पोखरा : आज मंगलवार गण्डकी प्रदेशसभा बैठक बस्दै छ। दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा चारवटा विधेयक पेश हुने संसद सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार आजको बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्ता सम्बन्धी विधेयक र बालबालिका सम्बन्धी विधेयक पेश हुँदैछ।
यस्तै, आजको बैठकले दुईवटा समितिको सदस्यहरु हेरफेर गर्दै छ। प्रदेशमा कांग्रेस सरकार भएपछि समिति सभापति परिवर्तन तथा सदस्य हेरफेर गर्न लागिएको हो।
यसअघि एमालेले सम्हालेको विधायन समितिको जिम्मा कांग्रेसले लिँदै छ। त्यस्तै, प्रतिपक्षी भूमिका निर्वाह गरिरहँदा कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समितिको जिम्मा एमालेले लिँदै छ।
गत ३० असारमा मार्सल लगाएर बजेट पास गरेपछि प्रदेशसभाको बैठक बसेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बजेट विनियोजनमा असन्तुष्ट जनाउँदै बैठक अवरुद्ध गरेको थियो। सदनमा अवरुद्घ हुन नदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रतिपक्षी दलका नेता पृथ्वीसुव्वा गुरुङ बिच वार्ता भएको थियो। वार्ता अनुसार बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने जनाएको छ।