PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंको किलागल जहाँ दैत्य र देवदेवी युद्ध लडिरहेका छन्

काठमाडौंको किलागल जहाँ दैत्य र देवदेवी युद्ध लडिरहेका छन्

पहिलोपोस्ट /पहिलोपोस्ट


किलागलमा रहेको डबलीमा बिहान नहुँदै मालश्री राग बज्यो। लगत्तै डबलीमा देवगणहरु उपस्थित भए। रागसँगै भैरव, कुमारी, चण्डी, बेता: (बेताल), क्वं(कङ्गाल) र ख्या: (ख्याक)ले डबलीको एक फन्को लगाए। बेता:, क्वं र ख्याले डबली छोडेर गएपछि खरजति तालमा भैरव, कुमारी र चण्डीले नृत्य गर्न थाले। गुठियारहरुले राग अनुसार खिं, पोङ्गा, ता:, बबू बाजा बजाए। चरणवद्ध रुपमा हुने नृत्यमा दैत्य र देवदेवीहरुको युद्ध प्रमुख भाग हो। दी प्याखं (देवी नाच) हेर्न डबली वरिपरि बालबालिकादेखि वृद्धवद्धाहरु उपस्थित थिए।

हरेक वर्ष कागे अष्टमीको रात देवगणहरु डबलीमा आएर नृत्य प्रस्तुत गर्ने गर्छन्। यस नृत्यमा ७ जना देवदेवी- भैरव, कुमारी, चण्डी, दैत्य, कवं,बेता: र ख्या: हुन्छन्। सातजना देवदेवीको यो नृत्यमा सातवटा राग, सातवटा बाजा र सातवटा ताल प्रयोग हुन्छ।

यँया (इन्द्रजात्रा) को बेला प्रदर्शन हुने नाचको तयारी एक महिना अघिदेखि हुन्छ। आगम घरमा प्रशिक्षणपछि किलागल कै बिज्यापू ननिमा नृत्य प्रशिक्षण हुन्छ। त्यसपछि हुनमानढोकामा य:सिं ठड्याउनु भन्दा दुई दिन अघि अष्टमीका दिन किलागल डबलीमा यो नृत्यु प्रस्तुत गर्ने गरिन्छ।

स्थानीय नरेन्द्र महर्जनका अनुसार दीं प्याखंले असत्यमाथि सत्यको जित हुन्न भन्ने सन्देश दिन्छ। यसमा भैरवको बहानको रुपमा बेता:, कुमारीको सहयोगीको रुपमा कवं र चण्डीको सहयोगीको रुपमा ख्या: रहेको हुन्छ। विभिन्न राग र बाजाका साथ १६ चरणमा नचाइने यो नाचमा दैत्य र देवताबिच घमासान युद्ध हुन्छ। यही युद्ध नै यो नाचको विशेषता भएको महर्जन बताउँछन्।

यो नाचमा सुरुमा दैत्य र भैरवको युद्ध चल्छ जसमा भैरव पराजित हुन्छन्। त्यसपछि कुमारी र दैत्यबिच युद्ध हुन्छ। कुमारीले दैत्यको संहार गर्न लाग्दा अन्त्यमा दैत्य भाग्ने प्रयास गर्छ। त्यसपछि क्रोधित कुमारीलाई कवं र ख्याकले शान्त बनाउने प्रयास गर्छ। अन्त्यमा दैत्य पराजित भइ भाग्छ।

गत वर्ष कोरोना भाइरस संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा मात्रै सीमित भएको थियो। यसपटक भने स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा गर्ने तयारी रहेको छ।

यो नृत्य इन्द्रजात्रामा मनाइने अरु नृत्यहरु जस्तै सबै ठाउँमा प्रदर्शन गरिँदैन। यो नृत्य प्रदर्शन गर्न निश्चित डबली छुट्याइएको छ। सात वटा स्थानमा यही नृत्य देखाउन डबली निर्माण गरिएको थियो। हाल भने पाँचवटा डबली (बिज्यापू, किलाग:, न्हूघ: जैसीदेवल, थ्यामरु/ बांगेमुढा, वंघ:/ इन्द्रचोक डबली) मात्रै अस्तित्वमा छन्।

जीवित देवी कुमारीको रथयात्रा हुने ठाउँमा यो नाच प्रदर्शन गर्ने परम्परा छ। स्थानीयका अनुसार न्हूघ:मा राजा जयप्रकाश मल्लले ‘दी प्याखं’ हेरिरहेकै बेला नै पृथ्वी नारायण शाहले वसन्तपुर दरबारमा आक्रमण गरेका थिए। जयप्रकाश मल्ल कुमारीको रथयात्रामा आफू पनि संलग्न हुन्थे। इन्द्रजात्राको दिन रथसँगसँगै सवारी हुँदा रथयात्रा न्हूघ: पुगेको थियो। राजा जयप्रकाश मल्ल त्यहाँ दी प्याखं अवलोकन गरिरहेका थिए। त्यही बेला नै शाहले दरबारमा आक्रमण गरेको स्थानीय बुढापाकाले सुनाउने गरेको महर्जन बताउँछन्।

काठमाडौंमा महामारी फैलिएको बेला राजालाई सपनामा देवी नाच देखाउन भनी सपना आएको र यो नाच प्रदर्शन पछि महामारी अन्त्य भएको कथन रहेको छ। यस्तै, हनुमानढोकास्थित कालभैरव अगाडि रहेको डबलीमा हुने दी प्याखंसँग पनि यसको सम्बन्ध रहेको छ। किम्बदन्ती अनुसार मध्यरातमा काल भैरव अघि इश्वरीय शक्ति प्रकट भइ देवदेवीहरु नाच्ने गर्दथे। उक्त समयमा सो नृत्य देख्ने वा त्यहाँबाट हिँड्नेहरुलाई देवीले भोग लिने गर्थे। त्यसबाट राजा अन्त्य चिन्तित बने। राजाको सपनामा यसरी नाच प्रदर्शन गर्दा बिघ्न हट्ने भनि देखियो। पछि यसरी नाच प्रदर्शन गर्दा ती घटना घट्न बन्द भएको र त्यसबेला देखि नै काल भैरव अघि यो नृत्य प्रदर्शन हुने गरेको स्थानीय बताउँछन्। काल भैरव अघि प्रदर्शन हुने यो एक मात्र नृत्य हो।



ट्रेन्डिङ पोस्ट

Ncell