PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

अमेरिकाविरुद्ध चुकेको शतकबारे कुशल भुर्तेल : सेन्चुरी मिसभन्दा पनि टिमले जितेकोमा खुशी छु



पहिलोपोस्ट

अमेरिकाविरुद्ध चुकेको शतकबारे कुशल भुर्तेल : सेन्चुरी मिसभन्दा पनि टिमले जितेकोमा खुशी छु

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको हिजो सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले ५ विकेटको जित निकाल्यो। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

नेपालको जितमा महत्वपूर्ण योगदान थियो कुशल भूर्तेलको। आशिफ शेखसँग कीर्तिमानी ओपनिङ गरेका उनले ८४ रनको महत्वपूर्ण योगदान दिए। जितपछि भुर्तेलले आफ्नो प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन्।

'पहिलो पारी हेर्ने हो भने बलरहरुले राम्रो गर्नु भयो। फिल्डिङ साइड पनि राम्रै भयो। हामीलाई २३१ रन बनाउन यो ग्राउण्डमा, यो विकेटमा सजिलो नै हुने थियो,' खेलपछि भुर्तेलले भने, 'ब्याटिङमा सुरुमा राम्रो सुरुवात भएपछि सजिलो भयो। ब्यक्तिगत प्रदर्शनबाट पनि खुशी छु। सिरिजको पहिलो खेल हो।'

त्यसपछि खेलबारे कुरा गर्दै पपुवा न्युगिनीसँग भन्दा फरक रणनीतिमा आफू अमेरिकासँगको खेलमा ब्याटिङमा उत्रिएको बताए।

'अब ओमन अलिकति बलियो टोली छ। पीएनजीसँग खेल्दा म आँफैले सोचिरहेको थिएँ, म आँफैले एनालाइज म कसरी वानडे खेल्छु भनेर,' भुर्तेलले भने, 'युएसएसँगको खेलमा चाही म छुट्टै प्लानमा थिएँ। अगाडि थोरै एग्रेसिभ खेल्छु र पछाडि स्लो खेल्छु भनेर। त्यो चाहीँ मलाई पनि टिमलाई पनि फाइदा भयो।'

ओपनिङमा पनि भुर्तेलले कीर्तिमानी साझेदारी गरेका थिए। एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल भुर्तेलले बनाए। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीको पहिलो विकेटका लागि ६१ रनको साझेदारीको कीर्तिमानलाई तोड्दै शेख र भुर्तेलले ६६ रनको कीर्तिमान बनाएका हुन्। ओडीआईमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान भने ज्ञानेन्द्र मल्ल र रोहित पौडेलको नाममा छ। उनीहरुले तेस्रो विकेटका लागि पपुवान्युगिनी विरुद्धको खेलमा ८९ रनको साझेदारी गरेका थिए।

'आशिफ र मेरो राम्रो सुरुवात दिने भन्ने योजना थियो। सुरुको ५/६ ओभर कन्ट्रोल गरे राम्रो हुन्छ भन्ने थियो। त्यही अनुसारले गएपछि राम्रो पनि भयो,' भुर्तेलले भने, 'पहिलो खेल जितेपछि टिममा पोजेटिभ महोल छ। ब्याटिङ, बलिङ, फिल्डिङ सबै पक्षमा राम्रो भएको छ। ओमनसँग पनि राम्रो गर्ने योजना छ।'

त्यस्तै सेन्चुरीबाट चुकेका भुर्तेलले भने: विकेट जाँदा सन्तुष्ट भइन। नटआउट रहँदै टिमलाई जिताउन सकेको भए सन्तुष्ट हुने थिएँ। तर सेन्चुरी मिस भन्दा पनि टिमले जितेकोमा खुशी छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell