PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँको हानथाप



निशा गुरुङ

वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे र इन्द्र बानियाँको हानथाप

हेटौँडा: वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री टुंग्याउन नसक्दा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु लम्बिँदै गएको छ। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन।

म मुख्यमन्त्री हुने सहमति भइसक्यो : पाण्डे

एकीकृत समाजवादीका नेता तथा वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले वाग्मतीमा एकीकृत समाजवादीले नै गर्ने दाबी गरे।

दलका नेता पाण्डेले वाग्मती प्रदेश सरकारको नेतृत्व आफूले नै गर्ने दाबी समेत गरेका छन्। उनले ७ वटा प्रदेशमध्ये जनता समाजवादी दलको एक मुख्यमन्त्री भएको र ६ वटा प्रदेशमा ३ वटा पार्टीले दुई/दुई वटा भाग लगाएको स्थितिमा वाग्मतीमा आफ्नो दावेदारी रहेको बताए।

गण्डकीमा कांग्रेस र कर्णाली प्रदेशमा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय भएको हुँदा वाग्मती प्रदेश र १ नम्बर प्रदेशमा एकीकृत समाजवादीलाई दिने केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुको समझदारी भएको पाण्डेले बताए।

पाण्डेले वाग्मती प्रदेशमा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँको दाबी रहे पनि आफू नै मुख्यमन्त्री हुने बताए।

‘उहाँले चाहना गर्नुभएको हुनसक्छ। तर, पार्टीको निर्णय अनुसार अगाडि बढ्ने कुरा भएको हुँदा वाग्मती प्रदेश सरकारको नेतृत्व पनि पार्टीले नै निर्णय गर्नेछ,’ उनले भने।

नेता पाण्डेले वाग्मती प्रदेशमा गठबन्धनमा कुनै समस्या नभएको भन्दै मुख्यमन्त्रीकै दौडमा रहेका नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले सहज रुपमा छोड्ने दाबी समेत गरे।

दाबी छोडेको छैन : इन्द्र बानियाँ

यता, वाग्मती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीको दाबी नछोडेको बताएका छन्।

उनले भने, ‘गठबन्धनको निर्णय नै मेरो निर्णय हो। मैले दाबी छोडेको छैन। सरकारदेखि सबै ठाउँमा गठबन्धन नै अगाडि बढिरहेकोले अहिले भन्ने स्थिति छैन। केन्द्रको निर्णयले मात्रै मुख्यमन्त्रीको टुंगो लाग्छ।’

वाग्मती प्रदेश सरकार शीघ्र परिवर्तनको हतारमा रहेको गठबन्धनको मुख्य बाधक बनेको छ, मुख्यमन्त्रीको पद। सरकार परिवर्तन गर्न कि ३० दिनसम्म अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने समयमा कुर्नुपर्छ वा अविश्वासको प्रस्ताव लगेर विशेष अधिवेशन बोलाउनु पर्नेछ। त्यसका लागि गठबन्धनका तर्फबाट मुख्यमन्त्री तोकेर अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने हुन्छ।

यस्तै, प्रदेश प्रमुखलाई गठबन्धनमा बहुमत रहेको भन्दै आफ्नो सरकारको दाबी पेस गर्ने अर्को विकल्प छ। तर, उक्त विकल्पका लागि पनि मुख्यमन्त्री तोक्नुपर्ने भएकोले प्रदेश सरकार परिवर्तन गर्न मुख्यमन्त्रीको टुंगो नलाग्दा यो विकल्प पनि ढिलाइ हुने देखिएको छ।

नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले सरकारविरुद्ध अविश्वास प्रस्ताव वा बहुमत दाबी गर्न आएमा अष्टलक्ष्मी नेतृत्वको सरकारले सामना गर्न तयार रहेको बताएका छन्।

उनले गठबन्धनबाहिर रहेका साना दलको सहयोगले मात्रै एमालेलाई बहुमत नपुग्ने भएपनि बहुमत पुर्‍याउन निरन्तर प्रयास भइरहेको बताए। मुख्यमन्त्रीबाहेक अन्य पदहरु दिएर पनि फेरि मन्त्रिपरिषद् विस्तार हुन सक्ने भन्दै उनले सरकारले विश्वासको मत लिन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell