PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संसदको फ्रन्टलाइनमै ओली - अग्नि 'ब्याटल' : सत्ता पक्षको आक्रोश, 'ओलीले नै संसद चाहेनन्'



प्रकाश भण्डारी

संसदको फ्रन्टलाइनमै ओली - अग्नि 'ब्याटल' : सत्ता पक्षको आक्रोश, 'ओलीले नै संसद चाहेनन्'

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको झगडाका कारण प्रतिनिधि सभामा गतिरोध उत्पन्न भएको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको भन्दै एमालेले सापकोटाको राजिनामा मागेको छ। सभामुख सापकोटाले आइतवार बोलाएको सर्वदलीय बैठकलाई समेत ओलीले बहिष्कार गरेर सभामुखको राजिनामालाई बटमलाइन बनाएका छन्। सापकोटाले सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग टेलिफोनमा समेत संवाद गर्न नचाहेको भन्दै संसदको गतिरोध तत्काल अन्त्य नहुने संकेत गरेका थिए।

संवाद चाहेका ओलीले किन बंक गरे बैठक?

दुई पटक प्रतिनिधि सभा विघटन गरेका ओली संसद्प्रति सकारात्मक छैनन्। संसदको कामै नभएको भन्दै विघटन गरेका ओलीले हाल पनि प्रतिनिधि सभा प्रति सार्वजनिक रुपमा रोष प्रकट गरिरहेका छन्। पहिलो पटक संसद् पुनस्थापना हुँदा प्रतिनिधिसभा बिजनेसविहीन भएको थियो। हाल पनि सरकारले विभिन्न अध्यादेश अघि बढाउन खोजे पनि विपक्षी दलको अवरोधका कारण संसद् राम्ररी चल्न सकेको छैन।

एमालेले आफ्नो विरोधलाई अझै सशक्त बनाउने रणनीति बनाएको छ। एमाले संसदीय दलका प्रमूख सचेतक विशाल भट्टराईले सभामुखको राजिनामा या एमालेले कारवाही गरेका १૪ जना सांसद बारेको सूचना सार्वजनिक नभएसम्म एमालेको अवरोध कायमै रहने बताए। भने, 'ढिलो भए पनि सभामुखले कारवाहीको सूचना निकाल्नु पर्छ नभए त उहाँको राजिनामा माग्नुको बाहेकको विकल्प के हुन्छ र?'

एमालेको शनिवार सम्पन्न स्थायी कमिटीको बैठकले संसद्को अवरोध हटाउन सभामूखले एमलेसँग छुट्टै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो। सभामुखले एमालेसँग छलफल गर्नभन्दा पनि सर्वदलीय बैठक बोलाएर एमालेकै आलोचना गराउन खोजेको भन्दै ओली सापकोटासँग थप चिढिएका छन्।

ओली फकाउने गठबन्धन प्रयास असफल

ओलीलाई आक्रोशित बनाउन नहुने भन्दै सत्ता गठबन्धनका नेताहरुले ओलोचनामा केही संयमता अपनाउन थालेका छन्। अर्कोतिर ओलीले अप्ठ्यारो पार्न सक्ने भन्दै सत्ता गठबन्धनले संवादको लागि पहल गरिरहेको छ। आइतवारको सर्वदलीय बैठकमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादका लागि आफूले पहल थाले पनि ओली सकारात्मक नभएको ब्रिफिङ गरेका थिए।

'आफूले संसदीय गतिरोधबारे प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग छलफल गरेको र असहमतिका बाबजुद पनि प्रतिनिधि सभा सञ्चालनका लागि सहमतिको प्रयास थालेको छु भन्नु भो,' कार्कीको भनाइ उद्धृत गर्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्।

शीर्ष नेताको आरोप - ओलीले संसद चाहेनन्

सर्वदलीय बैठकमा शीर्ष नेताहरुले ओलीले पहिला विघटन गरेर र अहिले अवरोध गरेर संसद नचाहेको अरोप लगाएका छन्। नेकपा (एकीकृत समाजवादी) का  अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष जिम्मेवार नभएको भन्दै ओलीले अदालत र संसदको अपमान गरेको बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार नेपालले ओलीलाई लोकतान्त्रिक संस्कार देखाउन चुनौति दिए।

'संविधानको धारा ७६ (५) र अदालतको फैसलाअनुसार पनि दल त्याग आकर्षित हुदैन। विधि पुर्‍याएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएको अवस्थामा अदालत र निर्वाचन आयोगको विरोध गर्नुको कुनै अर्थ छैन,' नेपालले भनेका थिए। यस्तै बेठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले संसदलाई अप्ठेरो गर्न खोजेको आरोप लगाए।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली संसदको पक्षमा नरहेको बताएका थिए।

'हिजो संसद विघटन गर्ने र आज अवरोध गर्ने एउटै दल हो। प्रतिपक्षी दल यो संसदको पक्षमा छैन,' यादवको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell