरेको हुन्छ भन्ने विश्वासलाई भत्काएको छ। परिवारभित्रको आन्तरिक कुरा त्यहीभित्रका सदस्यलाई मात्र थाहा हुन्छ। पछिल्लो समय यस्ता विभत्स घटनामा आफन्त, परिवार र चिनेजानेका व्यक्ति नै संलग्न हुने श्रृङ्खला बढिरहेको छ। अर्थात्, सबैभन्दा सुरक्षित हुनुपर्नेबाटै असुरक्षित।

आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि चैत महिनासम्मको प्रहरीको तथ्याङ्क हेर्ने हो भने संखुवासभामा जस्तै भतिजबाट काका, काकी र आफन्त गरेर ७ जनाको हत्या भइसकेको देखिन्छ। सोही अवधिमा अन्य आफन्तबाट १ सय ९८ जना मानिस मारिए। प्रत्येक वर्ष आफन्त र चिनेजानेका मानिसबाट हत्या हुने सङ्ख्याको ग्राफ माथितिर लागिरहेको छ। हत्यामात्र होइन, बलत्कारदेखि अन्य जघन्य अपराधिक गतिविधिमा आफन्त नै जोडिन थालेका छन्।

र, प्रत्येक वर्ष आफन्तबाट हुने हत्याको दर लगातार बढ्दै गएको छ। पछिल्ला वर्षहरुमा देशभर भएका हत्याका घटना मध्ये ३० प्रतिशतभन्दा बढीमा आफन्तकै संलग्नता देखिएको प्रहरीको तथ्याङ्क बोल्छ। आर्थिक वर्ष २०७४/७५ मा देशभर ६ सय २८ जनाको हत्या भयो जसमा २ सय ६ आफन्तबाटै मारिए। हत्या भएका घटनामध्ये ३२ प्रतिशत भन्दा बढी मानिसको आफन्तबाटै सकिए।

आर्थिक वर्ष २०७५/७६ मा आफन्तबाट मारिने मानिसको सङ्ख्या अझ बढ्यो। देशभर विभिन्न घटनामा  ६ सय ५९ जना मानिस मारिए त्यस वर्ष। जसमा १ सय ९९ जना मानिसले आफन्तबाट नै ज्यान गुमाउनु पर्‍यो। आर्थिक वर्ष २०७६/७७ मा ५ सय ५५ जनाको हत्या हुँदा १ सय ९० जनाको आफन्तले नै हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

+++

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठ प्रहरी थुनामा छन्। काठमाडौं बस्दै आएका उनले साउन २७ गते प्रहरीलाई फोन गरेर आफैँले श्रीमतीको हत्या गरेको जानकारी दिए। गौशालाको प्रहरी टोली गुहेश्वरीस्थित श्रेष्ठको कोठामा पुगेर हेर्दा २३ वर्षीय श्रीमती रन्जु तामाङ खाटमा मृत भेटिइन्। उनको गर्भमा पाँच महिनाको बच्चा समेत भएको खुल्यो। प्रहरीसँगको बयानमा श्रेष्ठले श्रीमतीसँग विवाद हुँदा हत्या गरेको स्वीकारेका थिए। उनीहरू बिच केही समयदेखि विवाद भएको प्रहरीको अनुसन्धानमा खुल्यो।

पछिल्लो समय यसरी श्रीमानबाट श्रीमतीको हत्या हुने सङ्ख्या पनि उकालो लाग्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। साउनदेखि चैत महिनासम्म १ सय ९८ जना आफन्तबाट मारिँदा ८५ जना श्रीमानले आफ्नै पत्नीको हत्या गरे। यो संख्या ४२ प्रतिशत भन्दा बढी हो। सँगै जिउने सँगै मर्ने बाचा गरेका जोडी नै एकअर्काका लागि मृत्युको कारण बन्नु आफैँमा डरलाग्दो विषय हो जुन हरेक वर्ष बढ्दो क्रममा देखिएको छ।

प्रत्येक वर्ष श्रीमानबाट श्रीमती मारिने सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाउँछ। आर्थिक वर्ष २०७३/७४ मा ६७ जना श्रीमतीको श्रीमानले हत्या गरेको देखिएको छ। आर्थिक वर्ष २०७४/७५ यो सङ्ख्या बढेर ८३ पुगेको छ। आर्थिक वर्ष २०७५/७६ मा यो सङ्ख्या झनै बढेर ८९ पुग्यो। २०७६/७७ मा भने यो सङ्ख्या घटेर ७० मा आएको थियो। २०७७ को पछिल्लो अवधि कोभिड १९ का कारण प्रभावित थियो जुन अवधिमा समग्र अपराध श्रृङ्खलामा नै कमी आएको  थियो।

श्रीमानबाट मात्र होइन श्रीमतीबाट श्रीमान मारिएका घटनाहरु पनि छन्। श्रीमतीहरुले आफैँले हत्या कम गरे पनि त्यसका लागि मानिस भाडामा लिने गरेको पाइन्छ। हत्याको 'सुपारी' दिएर श्रीमान् मारिएका उदाहरणहरु पनि भेटिएका छन्। प्रेमीसँग मिलेर श्रीमानको हत्या गरिएका घटनाहरु पनि सतहमा आए। तर, यस्तो हत्याको सङ्ख्या श्रीमानले श्रीमतीको हत्या गरेको तुलनामा निक्कै कम देखिन्छ। आर्थिक वर्ष २०७७/७८ को साउन देखि चैतसम्म १७ जना श्रीमतीले श्रीमानको हत्या गरेको देखिएको छ। जबकि सोही समयमा ७० जना श्रीमतीको हत्या भएको छ।

आर्थिक वर्ष २०७४/७५ श्रीमतीले १६ जना श्रीमानको हत्या गरेका छिन। यस समयमा श्रीमानबाट ८३ जना श्रीमती मारिएका थिए। आर्थिक वर्ष २०७५/७६ मा श्रीमतीले १५ जना श्रीमानको हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७६/७७ मा १७ जना श्रीमान् श्रीमतीको हातबाट मारिएका छन्।

यस्ता हत्याको कारणमा आर्थिक, विवाद र बिहेइतर सम्बन्ध नै जोडिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवर बताउँछन्।

'पछिल्लो समय परिवारभित्र भएका हत्याका घटना आर्थिक, सम्बन्ध, आवेगको कारण नै भएको देखिएको छ,' एसएसपी कुँवरले भने।

+++

परिवारभित्र हुने हत्यामा श्रीमान् श्रीमतीमात्र होइन, बाबुआमाले छोराछोरी, छोराछोरीले बाबुआमा, दाजुले भाइ, भाइले दाजु, ज्वाइँले सासुससुरा, छोरी ज्वाइले ससुराको हत्या गरेका केसहरु पनि उत्तिकै छन्। छोराले बाबुआमाकै हत्या गर्ने सङ्ख्या पनि धेरै देखिएको छ। हरेक वर्ष औसतमा १५ जना भन्दा बढी आमाबुबा छोराबाट मारिने गरेका छन्।

२०७७ भदौमा झापामा एक छोराले आफ्नै आमाको हत्या गरेका थिए। राति करिब ८ बजे कमल गाउँपालिका वडा नम्बर ७ ठूलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेका थिए। राति मदिरा सेवन गरे विवाद हँदा ५० वर्षीय मीरा ऋषिदेवलाई बन्चरो प्रहार गरेका थिए।

आथिक वर्ष २०७४/७५ छोराबाट १९ जना बाबुआमा आफ्नै सन्तानबाट मारिएका थिए। यही समयमा आमाबाबुबाट ८ जना छोराछोरी मारिए। यसमा आमाले नवजात शिशुको हत्या गर्ने सङ्ख्या भने डरलाग्दो छ। यस अवधिमा आमाले १६ जना नवजात शिशुको हत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७५/७६ मा छोराले १४ जना आमाबुबाको हत्या गरेको देखिन्छ। जसमा सोही अवधिमा बाबुआमाले ९ जना छोराछोरीको हत्या गरेको छन्। आर्थिक वर्ष २०७६/७७ मा छोराले २६ जना आमाबाबुको हत्या गरेको देखिन्छ। त्यही अवधिमा आमाबाबुले ६ जना छोराछोरीको हत्या गरेका छन्।

दुई वा दुईभन्दा धेरै मानिसका हत्याका घटनामा सबैभन्दा धेरै आफन्त र चिनेजानेका व्यक्तिहरुकै संलग्नता हुने गरेको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। उनको बुझाइमा यस्ता घटना आवेग, आर्थिक, सम्बन्धको कारणले नै हुने गरेको छ।

प्रत्येक वर्ष मामाले भान्जाको, देवरले भाउजुको, काकाकाकीले भतिजको, भतिजले काकाकीको हत्या गर्ने सङ्ख्या पनि देखिन्छ जसले नेपाली समाजमा हत्या सामान्य बन्दै गरेको देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell