
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावमा पहिलो पार्टी बन्ने अभिव्यक्तिलाई लिएर जवाफ फर्काएका छन्।
आजै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आउँदो चुनावमा माओवादी पहिलो पार्टी हुने दाबी गरेका थिए। प्रचण्डको उक्त दाबीको जवाफ ओलीले आज बुटवलमा आयोजित कार्यकर्ता भेलामार्फत् फर्काएका हुन्। अघिल्लो चुनावमा आफूले औँला दिँदा अहिलेको अवस्थामा आएका माओवादीलाई अबको चुनावमा आफूले हात पनि नदेखाउने ओलीले बताए।
'प्रचण्डले साचो कुरा बोल्नु भयो- अब हामीलाई वडा अध्यक्ष जित्न पनि गाह्रो छ - उहाँले सही भन्नुभयो,' ओलीले भने, 'अघिल्लो चुनाबमा मैले कान्छी औंला दिएको थिएँ त्यही भएर यहाँसम्म आउनु भयो। तर, अब म हात त हेर्न नि दिदिन।'
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता नै एमाले भएको ओलीको दाबी छ। प्रचण्ड भने पार्टीबाट निस्किएको उनले बताए। 'हामीले माओवादी र एमाले मिलाएर एकीकृत पार्टी बनाएका छौं। नेकपा फुटेको छैन, प्रचण्ड समूह निस्केको हो,'ओलीको दाबी थियो।
प्रचण्डमाथि खनिएका ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति पनि आक्रोश व्यक्त गरे। उनले प्रचण्डलाई नेपालले उकासेको आरोप लगाउँदै भने, 'माधव नेपाल लगायतका टिमले खुट्टा कमाउने होइन भन्दै प्रचण्डलाई यहाँ पुर्याएका हुन। प्रचण्डलाई सोध्नुहोस् आफ्नै बुद्धिले हो कि नेपालको? भन्नुस् त नेपालकै नाम लिन्छन्।'
नेता नेपालतिर लागेर सही ठाउँमा नपुगिने भन्दै ओलीले एमालेमा फर्कन कार्यकर्तालाई आग्रह गरे। 'मौरीको पछिलागे फूलमा पुगिन्छ बगैंचा पुगिन्छ, झिंगाको पछि लागे डङुरमा,' ओलीको भनाई थियो।
माधव नेपाल र प्रचण्डविरुद्ध आक्रोशित, विष्णु पौडेलको तारिफ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा पुगेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गरे।
'हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेउ भन्ने अवस्थामा पुग्यो काङ्ग्रेस,' ओलीले भने। भैरहवा विमानस्थल, तिलौराकोटको उत्खनन, शिद्धबाबा को सुरुङ मार्ग, लुम्बिनीको ध्यान केन्द्र सबै एमाले सरकारले बनाएकाले देश विकासका लागि एमालेको विकल्प कोही नभएको बउनको दावी थियो। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि आलोचना गरे। परमादेशबाट प्रधानमन्त्री हुनु लोकतन्त्र नभएको ओलीको भनाई थियो।
'अदालतको परमादेशबाट प्रधानमन्त्री हुने लोकतन्त्र हो? प्रधान न्यायाधीशले प्रधानमन्त्री तोक्ने कुरा लोकतन्त्र हो?,' प्रश्न गर्दै उनले भने।
उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी पनि गरे। तर, एमालेले चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामन गरेको ओलीको भनाई थियो।
'यो सरकार चुनावसम्म पुगोस,हाम्रो कामना हो। हामीले जनताको साथले जित्छौं। सरकारमा बस्नु पर्दैन। १४ महिना एमालेलाई होइन जनताका कष्टका दिन हुने भए,' ओलीले भने।
अरु नेताहरुको आलोचना गरेका ओलीले आफू निकट नेता विष्णु पौडेलको भने तारिफ गरे। 'जनताका दुखमा विष्णु पौडेल लागि पर्छन्, भूकम्पमा घर भत्किँदा छानो ठोक्न आफै पुगेका थिए,' ओलीले भने।
उनले देशको सार्वभौमसत्ता जोगाउनका लागि कम्युनिस्ट पार्टी चाहिने बताए। उनले कम्युनिस्ट पार्टी बाहेक अरु कसैले देशको हितमा काम नगर्ने पनि दाबी गरे।
उनले एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाए। आफूले अनेक अप्ठेरा सहेर पार्टी जोगाएको ओलीको भनाई थियो।
'यो पार्टी ध्वस्त पार्न खोजिएको थियो। प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो,' उनले भने। ओलीले मन्त्रिपरिषद दुई महिनासम्म पनि बिस्तार नहुँदा अहिलेको सरकार ओइलाएको टिप्पणी गरे।
'अहिले सरकार ओइलाएजस्तो लरक्क परेको छ। दुई महिनासम्म मन्त्रिमण्डल बिस्तार गर्न सकेन,' उनले भने।
ओलीले तत्कालीन नेकपा नफुटेको बरु पुष्पकमल दाहाल प्रचण्ड पार्टीबाट निष्केको दाबी गरे।