PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

स्थानीयले नदी उत्खनन्को विरोध गरिरहँदा महानगरको दाबी : बस्ती जोगाउन टेण्डर आह्वान



रिना थापा

स्थानीयले नदी उत्खनन्को विरोध गरिरहँदा महानगरको दाबी : बस्ती जोगाउन टेण्डर आह्वान

पोखरा : २३ वर्ष बित्यो रुप बहादुर दर्जी पोखरा महानगरपालिका-३२ मा बस्न थालेको। खुदी खोला छेउको सुकुम्बासी बस्तीमा। बर्खामा उर्लिने र अन्य समय शान्त हुने खुदीको रुप उनलाई ज्ञात छ।

बर्खामा उर्लिने खुदीलाई देखेर उनको मनमा त्रास नपलाएको पनि त हैन। तर, जाने कहाँ? उनी जस्तै ८ सय बढी परिवार त्यहाँ बस्छन्। माओवादी सशस्त्र द्वन्द्वको समयमा बनेको बस्ती हो त्यो।

२०५५ पछि विभिन्न जिल्लाबाट मानिस आएर बस्ती बसाले। अहिल्यै त्यही बस्ती उनीहरुको सबथोक हो। कहिलेकाही बर्खामा खुदीले सताए पनि अन्त जाने ठाउँ छैन। गत सालमात्र भदौमा आएको बाढीले बस्तीको ३० घर डुबानमा परेको थियो।

तर, पोखरा महानगरपालिकाले उर्लिने खुदी खोलामा बालुवा उत्खनन्का लागि टेण्डर आह्वान गरेको छ। टेण्डर आह्वानपछि सुकुम्बासी बस्तीलाई जोखिम पर्ने भन्दै स्थानीयले विरोध जनाएका छन्।

बस्तीका बासिन्दाले पटक-पटक टेण्डर आह्वान रद्द गर्न आग्रह गरेपनि महानगरले सुनेन। नेकपा (माओवादी केन्द्र) इकाई कमिटी सहित बस्तीका बासिन्दा आइतवार महानगर अगाडि विरोध गर्न पुगे।

कमिटीसहित बस्तीका विभिन्न टोल विकास संस्था महानगर पुगेर उपप्रमुख मन्जु गुरुङलाई ज्ञापनपत्र बुझाएका छन्। हिमालय टोल विकास संस्था १ र २, आरधना टोल विकास संस्था ख ३, आरधना टोल विकास संस्था क ४, दारिमबोट टोल विकास संस्था ५, नव दुर्गा टोल विकास संस्था ख ६ सहित योङ कम्युनिस्ट लिग र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति नै निकालेका छन्।

महानगरले बस्तीलाई जोखिम नहुने विश्वास दिलाउन खोजेको छ। बस्तीका बासिन्दा भने टेण्डर नरोके कडा रुपमा शक्ति प्रर्दशन गर्दै रोक्ने बताएका छन्। बासिन्दा महानगरपछि हिजै जिल्ला प्रशासन कार्यालय कास्की र जल, ऊर्जा तथा खानेपानी मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन पुगेका थिए।

‘उपमेयरले बालुवा निकाल्ने बाहेक बस्तीलाई जोखिम नहुने बताउनुभयो, अन्य स्थानबाट पनि त्यहीँ उत्तर पायौँ’. दर्जीले भने, ‘हामी शक्ति प्रर्दशन गर्छौँ, विरोध गर्छौँ तर त्यहाँ बालुवा उत्खनन् हुन दिन्नौँ।’

दर्जीका अनुसार खुदी खोलामा बालुवा उत्खनन् भए बस्तीलाई सिधै जोखिम हुनेछ। महानगरले यही भदौ १ गते बालुवा उखनन्का लागि टेण्डर आह्वान गरेको थियो।

महानगरले उत्तर खुदीखोला पुलदेखि ३ नम्बर बस्तीसम्म ५४ हजार घनमिटर उत्खनन्का लागि धरौटी १ लाख ९१ हजार ७ सय राख्ने गरी करबाहेक ३८ लाख ३४ हजारमा टेन्डर आह्वान गरेको छ।

यस्तै, उत्तर ३ नम्बर बस्तीदेखि ४ नम्बर बस्तीसम्म १९ हजार ४ सय २५ घनमिटर उत्खनन्का लागि धरौटी ६ लाख ८९ हजार ५ सय ९० राख्ने गरी करबाहेक १ करोड ३७ लाख ९१ हजार ७ सय १० मा टेन्डर आह्वान गरेको छ।

महानगरले उत्तर सातमुहाने कल्भर्टदेखि ४ नम्बर बस्तीसम्म ६ हजार १ सय ७८ घनमिटर उत्खनन्का लागि धरौटी २ लाख १९ हजार ६ सय ६० राख्ने गरी करबाहेक ४३ लाख ९३ हजार १ सय २५ टेन्डर आह्वान गरेको छ।

जोखिम हटाउन टेण्डर आह्वान : महानगर

स्थानीय बासिन्दाले बस्ती जोखिममा रहेको भन्दै विरोध गरिरहँदा महानगरले भने जोखिम हटाउन टेण्डर आह्वान गरेको दाबी गर्छ। पोखरा महानगरपालिका सूचना अधिकारी भरत पौडेल खोलामा भरिएको नदीजन्य पदार्थ निकाल्नका लागि टेण्डर आह्वान गरिएको बताउँछन्।

‘अहिले बाढी आयो, खोलाको सतह बढेको छ, नदीजन्य पदार्थ ननिकाल्यो भने बढी जोखिम हुन्छ जस्तो लाग्छ हामीलाई’, उनले भने, ‘उहाँहरु आउनुभाथ्यो। निकाल्न पर्‍यो, निकाले क्षति हुन पाउँदैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell