PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

इन्द्रजात्राका लागि हनुमानढोकामा पुर्‍याइयो य:सिं

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा) का लागि य:सिं लाई आज तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। बिहान १० बजेर ३४ मिनेटको शुभ साइतमा य:सिंलाई भोटाहिटी, असन, इन्द्रचोक हुँदै वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइएको हो।

असोज २ गते बिहान ६ बजेर ५१ मिनेटमा हनुमानढोकामा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिनेछ। यही दिनदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ। असोज ३ भने  'क्व:नेया' (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै 'दागीं' र त्यसपछि 'बहुमत:' ल्याउने परम्परा रहेको छ।

असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थ:नेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। असोज ८ गते नानिचा: यात्रा पछि हनुमानढोका ठड्याइएको य:सिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ।

गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रामा रथ यात्रा भएको थिएन। यसपटक भने स्वास्थ्य प्रोटोकल पालना गर्दै इन्द्रजात्रा गरिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell