PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संसद बैठक स्थगित हुनका अनौठा उदाहरण : कतै 'पादेको' भन्दै स्थगित त कतै पानीको 'संगीत'ले



विधुर ढकाल

संसद बैठक स्थगित हुनका अनौठा उदाहरण : कतै 'पादेको' भन्दै स्थगित त कतै पानीको 'संगीत'ले

काठमाडौं : २३ गतेदेखि आह्वान भएको संघीय संसदको अधिवेशन प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको छ।

२३ गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि एक पटक स्थगित भइ अर्को पटक सभामुखले प्रतिपक्षीको विरोधलाई वेवास्ता गर्दै बैठकलाई अगाडि बढाए।गृहमन्त्री बालकृष्ण खाँणले सरकारले ल्याएका अध्यादेशलाई टेबल गरी २५ गतेसम्मका लागि सभामुखले बैठक स्थगित गरे।

२५ गते बसेको बैठकमा पनि प्रतिपक्षी दल एमालले विरोध गर्‍यो। विरोधका बिच सभामुखले कार्यसूचीलाई अगाडि बढाए। बेलमा एमालेले सांसदले नारा लगाइरहे। अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले पेश गरेका बजेट सम्बन्धी अध्यादेशहरुलाई छलफलका लागि प्रस्ताव राखे।

नेमकिपाका सांसद प्रेम सुवालले राखेका अध्यादेश खारेजी सम्बन्धी प्रस्ताव पेश गर्न सभामुखले समय दिए। सांसद सुवालले दर्ता गरेका तीन वटा प्रस्ताव पेश गर्ने क्रममा प्रतिपक्षीको विरोधका बिच प्रस्ताव राख्न नसक्ने बताए। सभामुखले समय दिए- फेरि आफू रोस्टममै आएर प्रस्ताव पेश गर्न पाउनुपर्ने बताए। सभामुखले बसेकै स्थानबाट प्रस्ताव छलफलका लागि राख्न रुलिङ गरे। प्रस्तावहरु अस्वीकृत भए।

एमालेले नारा लगाइरह्यो, अर्थमन्त्रीले अध्यादेशलाई निर्णयार्थ पेश गरे। सभामुखले ध्वनी मतले स्वीकृत भएको घोषणा गरे। त्यसपछि बैठकमा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरि स्थगित भयो। सोही दिन दोस्रो पटक सुरु भएको बैठकमा अर्थमन्त्री शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन विधेयक पेश गरे- एमाले सांसदको विरोधका बिच। एमाले सांसदहरु रोस्टममा पुग्न बुई चढिरहे, माइक निकालेर सभामुख र अर्थमन्त्रीलाई ताक्न थाले। अर्थमन्त्री शर्मा रोकिएनन्। विधेयक पढेर सुनाए अनि बैठक २७ गते सम्मका लागि स्थगित भयो।

२७ गतेको बैठकमा पनि एमालेले विरोधपछि बैठक स्थगित भयो। २८ गते सभामुखले सर्वदलीय बैठक बोलाए। एमालेले बैठक बहिस्कार गर्‍यो। २९ गते पनि बैठकमा एमाले अवरोधका बीच १३ मिनेट चयो। अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले वनियोजन विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीले पेश गरेको प्रस्ताव पारित भयो। र बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। 

यसरी विरोध र अवरोधपछि बैठक केही समयका लागि स्थगित गर्ने चलन विश्वभर छ।

यहाँ यस्ता केही रोचक स्थगित बैठकहरुको चर्चा गर्न खोजिएको छ।

पादका कारण बैठक स्थगित

२०१९ को अगस्तमा केन्याको क्षेत्रीय संसद बैठक ‘पाद’कै कारण स्थगित भएको थियो। त्यहाँको होमा बे काउन्टीको संसदमा मार्केट स्टलको बारेमा गरमागरम बहस चलिरहेको थियो। सो बहस क्रममा हलमा खराब गन्ध फैलियो। त्यससँगै सांसदहरुले एकअर्कालाई आरोप लगाउने थाले। सभामुखले बैठक नै स्थगित गरिदिए।

‘सम्मानीय सभामुख महोदय, हामीमध्ये एक जनाले हावालाई दुर्गन्धित पारिदिए र त्यो को हो मलाई थाहा छ,’ सभाका सदस्य जुलियस गायाले भने।

तर, उनले जसलाई पादेको आरोप लगाएका थिए उनले आरोप अस्वीकार गरे।

‘म त्यो होइन महोदय। मैले त्यस्तो काम मेरा सहकर्मीहरु माझ गर्ने सक्दिन,’ आरोपित सदस्यले भनेको बीबीसीमा त्यतिबेला प्रकाशित समाचारमा उल्लेख छ।

त्यसपछि हावा शुद्ध हुने अपेक्षामा सभामुख एडविन काकाचले सदस्यहरुलाई सभास्थल छाड्न निर्देशन दिए र सभामुखको च्याम्बरबाट बैठक स्थगित गरेका थिए।

त्यतिमात्र होइन, उनले सभाका कर्मचारीहरुलाई ‘एयर फ्रेसनर’ छर्न निर्देशनसमेत दिए।

‘कुनै कार्यालयमा जेस्तो फ्लेवर छ ल्याएर छर्दिनुस्। चाहे त्यो भेनिला अथवा स्ट्रवेरी नै किन नहोस,’ उनले निर्देशन दिँदै भनेका थिए, ‘हामी यस्तो खराब गन्ध भएको वातावरणमा बस्न सक्दैनौँ।’

 

पानी चुहेको आवाजले पनि बैठक स्थगित!

यस्तै, बैठक स्थगितको घटना बेलायतमा पनि भएको छ। २०१९ को अप्रिल ४ मा बेलायतको संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ को बैठक पानी चाहेको आवाजका कारण स्थगित भयो। उपसभामुख लिन्डसे होइलले संसदको छलफललाई केही समयका लागि बैठक स्थगित गरेका थिए।

बैठकमा ब्रेक्सिटको विषयमा छलफल चलिरहेको थियो। गरमागरम छलफलका क्रममा छतबाट पानी तप्किएको आवाजले गर्दा बैठक स्थगित गर्न परेको युरो न्यूजले जनाएको छ।

बैठक स्थगित हुनुभन्दा केही अघिमात्र एक सांसदले सम्बोधन चलिरहँदा पानी चुहिन बन्द हुनु अगाडि आफूले सम्बोधन सक्छु कि सक्दिन भनेर टिप्पणी गरेका थिए। संसदको सत्रका क्रममा पानीको आवाज तीब्र सुनिएको थियो। सो च्याम्बरमा त्यतिबेला २५ सांसदहरु थिए।

१८०० को मध्यतिर बनाइएको हाउस अफ कमन्सको भवन प्रदुषण र मर्मत सम्भारको अभावमा जिर्ण भएको बताइएको थियो।

‘छतहरु लिक भइरहेका छन्। एस्बेस्टस सबै ठाउँमा छन्। नालीका तल्ला पाइपहरुमा खिया लागेको छ। आन्तरिक नलसाजी नियमित रुपमा असफल भएका छन्। त्यसैले दरबारको पथ्थरबाट बनेको छत र पुगिन द्वार डिजाइन गरिएको ऐतिहासिक दरबारमा कहिले काहीँ अपरिवर्तनीय क्षति हुँदै आएको छ,’ त्यतिबेला हाउस अफ कमन्सको वेबसाइटमा उल्लेख भएको भनेर युरो न्यूजले लेखेको छ।

त्यतिबेला सांसद जुलिया लोपेजले ट्वीट गर्दै लोन चार्ज डिवेट चलिरहेको बेला च्याम्बरबाटै ट्वीट गर्दै छतबाट पानी चुहिरहेको जानकारी दिँदै भनेकी थिइन्- ‘के यो बाइबलिक (बाइबल जस्तै पवित्र) बाढीले हामी हामीलाई पखाल्नेछ?‘

In the Chamber for the loan charge debate. A very noisy torrent of water coming in from the ceiling - is this a Biblical flood coming to wash us all away?!!

— Julia Lopez MP (@JuliaLopezMP) April 4, 2019

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell