PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओमनसँगको खेलबारे कप्तान मल्लको प्रतिक्रिया: जतिन्दरले खेल हाम्रो हातबाट लिएर गएजस्तो लाग्यो



पहिलोपोस्ट

ओमनसँगको खेलबारे कप्तान मल्लको प्रतिक्रिया: जतिन्दरले खेल हाम्रो हातबाट लिएर गएजस्तो लाग्यो
फाइल फोटो

काठमाडौं : नेपाल क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमनसँग हिजोको पराजयको कारण आफ्नो टिमले ठूलो योगफल बनाउन नसक्नु भएको प्रतिक्रिया दिएका छन्।

क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिका बिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ओमनलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको ओमनले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। र, पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमनसँग ५ विकेटले पराजित भएको थियो।

'सबैभन्दा पहिलो कुरा त रन पुगेन। सुरुमै विकेट गए पनि दुई विकेटका लागि राम्रो साझेदारी बनेको थियो। तर, त्यो पछि ठूलो साझेदारी भने हुन सकेन। र, हामीले चाहेजस्तो २ सय ३० या ४० भन्दामाथिको स्कोर हुन सकेन,' खेलपछि प्रतिक्रिया दिँदै कप्तान मल्लले भने, 'विकेटमा अलिकति चान्स थियो जस्तो लाग्छ। तर, जसरी जतिन्दर आएर ब्याटिङ गरे, सबै क्रेडिट उसैलाई दिनुपर्छ जस्तो लाग्छ। जतिन्दरले चाहिँ खेल नै हाम्रो हातबाट लिएर गएजस्तो लाग्यो।'

नेपालले यसअघि विश्वकप लिग २ अन्तर्गतकै त्रिकोणात्मक सिरिजमा ओमनसँग दुई खेल खेल्दै घरेलु मैदानमै दुवै खेलमा पराजित भएको थियो। लगातार तेस्रो खेलमा पराजित हुँदा साइकोलोजिकल फ्याक्टरले पनि असर गरेको हो कि भन्ने देखिन्छ। तर, कप्तान मल्ल यसलाई स्वीकार्न तयार छैनन्।

'त्यस्तो त होइन। झन् अघिल्लो खेलको प्रदर्शनले हामी अलि 'हाइ' पनि थियौं। राम्रो साझेदारी बने जित्न सकिन्छ भन्ने थियो,' उनले भने, 'रन पुगेन। विकेट राम्रो छ। ग्राउण्ड राम्रो छ। हामीले २४० माथि पुर्‍याउन सकेको भएचाहिँ खेल अलि फरक हुन्थ्यो होला।'

त्यस्तै, ओमनमा पहिला ब्याटिङ गर्ने टोलीले पराजय ब्यहोरिरहेको सन्दर्भमा नेपालले टस जितेर ब्याटिङ गर्दा कमजोरी भएको भन्ने तथ्यांकले देखाउँछ। कप्तान मल्ल भने यो सन्दर्भमा आफ्नो फरक रणनीति भएको बताउँछन्।

'टस जितेर ब्याटिङ रोजेर नतिजा फरक परेको भन्ने मलाई लाग्दैन। उनीहरुको बलिङ अलि बलियो भएकाले हामीलाई चेज गर्न अलि कठिन हुन्छ कि भन्ने थियो,' कप्तान मल्लले अगाडि भने, 'तर पहिला ब्याटिङ गर्दा केही फ्री भएर उनीहरुलाई २ सय ४० भन्दा माथि स्कोर गर्न सके उनीहरुलाई प्रेसर दिन दिन सक्थ्यौं जस्तो लाग्छ। त्यसमा पनि उनीहरुको दुई जना मुख्य खेलाडी खेलिरहेका थिएनन्। ब्याटिङ लाइनअपमा हामीले त्यहाँ पनि अलि प्रेसर दिन सक्थ्यौं कि भन्ने एउटा योजना बनाएका थियौं। तर, पर्याप्त रन बनाउन नसक्दा त्यस्तो भएको भन्ने लाग्छ।'

त्यस्तै, हिजोको खेलमा बलिङतर्फ नेपालमा महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले बलिङ गरेनन्। ब्याटिङमा भने १६ रन जोडेका उनलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि बलिङमा उनको अभाव खड्कियो।

'सन्दीपले बलिङ गरेको भए हामीले मिडियम पेसर निरन्तरता दिइरहनु पर्थेन होला। तर, कहिलेकाहीँ इन्ज्युरी या त्यस्तो कारण हुने गर्छ,' मल्लले अगाडि भने, 'लोअर मिडलमा एउटा ठूलो पार्टनसिप चाहिन्थ्यो जस्तो लाग्छ। जित्नका लागि २ सय ३० या ४० माथि रन बनाउनै पर्छ यतिको विकेटमा। सेकेन्ड ब्याटिङ गरेपनि त्यतिकै टार्गेटका लागि तयार हुनुपर्छ।'

सिरिजमा नेपालले दुई खेल अझै खेल्न बाँकी छ। नेपालले शुक्रवार अमेरिकासँग र आइतवार ओमनसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell