PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लिग २: अमेरिकामाथि नेपालको त्यो कीर्तिमानी जित



पहिलोपोस्ट

लिग २: अमेरिकामाथि नेपालको त्यो कीर्तिमानी जित

विश्वकप लिग २ अन्तर्गत आज त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। ओमनस्थित अल अमेरत स्टेडियममा आज दिउँसो सवा ४ बजे दुई टोली आमनेसामने हुँदैछन्।

नेपाल र अमेरिका आज प्रतिस्पर्धामा उत्रन लागिरहँदा यसअघिको भेटमा नेपालले हात पारेको कीर्तिमानी जितलाई स्मरण गर्नपर्ने हुन्छ। २०७६ माघ २९ गते कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकामाथि ८ विकेटको कीर्तिमानी जित निकालेको थियो।

उक्त खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिका ३५ रनमा समेटिएको थियो। अमेरिकाका लागि जेभियर मार्सलले सर्वाधिक १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत बनाउन सकेका थिएनन्। चार जना खेलाडी शुन्य रनमै आउट भएका थिए भने २ जनाले १/१ रन, तीन जनाले ४/४ रन र एक जनाले दुई रन बनाएका थिए।

अमेरिकालाई सानो योगफलमा समेट्न सन्दीप लामिछाने र शुसन भारीले उत्कृष्ट बलिङ गरेका थिए। सन्दीपले ६ ओभरमा १६ रन दिँदै ६ विकेट लिएका थिए। त्यस्तै शुसन भारीले ३ ओभरमा ५ रन दिएर ४ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै ३६ रनको लक्ष्य पुरा गरेको थियो।

उक्त खेलमा नेपालले १२ ओभरमा नै अमेरिकालाई ३५ रनमा रोकेपछि अमेरिकाले १६ वर्ष अगाडी बनेको रेकर्डको बराबरी गर्‍यो। सन् २००४ अप्रिल २५ मा हरारेमा भएको एकदिवसीय खेलमा श्रीलंकाले जिम्बाबवेलाई ३५ रनमा नै रोक्न सफल भएको थियो। १८ ओभरको चलेको खेलमा बनेको उक्त रन हालसम्मकै सानो योगफल थियो। यस्तै, अमेरिकालाई १२ ओभरमा मात्रै ३५ रनमा रोक्दा नेपालले एक दिवसीय क्रिकेटमा विपक्षी टोलीमाथि सबैभन्दा कम ओभर बलिङ गरेको थियो। सन् २०१७, २६ फेब्रुअरीमा अफगानिस्तानले जिम्बाब्वेविरुद्ध सबै न्दा कम ओभर बलिङ गरेको थियो। अफगानिस्तानले १३.५ ओभर बलिङ गर्दै जिम्बाबवेलाई ५४ रनमा नै रोक्न सफल भएको थियो।

उक्त सिरिजमा नेपालले ओमन विरुद्धको दुई खेलमा पराजय ब्यहोरेको थियो भने अमेरिकाविरुद्धको दुबै खेल जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell