काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्काको सहायतामा अर्धशतक बनाए।
त्यस्तै एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल भुर्तेलले बनाए। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीको पहिलो विकेटका लागि ६१ रनको साझेदारीको कीर्तिमानलाई तोड्दै शेख र भुर्तेलले ६६ रनको कीर्तिमान बनाएका हुन्। ओडीआईमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान भने ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा छ। उनीहरुले तेस्रो विकेटका लागि पपुवान्युगिनी विरुद्धको खेलमा ८९ रनको साझेदारी गरेका थिए।
जारी खेलमा आशिफ शेख २३ रन बनाएर आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर पभेलियन फर्किए। अहिले क्रिजमा भुर्तेल र रोहितकुमार पौडेल छन्।
यसअघि भुर्तेलले नेपालमा अप्रिल महिनामा सम्पन्न त्रिदेशीय टी २० सिरिजमा चार वटा अर्धशतक प्रहार गर्दै सनसनी मच्चाएका थिए। नेदरल्याण्ड्स, मलेसिला र नेपालबीचको उक्त सिरिजमा भुर्तेलले चारवटा अर्धशतकको सहायतामा प्रतियोगिताकै सबैभन्दा धेरै २७८ रन बनाएका थिए।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१ रन बनाएका थिए। त्यस्तै नेदरल्याण्ड्ससँगकै अर्को खेलमा ६२ रन बनाएका उनी यसअघिको मलेसियाविरुद्धको खेलमा भने अर्धशतक बनाउन चुकेका थिए। उनले मलेसियाविरुद्ध १६ रन बनाएका थिए। त्यस्तै फाइनलमा ७७ रन बनाएका थिए।