काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक निर्णय विहीन भएको छ। नेकपा एमालेले सभामुखले बोलाएको बैठकलाई बहिष्कार गरेपछि बैठक अनिर्णित भएको बैठकमा सहभागी नेतहरुले बताएका छन्।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले एमाले बैठकमा अनुपस्थिति भएकोले कुनै निष्कर्ष ननिस्किएको जानकारी दिइन।
भनिन,'खुलाउनका लागि संवाद भयो। जो सँग सम्बन्धित थियो त्यो नआएपछि निष्कर्ष निष्किएन,' उनले भनिन।
बैठकमा सभामुखले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोनमा संवाद गरेर बैठकमा सहभागी गराउने पहल गरे पनि सफल नभएको जानकारी दिइएको थियो।
'सभामुखजीलाई पहल गरेर बैठक बस्न भनियो। हटलाइनमा फोन गर्दा पनि स्वीच अफ गर्नुभयो। हटलाइनमा फोन गर्दा पनि सुवास नेम्बाङले एमाले अध्यक्षले नजान निर्देशन दिएको भन्ने रिपोर्टिङ भएको थिए,' पौडेलले भनिन।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पनि बैठक बिना निष्कर्ष टुंगिएको जानकारी दिए। उनले प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएकाले सदन खुलाउने विषयमा खासै छलफल नभएको बताए। बैठकमा नेताहरुले एमालेसँग फेरी पनि संवादको प्रयार गर्नुपर्ने भन्दै सभामुखलाई सुझाव दिएका थिए।
