PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बुटवल उपमहानगरले तयार पार्‍यो एकैसाथ १ लाख जना अट्ने खुलामञ्चको गुरुयोजना



पूजा पन्थी

बुटवल उपमहानगरले तयार पार्‍यो एकैसाथ १ लाख जना अट्ने खुलामञ्चको गुरुयोजना

बुटवल : वर्षेनी बढ्दो जनघनत्व र बस्ती विकासका कारण तराईमा खुला क्षेत्र तीव्र रुपमा मासिएका छन्। सार्वजनिक र संरक्षण गरेर राखिएका क्षेत्रमा पनि अनेक नाममा अतिक्रमण भएर साँघुरो भएको अवस्था छ।

यस्तै अवस्थाको विश्लेषण गर्दै बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै त्यसको बहुउपयोग गर्नेगरी योजना बनाएको छ। सार्वजनिक जग्गालाई खुला क्षेत्रका रुपमा र बहुउपयोग हुनेगरि संरक्षण गर्न थालिएको छ।

खाली र खुला ठाउँको अभाव देखेपछि उपमहानगरले संरक्षण गर्दै खुलामञ्च बनाउने योजना बनाएको छ। बुटवल खुलामञ्च निर्माणका लागि गुरुयोजना बनाइएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

खुलामञ्चको प्रस्तावित करिब १४ विगाह क्षेत्रलाई समेटेर गुरुयोजना तयार भइसकेको छ। गुरुयोजनामा प्राविधिक तथा विषय विज्ञहरुबाट थप केही सुझाव लिने क्रम चलिरहेको र अबको केही समयमै निर्माणकार्य सुरु हुनेगरि तयारी भइरहेको प्रमुख सुवेदीले बताए।

बुटवलको सबैभन्दा ठूलो र मुलुकमै सबैभन्दा धेरै जनघनत्व रहेको वडामै खुलामञ्च निर्माणको तयारी भइरहेको छ। उक्त वडाको रङ्गशाला नजिकैको जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको हो। जनघनत्व, सवारी चाप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुनेगरि गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए। बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालिन अवस्थाको उद्धर स्थल रुपमा समेत उपयोग गर्न सकिने गरि गुरुयोजनामा समेटिएको प्रमुख सुवेदीको भनाइ छ।

उपमहानगरले यसलाई बहुवर्षे योजनाका रुपमा अगाडि बढाउँदैछ। बुटवलको दीर्घकालीन गुरुयोजनामा परिकल्पना गरिएअनुरुपको यो एउटा खुलामञ्च हो। सुरुमै जग्गा संरक्षण, तारबार र व्यवस्थित बाउण्ड्री निर्माणको काम अगाडि बढाइने र बाँकी कामलाई चरणबद्ध रुपमा अगाडि बढाइने प्रमुख सुवेदीले जानकारी दिए।

उपमहानगरका वरिष्ठ इन्जिनियर तथा सहरी विकास योजना महाशाखा प्रमुख सुमन श्रेष्ठ र अर्का वरिष्ठ इन्जिनियर गौतम रौनियार तथा डीपीआर बनाउने काममा खटिएकी इको इन्नोभेटिभ इन्जिनियररिङ प्रालि तिलोत्तमा रुपन्देहीकी सिनियर आर्किटेक इन्जिनियर प्रभा पाण्डेसहितको प्राविधिकहरुको टोलीले अहिलेप्रस्तावित गुरुयोजनामा सुझाव संकलन गरिरहेको छ।

गुरुयोजना अनुसारका काममा विषय विज्ञहरुसँग सुझाव लिन खटिने टोलीलाई प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, वडा अध्यक्ष रामचन्द्र क्षेत्री र उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले समन्वय गरिरहेका छन।

यस्तो बन्ने छ बुटवल खुलामञ्च

करिब १४ विगाह क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ एक लाख जना एकै पटक जम्मा हुन मिल्नेगरि खुला मैदान बनाइने छ। मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ। मैदान प्रवेश र निकासका अलग अलगद्वार र आपतकालिन द्वार बन्नेछन्।

एकैपटक करिब ८ सय जनाले प्रयोग गर्न मिल्नेगरि सार्वजनिक शौचालय बनाइने छन्। आठ लाख ९३ हजार नौ सय ७७ वर्ग मिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसंगै पछाडि भागामा आठ वटा अलग अलग प्रयोजनकाकोठा, तीन तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन्।

खुलामञ्चको दक्षिणमा तिनाउ कोरिडोर रहने छ। करिडोर र खुलामञ्चको बीचको भागमा हरियालीसहितको गार्डेन, फुटपाथ रहने छ। खानेपानीका फिल्टरयुक्त ट्यांकीसमेत विभिन्न ठाउँमा राखिनेछ। यसको आर्किटेक डिजाइन गरिरहेकी इन्जिनियर प्रभा पाण्डेले खुला र उपयुक्त क्षेत्र रहेकाले भरपूर डिजाइन गरेर संरचना निर्माण गर्न सकिने बताए। उनले बुटवलका लागि भविष्यमा बहुउपयोग गर्न मिल्ने र सौन्दर्यता झल्काउने विशेष क्षेत्रका रुपमा खुलामञ्च निर्माण हुने प्रशस्त आधार रहेको बताए।

एक लाखभन्दा धेरै जना अट्न सक्नेगरी खुला क्षेत्रको चौर रहने छ भने त्यतिको संख्यामा आउने मानिसहरुले प्रयोग गर्ने सवारी साधनलाई समेत तीन तहमा पार्किङ र आवागमनका विशेष रुट बनाइने भएको छ।

भीआइपीले प्रयोग गर्ने सवारीसहित एक सय ६० वटा चार पाङ्ग्रे र करिब छ सय जति दुई पाङ्ग्रे साना सवारीलाई पार्किङ गर्न मिल्नेछ। पब्लिक बस तथा सवारीहरुलाई पनि खुलामञ्चको दुबैतिरबाट आवागमन मिल्नेगरि रुटको व्यवस्था मिलाइने भएको छ। खुलामञ्चको पहिलो चरणको कामका लागि निर्माण लागत करिब एक करोड अनुमान गरिएको छ। गुरुयोजना अनुसारका सबै कामका लागि करिब २७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ भने तीन वर्षसम्ममा सबै चरणका निर्माण कार्य सक्ने लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell