
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकले चुनावबाट जितेर सरकार बनाउन नसक्ने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई 'परमादेशको' सरकार बताउँदै ओलीले एमालेले मात्रै जनादेशबाट एक्लै सरकार बनाउन सक्ने दावी गरे।
'अहिलेको सरकार जनादेशबाट आएको होइन। जनादेशबाट एमाले बाहेक अर्को सरकार आउनै सक्दैन,' उनले भने। सत्ता गठबन्धन चुनावबाट डराएको ओलीको आरोप थियो। चुनावमा जनताले गठबन्धनलाई मत नदिने ओलीको दाबी रह्यो।
'चुनाव भनेपछि थरर कामेका छन्। जनताको यिनलाई 'हेण्डसम' छन् या 'ब्युटिफुल' छन् भनेर भोट हाल्ने? विकास र स्थायित्वप्रतिको कुनै लगाव देखियो र?,' ओलीको प्रश्न थियो।
चुनावमा कम्मरसम्म पुग्ने उचाइ कसैको नभएको ओलीको दावी थियो। उनले अघिल्लो चुनावमा कम्मरसम्म अरु दलका नेताको उचाइ पुगेको भए पनि अबको चुनावमा घुडासम्म उचाइ कसैको नपुग्ने बताए। भने, 'घुडाभन्दा माथिको उचाइ कसैको हुनेवाला छैन। एमाले फुटेको छ मौका छोप्न फागुनमा चुनाव गर। त्यतिबेला थाहा पाउछौं जनताले के भन्छ।'
गठबन्धनलाई फागुनमा चुनाव गरेर देखाउन ओलीले चेतावनी दिएका छन्। उनले एमाले फुटेका बेलामा पनि बहुमत ल्याउने दाबी गरे
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन षड्यन्त्र गरेकाले प्रतिनिधिसभाको अवरोध जारी रहने बताए।
'हाम्रो पार्टी फुटाउनका लागि १२ बजे राति अधिवेशन बन्द गरेर बिहानै अध्यादेश। यो पूर्व नियोजित षड्यन्त्र हो। अध्यादेश ल्याउनका लागि संसद बन्द गर्न पाइँदैन त्यो अलोकतान्त्रिक कुरा हो। दलीय व्यवस्था विरुद्धको काम हो। यो ल्याएको माधव नेपाललाई साथ दिन हो एमाले फुटाउन हो,' ओलीले भने।
एमालेले सापकोटालाई सभामुख नमान्ने ओलीले बताए। भने, 'हामीले उनलाई सभामुख मानिरहने स्थिति रहेन। गैर सांसदलाई बाहिर राख्न सकेनन्। संसद गैर सांसद राखेर चलाउन नमिल्ने नियमावली छ।'