PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपालमा पनि निपाह भाइरसको त्रास : डरलाग्दो मृत्युदर भएको यो रोगविरुद्ध बनेको छैन खोप



विधुर ढकाल

नेपालमा पनि निपाह भाइरसको त्रास : डरलाग्दो मृत्युदर भएको यो रोगविरुद्ध बनेको छैन खोप

काठमाडौं : लगातार कोभिड १९ बाट बच्नका लागि सचेत गराउँदै आएको स्वास्थ्य मन्त्रालयले हिजो पनि सुरक्षित रहन सचेत गरायो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मंगलवार दिएको सुझाव सहितको चेतावनी चाहिँ कोभिड १९ को विषयमा थिएन। थियो त निपाह भाइरसको संक्रमणबाट बच्न गरिएको अपील। निपाह भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई उनले आग्रह गरेका हुन्।

प्राणघातक भएकाले यसलाई हेलचेक्र्याई गर्नु नहुने उनको भनाइ थियो। निपाह भाइरसको कुनै भ्याक्सिन बनिनसकेकाले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको उनको तर्क थियो।

प्रवक्ता डाक्टर पौडेलका अनुसार निपाह भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने रोग हो। निपाह भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्‍याउने र बेहोस बनाउने गरेको डाक्टर पौडेलले बताए।

प्रवक्ता पौडेलका अनुसार हालसम्म निपाह भाइरस नेपालमा पुष्टि भइसकेको त छैन। तर, स्वास्थ्य मन्त्रालयले यो भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्य चौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ।

यो भाइरससँग डराउनुपर्ने विशेष कारण छ। किनकि यसमा मृत्युदर डरलाग्दो देखिन्छ। 

२००१ देखि २०१५ सम्म बंगलादेशमा २६१ जनामा संक्रमण पुष्टि भएकोमा १९८ जनाको मृत्यु भएको डब्लुएचओको दक्षिण पूर्वी एसिया कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, भारतमा २००१ मा सिलगुडीमा ६६ जना संक्रमित हुँदा ४५ जनाको मृत्यु भएको थियो। २००७ मा नोयडामा ५ जनामा संक्रमण पुष्टि भएको थिय भने पाँच जनाकै मृत्यु भएको थियो। २०१८ को मे महिना सम्म भारतको केरल राज्यमा १४ जनाको संक्रमण पुष्टि हुँदा १२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

२०१८ मा मात्र भारतमा १२ जनाको निपाह भाइरसको कारण मृत्यु भएको थियो। त्यस्तै २०१९ मा भारतकै केरल राज्यमा एक जनामा संक्रमण पुष्टि भएको थियो। गत साता मात्र भारतको केरल राज्यामा एक जना १२ वर्षका बालकको निपाह भाइरसको संक्रमणबाट मृत्यु भएको थियो।

के हो निपाह भाइरस?

निपाह भाइरस (एनआईभी) पहिलोपटक सन् १९९८ मा बुंगुर र मानिसहरुमा मलेसिया पहिलोपटक पुष्टि भएको डब्लुएचओको ब्लुप्रिन्टमा उल्लेख छ। यो संक्रमण सँगसँगै सिङ्गापुरमा पनि पुष्टि भएको थियो।

त्यतिबेला करिब ३०० मानिसहरुमा संक्रमण देखिनका साथै एक सय बढीको मृत्यु भएको थियो। यसको संक्रमण नियन्त्रणका लागि १० लाख बुंगुर मारिएको थियो।  त्यसयता यसको संक्रमण मलेसिया र सिंगापुरमा देखिएको छैन। तर, एसियाली मुलुकहरु बंगलादेश र भारतमा हरेक वर्ष जस्तो यस भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ। १९९८ देखि २०१५ सम्म ६०० बढी मानिसमा निपाह भाइरसको संक्रमण पुष्टि भएको थियो। 

१९९८ देखि २०१८ सम्मको निपाह भाइरसको संक्रमणको तथ्यांक हेर्दा संक्रमितमा मध्यम तथा गम्भीर लक्षणहरु देखिने गरेको र ४० देखि ७० प्रतिशत संक्रमितको मृत्यु हुने गरेको सीडीसीले २०२० को अक्टोबर ६ मा जारी गरेको रिपोर्टमा उल्लेख छ।

डब्लुएचओको तथ्यांक अनुसार दक्षिण एसियामा पहिलो पटक यसको संक्रमण २००१ मा बंगलादेशमा भएको थियो। त्यस्तै, भारतमा पनि यसको संक्रमण पुष्टि भएको थियो।

त्यस्तै यसको संक्रमण कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, घाना, माडागास्कारलगायतका पुष्टि भइसकेको छ।

मलेसियामा पहिलो पटक संक्रमण पुष्टि हुँदा बुंगुरको सम्पर्कबाट मानिसमा सरेको देखिएको थियो भने भारत र बंगलादेशमा फलफूलबाट सरेको पुष्टि भएको थियो। त्यस्तै, २००१ मा भारतको सिलगुडीमा पुष्टि भएका संक्रमित मध्ये ७५ प्रतिशत अस्पतालका कर्मचारी र कुरुवामा देखिएको डब्लुएचओको फ्याक्टसिटमा उल्लेख छ। सन् २००१ देखि २००८ सम्म बंगलादेशमा पुष्टि भएका संक्रमित मध्ये आधा मानिसबाट मानिसमा सरेको पुष्टि भएको थियो। 

निपाह भाइरसको लक्षण र उपचार

निपा भाइरसलाई लक्षित गरी अहिलेसम्म कुनै औषधी र खोप छैनन्। डब्लुएचओले निपा भाइरसलाई प्राथमिकतामा रहेको रोगमा वर्गीकरण गर्दै अनुसन्धान र ब्लुप्रिन्ट विकासका लागि सूचीकरण गरेको छ।

यसको संक्रमण पुष्टि भएका मानिसलाई इन्टेन्सिभ सपोर्टिभ केयरको आवश्यक पर्ने डब्लुएचओले जनाएको छ।

यसको संक्रमण भएपछि मानिसहरुमा ज्वरो, टाउको दुख्ने, मांसपेसी दुख्ने, वाक्वाकी लाग्ने, घाँटी दुख्ने, रिंगटा लाग्ने लगायतका लक्षणको विकास हुन जान्छ। जुन बिस्तारै चक्कर लाग्ने, निन्द्रा लाग्ने, बेहोस हुने, र न्युरोलोजिकल साइनहरु देखा पर्छ जसले तिब्र इन्सेफेलाइटिससम्म देखाउने गरेको छ। त्यस्तै, केही मानिसमा निमोनिया र गम्भीर स्वासप्रस्वासको समस्यासमेत देखापर्छ। इन्सेफेलाइटिस बढ्दै जाँदा मानिस २४ देखि ४८ घण्टाको अवधिमा कोमामा समेत पुग्नसक्ने डब्लुएचओको सूचनामा उल्लेख छ।

यसको इन्क्युबेशन पिरियड ४ देखि १४ दिनसम्म भए पनि ४५ दिन पछि पनि संक्रमण पुष्टि भएका केसहरु रिपोर्ट भएको डब्लुएचओले जनाएको छ। निपाह भाइरसको संक्रमणबाट मानिसहरु पूर्ण निको हुन सक्ने भए पनि गम्भीर इन्सेफेलाइटिस भएका केही मानिसहरुमा संक्रमण मुक्त भएपछि पनि  रेसिड्युल न्यूरोलोजिकल अवस्थामा रहने गरेको डब्लुएचओले जनाएको छ।

यी सबै अवस्थालाई मध्यनजर गर्दै गत बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठक बसेको थियो। बैठकले निपाह भाइरस संक्रमणको सम्बन्धमा ‘रोगको यकिन निदान नहुँदै वा तीब्र रुपमा विरामीको स्वास्थ्य अवस्था बिग्रिँदै गएका वा मृत्यु भएका विरामीहरुको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्युनिकरण गर्ने प्रवन्ध इडब्लुएआरएस (अर्लि वार्निङ रिपोर्टिङ सिस्टम)रिपोर्टिङ मार्फत् गर्न सबै इडब्लुएआरएस सेन्टिनेल साइट/अस्पतालहरूलाई सूचना गर्ने’ निर्णय गरेको थियो।

बैठकले उक्त किसिमको अवस्था तहाँ स्वास्थ्य संस्थामा देखिएमा बिरामीहरूको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा यथाशिघ्र पठाउने व्यवस्था मिलाउनुहुन अनुरोध गरेको थियो। यसले पनि देखाउँछ यो भाइरसको जोखिम। त्यसैले यसको संक्रमणबाट बच्नु तत्कालका लागि सबैभन्दा उत्तम उपाय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell