PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कमला घिमिरेको गीतमा मौरीपालक महासंघको आपत्ति : गीत बन्द गर्न माग, 'पागल तथा बहुलठीपन प्रयोग'



पहिलोपोस्ट

कमला घिमिरेको गीतमा मौरीपालक महासंघको आपत्ति : गीत बन्द गर्न माग, 'पागल तथा बहुलठीपन प्रयोग'

काठमाडौं : नेपाल मौरीपालक महासंघले कमला घिमिरेको ‘हान्छु तिम्लाई लौरी’ ले बोलको गीतमा प्रयोग भएको ‘तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति जनाइएको छ। शुभारम्भ डिजिटल म्यूजिकले असार १८ गते युट्युबबाट सार्वजनिक गरेको तीज गीतमा उक्त शब्द प्रयोग गरिएको छ।  
    
मौरीपालक महासंघले गीत सार्वजनिक भएको झन्डै साढे दुई महिनापछि आइतवार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको दाबी गरेको हो। महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको तर्क गरेका छन्।

'मौरीले तोरी खायो भन्ने गीत बनाई प्रकाशनमा ल्याइएको एल्बमप्रति नेपाल मौरीपालक महासंघलाई दुखी तुल्लाएको छ भने कृषकहरूलाई आक्रोषित जनाएको छ,' शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै तोरी खेती गर्ने कृषकहरूलाई अन्योल सृजना बनाएको छ।'

गीतमा पागल तथा बहुलठीपन प्रयोग भएकोले गीत बन्द गर्नसमेत महासंघले माग गरेको छ। 'वैज्ञानिक तत्थहरू र अरूको अधिकार प्रति पूर्ण खेलवाड गर्दै आफ्नो अधिकार उपयोग गर्ने नाउँमा भ्रामक साथै पागल बहुलठी पन प्रयोग गरी यस्ता गीतहरू सम्प्रेषित र प्रकाशित गर्ने कमला घिमिरेप्रति खेद प्रकट गर्दै नेपाल सरकारले हदैसम्मको कानुनी कार्वाही गर्न यसै विज्ञप्ति मार्फत ध्यानाकर्सण गराउँदछौ। र उक्त गीत तत्काल बन्द गर्न जोडदार माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

कमला ११ वर्षमै दोहोरीमार्फत चर्चामा आएकी बाल गायिका हुन्। धादिङकी उनी हाल १३ वर्ष पुगेकी छिन्। दोहोरीका विभिन्न स्टेजबाट चर्चामा आएपछि उनको स्वरमा चिया छानेको बोलको गीत पहिलोपटक सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell