PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

दिनहुँ देखिन थाल्यो राजमार्गमा बाघ, मानिस मार्न थालेपछि सेना परिचालन



रासस

दिनहुँ देखिन थाल्यो राजमार्गमा बाघ, मानिस मार्न थालेपछि सेना परिचालन
फाइल फोटो।

राँझा : पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए।

उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा छन्। स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत नसकेको अवस्था छ। गत आइतवार ४५ वर्षीय एक पुरुषलाई महेन्द्र राजमार्गअन्तर्गत पर्ने गाभर नजिकै सडकबाट तानेर दुई पाटेबाघले खाएका थिए। मान्छे खानु दुई दिनअघिदेखि नै गाभर सडकको वरपर दुई बाघ घुमिरहेको पाइएको स्थानीयवासी कुमार खड्काले बताए।

सोमवार छ पटकसम्म राजमार्गको वरपर देखापरेका ती दुईवटै बाघ मङ्गलवार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको खड्काले जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको जानकारी दिए।

ती दुई बाघ भर्खर माउबाट छुट्टिएको हुनसक्ने जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत साहले स्थानीय जनतालाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिए। अधिकृत साहका अनुसार बाघलाई नियन्त्रणमा लिन निकञ्जबाट प्राविधिक टोली पनि आइसकेको छ। अहिले हात्ती प्रयोग गरेर बाघलाई गाउँ नजिक आउन नदिने र उसको प्राकृतिक बासस्थानतिर धपाउने काम भइरहेको छ। मान्छे खाएको ठाउँ र अन्य दुई स्थानमा सेन्सर क्यामेरा जडान गरिएको छ।

आइतवार गाभरमा अन्दाजी ४५ वर्षीय एक पुरुषलाई बाघले खाएपछि यतिबेला सो क्षेत्रमा डर, त्रास फैलिएको छ। राजमार्गमै बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell