काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली ओमन गएर तीन वटा खेल खेलिसकेको छ। पहिलो दुई खेलमा पपुवान्युगिनीसँग अभ्यास खेल खेलेको नेपालले हिजो अमेरिकासँग सिरिजको पहिलो खेल खेल्यो। ओमन गएर तीनवटै खेलमा राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण योगदान दिने खेलाडी हुन्: रोहितकुमार पौडेल। पछिल्ला केही सिरिजहरुमा टिममा स्थान बनाउन संघर्ष गरेका पौडेलले ओमन भ्रमणमा भने निखारिएको प्रदर्शन प्रस्तुत गर्दै आएका छन्।
ओमनमा पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा नेपालका लागि सर्वाधिक ४१ रन बनाएका पौडेलले दोस्रो खेलमा अर्धशतकीय पारी खेल्दै ८६ रन बनाए। त्यस्तै अमेरिकाविरुद्धको सिरिजको पहिलो खेलमा पनि उनले अर्धशतक बनाए। उनी ८७ बलमा २ चौका र ३ छक्काको सहायतामा ६२ रन बनाउँदै अभिजित रहे।

लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको हिजो सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
नेपालको जितमा महत्वपूर्ण योगदान गरेका पौडेलले आफ्नो प्रदर्शनबाट खुशी रहेको बताएका छन्।
'प्रदर्शनले खुशी नै छु। तर अझै सुधार गर्न सकिन्थ्यो। सुरुमा अलिकति स्लो भयो। त्यो चाहीँ रोटेट गर्न सकेको भए खेल चाँडै सकिन्थ्यो होला,' पौडेलले भने, 'स्ट्राइक रोटेट गर्न ट्राइ गरिरहेको थिएँ तर भइरहेको थिएन। त्यतिबेला चाहिँ अलि प्रेसर पनि भइरहेको थियो। म्यासेजहरु आफूलाई होल्ड गरेर गेम सक्ने भनेर आइरहेको थियो। विकेट नजाओस भनेर।'
उनले अगाडि भने: पिच राम्रो थियो। मैले चाहीँ सुरुमा अलि बढी संघर्ष गरें।
