काठमाडौंः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। चाडपर्वको समयमा बजारमा किनमेलको कारोबार बढ्ने भएकोले हरेक वर्ष चाडपर्व नजिकिँदा विभागले अनुगमनलाई तीव्र बनाउने गरेको छ।
विभागले जनशक्ति बढाइ एकल तथा संयुक्त टोली सहित बजार अनुगमन सुरु गरेको हो। यसका लागि विभागले संख्यात्मक र रणनीतिक हिसाबले जनशक्ति थपी अनुगमन गर्न लागेको विभागका प्रवक्ता शिवराज सेढाइले बताए। विभागको दुई टोलीले बजार अनुगमन गर्न थालेको सेढाइले जानकारी दिए।
चाडपर्वको मौका छोपी व्यापारीहरुले म्याद सकिएको खाद्यान्न बिक्री गर्ने, मूल्यबृद्धि गर्ने लगायतका बिभिन्न कामहरु गर्ने अनुमानका आधारमा बिभागले अनुगमन गर्न लागेको हो। कुनै पनि किसिमका अनुचित बजार क्रियाकलापलाई रोक्न अन्य समय भन्दा बढी जनशक्तिले उपत्यकाभित्र अनुगमन गर्ने प्रवक्त सेढाईको भनाई छ।
बजार अनुगमनका लागि वाणिज्य मन्त्रालयले १७ जना जनशक्ति थप गरी पठाएको छ। यस अघि १२ जना कर्मचारीले दैनिक बजार अनुगमन गर्दै आएका थिए। अन्य समय भन्दा चाडपर्वमा अनुगमनलाई तीव्र बनाउनु पर्ने भएकोले मन्त्रालयले थप कर्मचारी पठाएको उनले बताए।
बजार अनुगमनमा ४ जनाको ८ वटा टोलीले ठाउँ र परिस्थिति हेरी उपभोक्ताको गुनासो अनुसार अनुगमन अघि बढाउने विभागले जनाएको छ।
साथै खाद्य, गुणस्तर, नापतौल र काठमाडौं जिल्ला प्रशासन सहितको संयुक्त टोलीले सहित बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयमा समन्वय गरिसकेको प्रवक्ता सेढाइले बताए। बहुसरोकारको विषय भएकोले मानव अधिकारकर्मीसहित सबै सरकारी निकाय जागेर चाडपर्वको समयमा बजारलाई सुदृढ बनाउनुपर्ने बिभागले जनाएको छ।
