काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा नेकपा एमालेले आफ्नो अवरोधलाई जारी राखेको छ। सभामुख अग्नि सापकोटाले सभा सुरु भएको घोषणा गरेसँगै एमालेले सांसदले विरोध जनाएका हुन्।
एमालेको अवरोधबिच सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले वनियोजन विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीले पेश गरेको प्रस्ताव पारित भएको छ।
प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु भएसँगै एमलेले विरोध सुरु गरेको थियो। सभामुख सापकोटाले एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले सभामुख विरुद्ध आक्रोश व्यक्त गरिरहेको छ।

सभामुखले एमालेले १४ जना सांसदलाई कारवाही गरेको सूचना सार्वजनिक नगरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ। बिहीवार अर्थमन्त्री शर्माले एमालेको चर्को विरोधका बावजुत सदनमा विनियोजन विधेयक प्रस्तुत गरेका थिए।
आजको बैठकमा विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव पेश भएसँगै शोक प्रस्ताव पेश गरिएको थियो। करिब १३ मिनेट बसेको बैठक एमालेको अवरोधबिच सकिएको छ। अर्को बैठक असोज ४ गते बस्नेछ।
