काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा तानाशाही व्यवस्था तर्फ उन्मुख भएको बताएका छन्।
सोमवार सिन्धुपाल्चोक कांग्रेस जिल्ला समितीले राजधानीको चाबहिलस्थित केएल टावरमा आयोजना गरेको 'नीति तथा नेतृत्व' विषयक कार्यक्रममा पौडेलले देउवाले सत्तामा बसेर आफ्नो स्वार्थ र महत्वकांक्षाले पूरा गर्न देशलाई गलत दिशा तर्फ लगेको आरोप समेत लगाएका छन्।
विवादकाबिच डडेलधुरामा अधिवेशन सम्पन्न गराएपछि देउवाप्रति संस्थापन इतर पक्ष आक्रोशित बनेको छ। त्यसै विषयलाई इंगित गर्दै उनले पार्टी विधान विपरित चलेको बताए।
'पार्टीको विधान विपरित काम हुँदा पार्टी कहाँ पुगेको छ ? महाधिवेशन ४ वर्षमा पनि गरिएन। विधानको अवधि सकाइसकेपछि संविधान टेकेर ६ महिना थपेर आज निर्वाचन आयोगसँग दर्ता बचाइदेउ भनेर अनुरोध गर्नुपरेको छ,'उनले भने, 'राष्ट्रलाई नेतृत्व गर्ने पार्टी आज कुन हालतमा पुगेको छ। कसको कारणले। नेताको महत्वकांक्षाले। सधैं कुर्सीमा बस्न चाहने, छोड्न नचाहने नेताले।'
विश्वभर थरिथरिका नेता भएको भन्दै उनले महात्मा गान्धी र हिटलर दुवै नेता भए पनि उनीहरुको चरित्र फरक रहेको बताए।
'नेपालमा पनि समाजलाई गलत दिशा तर्फ लगेर कष्ट भोग्नुपरेको छ। आज नेपालमा त्यही प्रवृत्ति देखिएको छ' उनले भने।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई 'उपद्रो' भन्दै पौडेलले पार्टी सभापति देउवापनि ट्रम्पकै पथमा अघि बढेको संकेत गरे।
'ट्रम्प जस्तो महत्वकांक्षी नेताले कसैले मानेन। तर उनको कुनै हर्कत काम गरेन। अमेरिकामा डोनाल्ड ट्रम्प आए, नेपालमा केपी ओली आए। तेस्रो विश्व राष्ट्रहरुमा लोकतान्त्रिक पद्धतीबाट आएकाहरुले लोकतन्त्रलाई असुरक्षित गर्ने काम गरिरहेको छ। अहिले पनि नेतृत्वमा पुगेर आफ्नो स्वार्थ महत्वकांक्षाले देशलाई गलत बाटोमा दोहोर्याउँदै छ। लोकतन्त्रमा अन्धभक्त हुँदैहुँदैन। पालो सकेपछि अर्कोलाई हस्तान्तरण गर्न हो' देउवालाई इंगित गर्दै पौडेलले भने।
उनले कार्यकर्तालाई नेताको मूल्यांकन गर्न आह्वान समेत गरे।
'नेताले कार्यकताले मूल्यांकन गरेन भन्ने गुनासो छ। नेताले कार्यकर्ताको मूल्यांकन गर्ने अवस्था जब आउँछ तब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने हिम्मत गर्छ। जब कार्यकतालाई मूल्यांकन गरिँदै तब नेताहरुले स्वेचाछारी हुन्छ हाम्रै पार्टीको अनुभव उस्तै छ' उनले भने।
